राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा
१८ मङ्सिर(२०८१), बेइजिङ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिनसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज राष्ट्रपति सीसँग बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेटवार्ता गर्नुभएको हो ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।
भेटका क्रममा चीनका राष्ट्रपति सीले नेपाललाई ५०० मिलियन आरएमबी अर्थात करिब रु. नौ अर्ब अनुदान सहयोग घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच अत्यन्त सौहार्दपूर्णरूपमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र हितका विविध विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।
नेपाल र चीन पुराना र असल छिमेकी तथा मित्रराष्ट्र भएको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान र सहयोगमा आधारित रहेको बताउनुभयो ।
उहाँले नेपालको विकास र समृद्धिमा चीनको दरिलो साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
राष्ट्रपति सीले नेपाली वस्तु चिनियाँ बजारमा आयात गर्न र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न तयार रहेको बताउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले चीन र नेपालको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताउँदै आपसी सम्बन्धको मूल आधार सार्वभौमिक समानता र आपसी समझदारी एवं विश्वास भएको स्पष्ट पार्नुभयो ।
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई निमन्त्रणा दिनुभयो ।
राष्ट्रपति सीले नेपाल भ्रमण आमन्त्रणको लागि धन्यवाद व्यक्त गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताउनुभयो ।
भेटमा प्रधानमन्त्री ओलीले छोटो अवधिमा चीनले गरेको तीब्रतर विकास र गरिबी निवारणको क्षेत्रमा हासिल गरेको सफलताको प्रशंसा गर्नुभएको थियो । साथै वर्तमान सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासहित आर्थिक विकास र रूपान्तरणमा केन्द्रित रहेको बताउँदै उहाँले आर्थिक विकासका क्षेत्रमा मित्रराष्ट्र चीनसँग नेपालले थप सहयोग र साझेदारी गर्न चाहेको जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र सहसचिव कृष्णप्रसाद ढकाल तथा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओली र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सुबीच पनि आजै भेटवार्ता भएको छ । भेटमा उहाँहरूबीच संसदीय अभ्यासका अनुभव आदानप्रदानका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री ओली आफ्ना चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चारदिवसीय भ्रमणका क्रममा हिजो अपराह्न यहाँ आइपुग्नुभएको हो ।