एमाले आज

भोटेकोशीको विपत्ति आकस्मिक प्राकृतिक घटना मात्र होइनः विज्ञहरु

सेयर गर्नुहोस्

१५ भदौ (२०८३), काठमाडौं । भोटेकोशीको विपत्तिलाई एउटा आकस्मिक प्राकृतिक घटनाका रुपमा मात्र बुझियो भने गल्ती हुने धारणा विज्ञहरुको रहेको छ । यस घटनालाई जलवायु परिवर्तनसँग पनि जोडेर हेर्नुपर्ने उहाँहरुको सुझाव छ ।  
जलवायु परिवर्तन तथा हिममण्डल विषयविज्ञ डा. अरुणभक्त श्रेष्ठ र पुनर्निर्माण तथा पुनर्स्थापना विज्ञ इन्जिनियर सुशील ज्ञवालीको साझा निष्कर्ष छ– भोटेकोशीको विनाशले हिममण्डलमा तीब्र परिवर्तन, कमजोर पूर्वसूचना, सीमित उद्धार क्षमता, जोखिम नहेरी बनाइएका बस्ती/पूर्वाधार र ढिलो संस्थागत प्रतिक्रियालाई एकैपटक उजागर गरेको छ । 
नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको ‘पोडकाष्ट’मा  यसपटक ‘भोटेकोशीको विपद्ः उत्पन्न हुनुको कारण, पीडितको उद्धार, राहत र पुनर्स्थापना तथा पुनःनिर्माण’का काममा ध्यान दिनुपर्ने विषय के के हुनसक्छन् भनी दुई विज्ञहरु श्रेष्ठ र ज्ञवालीसँग कुरा गरिएको छ । 
करिव सवाघण्टा लामो कुराकानीमा उहाँहरुले यो हिमताल विष्फोट हो/होइन, कसरी यति भयानक र विनाशकारी बन्न पुग्यो, पीडितहरुको खोज, उद्धार र पुनर्स्थापना तथा पुनःनिर्माणमा के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ भन्ने विषयमा आफ्ना धारणा सुझावका रुपमा राख्नुभएको छ । 
बाढीको सम्भावित उत्पत्ति र बहावबारे डा. श्रेष्ठले प्राप्त स्थानीय तस्बिर, भू–उपग्रह सङ्केत र क्षेत्रीय वैज्ञानिक सम्पर्कका आधारमा लाङटाङ लिरुङ शिखरको उत्तरतर्फ, ल्हेन्दे खोला जलाधारमा रहेको भिरालो/ह्याङ्गिङ हिमनदीको ठूलो आइस–रक मास टुक्रिएर खसेको प्रारम्भिक व्याख्या प्रस्तुत गर्नुका साथै यो थप अनुसन्धानको विषय भएको बताउनुभयो । 
उहाँले आफ्नो अध्ययनका आधारमा यस्तो घटना यो एउटा मात्र होइन भन्ने आधारसहित तर्क प्रस्तुत गर्नुभएको छ । 
यस्तै, भूकम्प पुनःनिर्माणको काम सफलतापूर्वक सम्पन्न गर्ने जिम्मेवारी पूरा गर्नुभएका इन्जिनियर ज्ञवालीले पाँचौँ दिनसम्म टनेलभित्र मानिस फसेको खबर आउनु अत्यन्त पीडादायक भएको र यसबाट पानी, हिलो र टनेलभित्रको उद्धारका लागि हामीसँग पर्याप्त उपकरण, तालिम र विशेषीकृत जनशक्ति कमजोर देखिएको निष्कर्षमा पुग्न सकिने बताउनुभयो । 
२०७२ को भूकम्पपछि आठ लाखजति घर पुनर्निर्माण गर्न सक्ने राष्ट्रिय क्षमता किन संस्थागत रूपमा टिकेन ? विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बने पनि पछिल्ला घटनाहरु जाजरकोट भूकम्प र बाढीपहिरोहरूमा त्यही स्तरको कार्यक्षमता नदेखिएको उहाँको बुझाई छ । 
उहाँले पीडितहरुको उद्धार चलिरहँदा नै छुट्टै प्राविधिक टोलीले पुनर्स्थापना योजना बनाउन सुरु गर्नुपर्ने बताउनुभयो । भूगर्भ, पहिरो, जलविज्ञान र मौसम विज्ञले पुराना बस्ती तथा सम्भावित नयाँ स्थानको जोखिम तत्काल जाँच्नुपर्ने बताउँदै उहाँले अस्थायी बाससँगै विद्यालय, स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ, ऊर्जा, आवागमन र जीविकोपार्जनको योजना नभए पुनर्वास असफल हुने गरेको अनुभव सुनाउनुभयो । 
रसुवागढी–स्याफ्रुबेसी–त्रिशूली करिडोरका कतिपय स्थानमा पुरानै ठाउँमा स्थायी बस्ती फर्काउन कठिन हुनसक्ने उहाँको प्रारम्भिक धारणा छ । विदुर क्षेत्रको उपत्यकालाई रसुवा–नुवाकोटका केही परिवारका लागि योजनाबद्ध स्याटेलाइट सिटीका रूपमा अध्ययन गर्न सकिने उहाँको राय छ । 
चीन–नेपाल–भारत जोड्ने दीर्घकालीन उत्तर–दक्षिण मेरुदण्डका रूपमा पुरानो नदीकिनारको सडकलाई मात्र पुनर्स्थापित गर्नु पर्याप्त नहुन सक्छ  । त्यसकारण  टनेल, उचाइमा बनेका पुल, एक्सप्रेस–वे र सम्भावित रेलसहित नयाँ संरचनाको अध्ययन गर्न, चीनसँग प्राविधिक/वित्तीय वार्ता गर्न र तत्कालका लागि बेलीब्रिज तथा अस्थायी पहुँच राख्न विज्ञहरुद्वारा सुझाइएको छ ।
इन्जिनियर ज्ञवालीले पुनःनिर्माणलाई खर्चका रुपमा मात्र नभई आर्थिक पुनर्संरचनाको अवसरका रूपमा पनि हेर्नुपर्ने धारणा राख्नुभएको छ । 
नेपालले भोगेका करिब २५ हिमताल विस्फोट घटनामध्ये १२ वटा तिब्बतबाट उद्गम भएका सीमापार घटना रहेको अध्ययनबाट देखिन्छ । जोखिमले सीमा नमान्ने तर सूचना र कार्यान्वयनमा सीमा अवरोध बन्ने भएकाले नेपाल–चीन र विस्तारित रूपमा भारतसहित वैज्ञानिक डेटा, भू–उपग्रह तस्बिर, पूर्वसूचना, संयुक्त अभ्यास र उद्धार प्रोटोकल चाहिने सुझाव दिनुभएको छ । 
जलवायु परिवर्तनमा कार्वन उत्सर्जन प्रमुख कारण भएको र त्यसमा विकसित देशहरु बढी जिम्मेवार रहेकाले जलवायु परिवर्तनबाट भोग्नुपरेको समस्यामा क्षतिपूर्ति माग्ने नैतिक र नीतिगत आधार कम जिम्मेवार नेपालसँग रहेको उहाँहरुको भनाइ छ । समुद्रीटापु देशहरूले जस्तै हिमाली देशहरूले पनि साझा आवाज बलियो बनाउनुपर्ने उहाँहरुको राय छ । विज्ञहरुले विपद्को अवस्थामा प्राथमिकता दिएर गर्नुपर्ने कामका बारेमा पनि सुझाव दिनुभएको छ । 
उहाँहरुसँगको विस्तृत कुराकानी हेरेर सुन्न चाहनुहुन्छ भने नेकपा (एमाले)को वेबसाइट cpnuml.org वा एमालेको युट्युव च्यानल  ‘CPN UML नेकपा एमाले’ मा पाउनुहुने छ । 

हामीसँग जोडिनुहोस्