बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा बुढा विजयी, हालसम्म एमालेका पाँच वडाध्यक्ष उम्मेदवार विजयी
१७ मङ्सिर (२०८१), काठमाडौं । देशका विभिन्न स्थानीय तहमा रिक्त रहेका ४१ जना जनप्रतिनिधिका लागि आइतबार भएको उपनिर्वाचन अन्तर्गत नेकपा (एमाले)का उम्मेदवारहरूले हालसम्म एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र पाँच वडाध्यक्षमा विजय हासिल गर्नुभएको छ ।
दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का जङ्गबहादुर शाही निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले तीन हजार १२७ मत प्राप्त गरी विजयी बन्नु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक भण्डारीले दुईहजार ६७५ मत पाउनु भएको छ ।
यसैगरी, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले)की उम्मेद्वार सुलोचना बुढा निर्वाचित हुनुभएको छ ।
उहाँ एक हजार ७४० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी पुल्तिसरा शाहीले एक हजार ४७४ मत पाउनु भएको छ ।
ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा (एमाले) उम्मेदवार कुमार सावादेन ३५३ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का अम्वी साउदेनले २५२ मत पाउनु भयो भने कांग्रेसका भीमकुमार लक्सम्वाले २१८ मत प्राप्त गर्नुभएको छ ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा (एमाले)का गंगा तामाङ ३९९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार लाल बहादुर शाही निर्वाचित हुनुभएको छ । शाहीले ५७४ मत पाएर विजयी हुनुभएको छ भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत पाउनु भएको छ । यसैगरी, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाल)ेका सकिवुल खाँ र कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार मोहमद मुसलमान विजयी हुनुभएको छ ।