२८ मङ्सिर (२०८१), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको बीसौं बैठक भोलि मङ्सिर २९ गतेदेखि हुने राष्ट्रिय कार्यशालाको तयारीबारे छलफलका साथै नवीकृत सदस्यहरूको प्रमाणीकरणका विषयमा आवश्यक निर्णय गर्दै सम्पन्न भएको छ । पार्टीका स्थायी कमिटी सदस्य तथा विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, तुल्सीलाल स्मृति प्रतिष्ठान भवन, च्यासलमा बसेको बैठकले नवीकृत सदस्यहरूको प्रमाणीकरणको लागि मङ्सिर मसान्तलाई कट अफ डेट बनाउने निर्णय गरेको छ ।
बैठक सञ्चालन गर्दै विभाग सचिव माधव ढुङ्गेलले प्रारम्भमै राष्ट्रिय कार्यशालाको तयारीबारे सङ्क्षिप्त जानकारी गराउनुभएको थियो । बैठकमा १५ जना सदस्य कमरेडहरूको उपस्थिति रहेको थियो ।
यही मङ्सिर २९ र ३० गते केन्द्रीय कार्यालय च्यासलमै आयोजना गरिएको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान‘ बिषयक राष्ट्रिय कार्यशालालाई उपलब्धिमूलक बनाउने गरी तयारीमा जुट्ने निर्णय बैठकले गरेको छ ।
केन्द्रीय संगठन विभागद्वारा आयोजना गरिएको उक्त कार्यशालामा जिल्ला कमिटी र प्रदेश कमिटीका अध्यक्ष, सचिव र संगठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई जना महिला कमरेडहरू, जनसंगठनका केन्द्रीय अध्यक्ष र महासचिव तथा महानगर र उपमहानगरका निर्वाचित मेयर उपमेयर गरी ३१५ जनाको सहभागिता रहने छ । कार्यशालाको प्रमुख अथिति पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुने छ भने बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्ष तथा अर्थमन्त्री बिष्णु पौडेल र महासचिव शंकर पोख्रेल कार्यशालाका बिशिष्ट अथितिहरु हुनुहुने छ ।
कार्यशालामा पार्टी महासचिवले पार्टी केन्द्रले पारित गरेको वार्षिक कार्ययोजनाका विषयमा अभिमुखीकरण गर्नुहुने छ भने कार्यशालाको मुख्य विषयवस्तुको रूपमा “स्थानीय तहमा पार्टी कामका समस्या र समाधान” विषयक कार्यपत्र केन्द्रीय संगठन विभागका प्रमुख कमरेड काशीनाथ अधिकारीले प्रस्तुत गर्नुहुने छ ।
कार्यशालामा उपस्थित कमरेडहरूलाई दशवटा समूहमा विभाजन गरिने छ । संगठन विभागका तर्फबाट निर्माण गरिएका दश वटा थीम र प्रश्नावलीमा समूहगत छलफल गरी समूहको निचोड प्रस्तुत हुने छ ।
प्रस्तुत रिपोर्टको अध्ययन गरी संगठन विभागका तर्फबाट कार्यशालाको निष्कर्ष निकालिने छ । कार्यशाला पश्चात पार्टी आन्तरिक रूपमा सुढृढ एकताका साथ अगाडि वढ्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी बैठकले २०८१ का लागि नवीकृत भएका पार्टी सदस्यहरूको संगठन विभागबाट प्रमाणीकरण गर्ने अन्तिम समयसीमा तोकेको छ । अधिकांश जिल्लाले केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गराइसकेका छन् ।
बाँकी केही जिल्लाहरूको नवीकृत सदस्यहरूको विवरण र तत्सम्बन्धी केन्द्रलाई चुक्ता गर्नुपर्ने रकम प्रदेश कमिटीका कार्यालयमा पुगिसकेको तर केन्द्रमा पठाइनसकेको रिपोर्ट प्राप्त भएको छ । तसर्थ प्रदेश कार्यालयले मङ्सिर ३० गतेभित्र पठाएका नवीकृत सदस्यहरूको मात्र केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गरिने छ ।
पार्टीको वैधानिक व्यबस्था अनुरूप आगामी फागुन–चैतमा २०८२ का लागि पार्टी सदस्यता नवीकरण सम्पन्न गर्नुपर्दछ ।
त्यसका लागि नवीकरण योग्य सदस्यहरूको सम्परीक्षण गर्ने र निर्णय गर्ने काम पार्टी जिल्ला कमिटीले माघ महिनाभित्रै गरिसकेको हुनुपर्ने छ । फागुन–चैतमा सम्पन्न गरिने यसपटकको नवीकरण रिपोर्ट अनिवार्य रूपमा पूर्णतः अनलाइनमा पठाउनुपर्ने निर्णय पनि बैठककले गरेको छ ।