detail-img

महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीको प्रमण्डलद्वारा भेटवार्ता 

११ मङ्सिर (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलसँग नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य लि हाई विन्ह नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । 
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज अपरान्ह भएको भेटमा दुई देश, कम्युनिष्ट पार्टी र जनताबीचको घनिष्ट सम्बन्धका बारेमा छलफल भएको छ । 
भेटमा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा महत्वका साथ भियतनामको भ्रमण गर्नु भएबाट दुईदेशबीचको गहिरो सम्बन्धलाई उजागर गर्ने बताउनुभयो । 
महासचिव पोखरेलले भियतनामसँगको सम्बन्धका विभिन्न आयामहरूको चर्चा गर्दै बुद्ध धर्मले नेपाल र भियतनामलाई साँस्कृतिक र भावनात्मक रूपमा जोड्ने काम गरेको बताउनुभयो । महासचिव पोखरेलले यो सम्बन्धलाई अझ घनिष्ट बनाउन दुईदेशबीच सिधा हवाई सेवा सञ्चालन गर्न पहल हुनुपर्नेमा जोड दिनुभयो । 
महासचिव पोखरेलले भियतनाममा भएको स्वाधीनता र स्वाभिमानको आन्दोलनबाट नेपालले ठूलो शिक्षा र प्रेरणा लिएको स्मरण गर्नुभयो । उहाँले भियतनामको आर्थिक विकासबाट नेपालको विकास र समृद्धि यात्रामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । 
महासचिव पोखरेलले आउने दशक एसिया दशक हुने तथा एसिया विश्वशक्ति हुने विश्वास व्यक्त गर्दै त्यस अवस्थामा एसियाले विकासको नयाँ मोडलका रूपमा मानव विकासमा जोड दिएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । एसिया युगमा दुवै पार्टी र देशले मिलेर अगाडि बढ्न सकिने उहाँले बताउनुभयो । 
सो अवसरमा भियतनाम कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य लिले नेपालमा कम्युनिष्ट पार्टीले हासिल गरेको सफलताप्रति खुशी प्रकट गर्नुहुँदै आगामी दिनमा अझ बढी सफलता प्राप्त गरी विश्वलाई सन्देश दिन सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो । 
उहाँले दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई सुदृढ बनाउँदै दुबै देश र जनताको आर्थिक समृद्धिका लागि आपसी सहयोग अभिबृद्धि गर्न तयार रहेको बताउनुभयो ।   
छ सदस्यीय प्रतिनिधिमण्डल दुईदिने नेपाल भ्रमणका लागि आजै काठमाडौं आइपुगेको हो ।