detail-img

‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम एमाले सरकारले ल्याएको मौलिक सोंच’

११ मङ्सिर (२०८१), काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने पार्टी नेकपा (एमाले) भएको बताउनुभएको छ । 
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा (एमाले)का उपाध्यक्ष पौडेलले एमाले नेतृत्वको सरकाले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको बताउनुभयो । 
‘सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने, त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने र स्थापित गर्ने अभियानको नेतृत्व नेकपा (एमाले)ले गरेको हो, नेकपा (एमाले) नेतृत्वको सरकारले गरेको हो’, उहाँले भन्नुभयो । 
समय क्रममा सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्नुका साथै त्यसमा नयाँपन पनि ल्याइएको उहाँले बताउनुभयो । त्यसकै आधारमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको अर्थमन्त्री पौडेलले स्मरण गराउनुभयो । राज्यको जिम्मेवारी नागरिकप्रति छ भन्ने अवधारणाको आधारमा सामाजिक सुरक्षाको अवधारणा अघि सारिएको उहाँले बताउनुभयो । 
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मौलिक साेंच भएको र यसले नेपाली मजदुरलाई उत्साहित र भविष्यप्रति आश्वस्त बनाउने काम गरेको अर्थमन्त्री पौडेलले बताउनुभयो । 
तथापि यसलाई अझ व्यावहारिक बनाउन अझ परिमार्जित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभावकारी र रचनात्मक बनाउने उहाँले विश्वास दिलाउनुभयो ।