detail-img

प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट आपसी सम्बन्ध र सहकार्यलाई थप उचाइमा पुर्याउने विश्वास 

६ मङ्सिर (२०८१), चीन (बेइजिङ) । नेपाल र चीनका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणले दुई देशको आपसी सम्वन्ध र सहकार्यलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् । 
चीनको राजधानी बेइजिङमा आयोजित औपचारिक कार्यक्रमहरूमा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा (एमाले) का नेताहरूले यस्तो विश्वास ब्यक्त गरेका हुन् । 
बेइजिङमा सम्पन्न दुईपक्षीय भेटवार्तामा नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुद बनाउने बताउनुभयो । 
उक्त भ्रमणमा नेपाल र चीनबीच भएका पुराना सम्झौताहरूको कार्यान्वयनका लागि ठोस योजना बन्ने र आपसी सम्वन्धलाई अझ उचाईमा पुर्याउन नयाँ समझदारी हुने उहाँले विश्वास ब्यक्त गर्नुभयो । 
चिनियाँ कम्युनिष्ट पार्टीका बिदेश विभाग प्रमुख मन्त्री लिउ चियानछाओले नेपालका प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबाट चिनियाँ र नेपाली जनताले ठूलो अपेक्षा गरेको बताउँदै दुई देश र पार्टीबीचको सम्वन्धलाई अझ अगाडि बढाउनेबारे छलफल हुने अपेक्षा गर्नुभयो । त्यसअघि विदेश विभागका उपमन्त्री सन हाईयानले दुई देश एकअर्काका अनुभवबाट सिक्दै, सहयोग गर्दै अघि बढ्ने बताउनुभयो । विभागका डाईरेक्टर जनरल फङ सिउपिनले प्रधानमन्त्री ओलीको भ्रमणअघि आएको नेपाली टोलीका कारण भ्रमणलाई सफल पार्न र तयारीबारे छलफल गर्न सहज भएको बताउनुभयो ।  नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको उच्चस्तरीय टोली अहिले चीन भ्रमणमा छ । यसअघि नेपाली टोली र चिनियाँ कम्युनिष्ट पार्टी स्कूल विभागबीच अन्तर्क्रिया भएको थियो । नेपाली टोली चीनका बिभिन्न स्थानमा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी भएको छ ।