detail-img

एमाले देश बनाउने पार्टी हो भन्ने कुरा जनताका माझ गर्वका साथ लैजानुपर्छः महासचिव पोखरेल 

-साना दलले ठुला दलमाथि शासन गर्ने स्थिति आउँदा देशमा राजनीतिक अस्थिरता 
-लोकतन्त्रमा जनमत प्राप्त ठुला दलले शासन गर्नुपर्ने
-सरकारले सबै काम सफल हुने गरी अगाडि बढाउँछ
६ माघ (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले साना दलले ठुला दलमाथि शासन गर्ने स्थिति आउँदा देशमा राजनीतिक अस्थिरता बढेकाले दुई ठुला दल मिल्नुपरेको बताउनुभएको छ । 
नेकपा (एमाले) जिल्ला कमिटी धनकुटाद्वारा आइतबार आयोजित तीन महिने जरा केन्द्रित अभियानका लागि जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले लोकतन्त्रमा जनमत प्राप्त ठुला दलले शासन गर्नुपर्ने बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– साना दलहरूले ठुला दलहरू माथि शासन गर्ने परिस्थिति उत्पन्न भयो, लोकतन्त्र भनेको जनताले विश्वास गरेका दलले शासन गर्ने व्यवस्था हो, तर नेपालमा ठुला दलहरू साना दलका सहयोगी बन्नुपर्ने, टाउकोमा साना दलहरूलाई बोकेर ठुला दलहरू हिँड्नुपर्ने परिस्थिति सिर्जना भयो । 
माओवादी अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रलाई नै उपहास गर्ने किसिमले आफ्नो पार्टीको ३२ सिट पाँचवर्ष नै शासन गर्ने म्याजिक नम्बर भएको बताउँदै हिँड्न लागेपछि नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सरकार बनाएको उहाँले स्पष्ट पार्नुभयो । 
अहिलेको सरकार केवल सरकार चलाउनको लागि मात्र नबनेको बताउँदै महासचिव पोखरेलले मुलुकको आर्थिक अवस्था सुदृढ गर्न, सुशासन दिन, नागरिकका समस्या समाधान गर्न अहिलेको सरकार बनेको स्पष्ट गर्नुभयो । त्यसैका लागि अहिले विभिन्न अध्यादेश ल्याएर सरकारले काम अघि बढाएको उहाँको भनाइ छ । 
अहिले जति काम भएको छ त्यो पर्याप्त नभएको र अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै महासचिव पोखरेलले मुलुकलाई निकास दिन आवश्यकता पर्यो भने संविधान र कानुन परिवर्तन गरेर भए पनि अघि बढ्न दुई दल बीच सहमति भएको र त्यसको अध्ययनको लागि कार्यदल समेत बनिसकेको जानकारी दिनुभयो । 
सरकारले सबै काम सफल हुने गरी अगाडि बढाउने उहाँले बताउनुभयो । 
सामाजिक सञ्जालमार्फत अहिले देशमा निराशा बाँड्ने काम भइरहेको बताउँदै महासचिव पोखरेलले सामाजिक सञ्जालमा आए जस्तो देशको स्थिति नभएको स्पष्ट गर्नुभयो । अनेक प्रकारका सन्देश प्रवाह गरेर नेपालमा अशान्ति र निराशा फिँजाउने प्रयत्न भइरहेको हुँदा त्यसलाई चिरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
नेपाली समाजलाई बुझेको र विकास र समृद्धिको दृष्टिकोण भएको पार्टी नेकपा (एमाले) भएको बताउँदै उहाँले एमालेलाई साथ दिन नागरिकलाई आग्रह गर्नुभयो । नेकपा (एमाले) जनता र कार्यकर्ताले जोगाएको पार्टी भएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । 
नेपाललाई अस्थिरताको भुमरीमा पार्ने अनेक प्रयास भएका भए पनि एमालेले देशलाई त्यहाँबाट माथि उठाउँदै ल्याएको उहाँले बताउनुभयो । आज देशलाई जोगाउने पार्टी नेकपा (एमाले) भएको उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो– देश बनाउने पार्टी नेकपा (एमाले) हो भन्ने कुरा एमालेका कार्यकर्ताले जनताका माझ गर्वका साथ लैजान सक्नु पर्दछ । 
देश, जनता, विकास र समृद्धिको पक्षमा उभिएको कारण आज नेकपा (एमाले)माथि आक्रमण भइरहेको भए पनि सबै खालका आक्रमणलाई चिरेर २०८४ को निर्वाचनमा एमालेलाई एकल बहुमतसहितको पहिलो पार्टी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 
अहिले नयाँ शक्तिको नाममा गरिएको अराजकता देश र जनताको हितमा नभएको उहाँले बताउनुभयो । अब देश विकासको लागि धेरै साना दलको आवश्यकता नरहेको बताउँदै देश बनाउन बलिया राजनीतिक दल आवश्यक रहेको स्पष्ट पार्नुभयो । 
कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, केन्द्रीय सदस्य एवं राजेन्द्र राई, धनकुटा जिल्ला अध्यक्ष शिव आङ्ला लगायतले पनि बोल्नुभएको थियो ।