समाजवादी प्रेस संगठनका अध्यक्ष सुवेदीसहित पत्रकारहरू प्रेस चौतारीमा समाहित
४ माघ (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीले ढोका खुल्ला गरे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सबैभन्दा पहिले एमालेमा प्रवेश गर्ने बताउनु भएको छ ।
समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, संस्थापक उपाध्यक्ष नरेन्द्र साउद, सचिव नेपोलियन चेपाङललगायत पत्रकारहरूलाई प्रेस चौतारीमा स्वागत गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।
१५ वर्ष पार्टीको मूल नेतृत्व सम्हालेका नेपालले एमालेलाई विभाजन गराउन प्रमुख भूमिका खेलेकै कारण एमालेले प्रवेशको ढोका बन्द गरेको उल्लेख गर्दै महासचिव पोखरेलले समाजवादीका अन्य सबै नेता कार्यकर्तालाई स्वागत गर्न पार्टी तयार रहेको बताउनुभयो ।
एमाले छोडेर समाजवादीमा लागेका देशभरका नेता तथा कार्यकर्तालाई आफूले लामो समय योगदान गरेको पुरानो घर (एमाले)मा फर्किन आह्वान गर्दै महासचिव पोखरेलले ठूलो भाग खोज्ने माधव नेपालले अहिले आफ्नो हैसियत देखेको बताउनुभयो ।
उहाँले अब जति नै रोइकराइ गरे पनि नेपालले देशभरका नेता कार्यकर्ताको एमाले प्रवेशको लहरलाई रोक्न नसक्ने भनाइ राख्नुभयो ।
एमालेभित्र मत राख्न पाइँदैन, बहस गर्न पाइँदैन भन्ने भाष्य बनाएर गएका माधव नेपालले समाजवादी प्रेस संगठनका अध्यक्षलाई २४ घण्टे स्पष्टीकरण सोधेर प्रेस चौतारी प्रवेश गर्ने वातावरण बनाएको उल्लेख गर्नुहुँदै महासचिव पोखरेलले एमालेभित्र निर्णय प्रक्रियामा यथेष्ट बहस गर्ने, अभिमत राख्ने र छलफल गर्ने संगठनात्मक सिद्धान्त कायम रहेको स्पष्ट गर्नुभयो ।
पार्टीका पूर्व उपाध्यक्ष भीम रावल आफै एमालेमा रहन नचाहेका कारण पछिल्लो परिस्थिति सिर्जना भएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– पार्टीले निर्णय गर्नु भन्दा अघि आफ्ना धारणा राख्ने हो । निर्णय भएपछि त्यसलाई कार्यान्वयनमा लैजाने हो तर उहाँ (रावल)ले स्थापित विधिभित्र नबसेर सँधै निर्णय र नेतृत्वको आलोचना मात्रै गर्नुभयो । पार्टी दिएको एक वर्षको समयलाई पनि वेवास्ता गर्नुभयो र अन्तमा आफैले एमाले नरहने वातावरण सिर्जना गर्नुभयो । यो वास्तविकता नबुझेका एमाले बिरोधीहरूले पार्टीभित्र अभिमत राख्न दिइँदैन, छलफल हुँदैन भन्ने भाष्य निर्माण गर्दै हिंडिरहेका छन् ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले एकीकृत समाजवादीका नेताहरू दिनहुँजसो मुल घर एमालेमा फर्कनुले माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीको औचित्य समाप्त भएको प्रमाणित भएको बताउनुभयो । उहाँले केन्द्रीय अध्यक्षले नै संगठन छोडेपछि अब देशभर समाजवादी प्रेस संगठनका नेता कार्यकर्ता प्रेस चौतारीमा प्रवेश गर्ने ढोका खुलेको बताउनुभयो ।
प्रेस चौतारी, नेपालमा समाहित हुँदै समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीले लामो समय बित्दा पनि माधव नेपालले एमाले फुटाउनुको औचित्य पुष्टि गर्न नसकेको र अब समाजावादी छोडेर एमाले प्रवेश गर्नेको लहर देशभरि चल्ने बताउनुभयो ।
स्वागत कार्यक्रम प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको थियो ।