detail-img

अब निराशा होइन, आशाको समय सुरु भएको छः महासचिव पोखरेल

३ मङ्सिर (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन बलिया राजनीतिक दल आवश्यक पर्ने बताउनुभएको छ । 
बिहीबार कीर्तिपुरमा आयोजित स्थानीय तह उपनिर्वाचनको चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजान धेरै राजनीतिक दल भएर सम्भव नहुने बताउनुभयो । 
हिजो अधिकारको लडाइँ लड्दा जति धेरै राजनीतिक दल भए पनि फरक नपर्ने भए पनि अब विकासको काम गर्न बलिया र स्पष्ट दृष्टिकोण भएका राजनीतिक दल आवश्यक पर्ने उहाँको भनाइ छ । महासचिव पोखरेलले भन्नुभयो– विकास र समृद्धिको बाटोमा अघि बढ्न धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दल आवश्यक पर्दछ । 
राजनीतिक अस्थिरताको कारण नेपाल बन्न नसकेको बताउँदै उहाँले अब नेपालमा धेरै राजनीति दल होइन, बलिया राजनीतिक दल बनाउने सङ्कल्प गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ३२ सिटले म्याजिक नम्बर भन्दै जनताले अस्वीकार गरेकाहरूले शासन गर्ने युगको अन्त्य गर्नुपर्दछ । 
महासचिव पोखरेलले बलियाले नीतिको आधारमा मुलुकको नेतृत्व गर्नुपर्ने र त्यस दिशातर्फ मुलुकलाई डोर्याउन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । 
देश बनाउने हो भने अब युवा राजनीतिमा आउनुपर्ने बताउँदै  नेपालमा केही हुँदैन भन्दै युवा विदेश गएर देश नबन्ने उहाँले स्पष्ट पार्नुभयो । देश बनाउनको लागि देशमा नै बसेर काम गर्नुपर्ने महासचिव पोखरेलको धारणा छ । 
जति बेला एमाले सरकारमा हुन्छ त्यति बेला युवाको विदेश पलायन घटेको र एमाले युवालाई देशमा टिकाउने पार्टी भएको उहाँको बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– देशको स्वाभिमानको झण्डा उठाउन सक्ने एमाले, देशमा विकास र समृद्धिको काम गर्न सक्ने एमाले ।
मुलुकको विकास र समृद्धिको यात्रा अघि बढाएर देशमा निराशा चिर्ने पार्टी पनि एमाले भएको उल्लेख गर्दै महासचिव पोखरेलले निराशालाई चिर्नको लागि नेकपा (एमाले)ले कीर्तिपुरमा नगरप्रमुखमा सुरेन्द्र मानन्धर जस्ता युवालाई चुनावी मैदानमा उतारेको बताउनुभयो । ‘अब निराशाको समय सकियो, आशाको समय सुरु भएको छ’, उहाँले भन्नुभयो ।

सभामा नेकपा (एमाले)का सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराई, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, पोलिटव्यूरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेल, पार्टीका बाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

यही मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकामा नगरप्रमुख र दुईवडामा वडाध्यक्षको निर्वाचन हुँदै छ । 
नगरप्रमुखमा नेकपा (एमाले)बाट केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धर र वडाध्यक्षहरूमा वडा नं. १ मा हर्ष महर्जन र वडा नं. ४ बद्री बुढाथोकी उम्मेदवार हुनुहुन्छ । 
चुनावी सभालाई सम्बोधन गर्दै नगरप्रमुखका उम्मेदवार डा. मानन्धरले एमालेको नेतृत्वबाट बाहिरिएपछि कीर्तिपुर नगरपालिकाको विकासमा अवरोध आएको बताउनुभयो । 
उहाँले कीर्तिपुरको रोकिएको विकासलाई आफू निर्वाचित भएपछि पुनः अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
अहिले कीर्तिपुर नगरपालिका लथालिङ्ग अवस्थामा रहेको र कीर्तिपुरका जनता र जनप्रतिनिधिले सबल र सक्षम नेतृत्व खोजिरहेको उहाँले बताउनुभयो । 
उहाँले आफू नगरप्रमुख निर्वाचित भएपछि सबैलाई मिलाएर अघि बढ्ने र नगरपालिकाले गुमाएको लयलाई ठीक ठाउँमा ल्याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । 
सबै दलले अघि सारेका राम्रा एजेण्डालाई आफू निर्वाचित भएपछि अपनत्व ग्रहण गर्ने मानन्धरले बताउनुभयो ।