detail-img

राष्ट्रिय एकता हाम्रो मूल मन्त्रः प्रधानमन्त्री 

२८ मङ्सिर (२०८१), काठमाडौं  । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरूको मूल मन्त्र भएको बताउनुभएको छ ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज आयोजना गरेको राजनीतिमा प्रतिनिधित्व र पहुंच अभिवृद्धिका लागि आदिवासी जनजाति महिला (राष्ट्रिय महिला भेला)लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्याउन संविधानको मौलिक हकहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले नेकपा (एमाले)ले आदिवासी जनजाति र खासगरी सबै महिला समुदायको अधिकार स्थापनाका लागि विशेष महत्व दिंदै आएको बताउंदै हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गरेरै छाडिने सङ्कल्प गर्नुभयो ।
प्रधानमन्त्री ओलीले पछाडी पारिएका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुंच दिएर अगाडि ल्याइने बताउंदै  आदिवासी जनजातिलाई आफ्ना परम्परा, कला र संस्कृतिलाई  आधुनिक बनाउंदै निरन्तरता दिन आग्रह गर्नुभयो । 
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय  संयन्त्रका प्रमुख भानुभक्त ढकालले पनि सम्बोधन गर्नुभएको थियो ।