detail-img

राष्ट्रिय सुरक्षामा देखिएका नयाँ नयाँ आयामलाई मनन गर्न प्रधानमन्त्रीको जोड

२७ फागुन (२०८१), काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षाका क्षेत्रमा देखिएका नयाँ नयाँ आयामहरूलाई मनन गर्दै देखा पर्न सक्ने चुनौतीको सामना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २४औँ वार्षिकोत्सवका अवसरमा सिंहदबारमा आज आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष प्रधानमन्त्री ओलीले परम्परागत सुरक्षा चुनौतीका अतिरिक्त सूचना र प्रविधिको द्रूत विकाससँगै यसको दुरुपयोगका कारण उत्पन्न साइबर अपराध, अन्तरदेशीय अपराध, जलवायु परिवर्तन, लागु औषध दुर्व्यसन, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले राष्ट्रिय सुरक्षालाई संवेदनशील बनाउने उल्लेख गर्नुभयो ।
उहाँले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा विभिन्न नयाँ आयाम र नवीन प्रवृत्तिहरू देखा पर्न थालेका र यसबाट राष्ट्रिय सुरक्षामा असर, प्रभाव र चुनौतीहरू सिर्जना हुन सक्ने भएकाले समयमै आँकलन तथा विश्लेषण गरी तदनुसार उपयुक्त रणनीति तय गर्न आवश्यक हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सम्बन्धित निकाय, राजनीतिक दललगायत सबैले एकापसमा उचित समन्वय र सहकार्य गरेर अघि बढ्न आवश्यक रहेकोमा जोड दिँदै राष्ट्रिय सुरक्षाको सन्दर्भमा ‘होल अफ द नेशन’को अवधारणा अनुसार  काम गर्न आवश्यक छ भन्नुभयो ।
नेपालको संविधान भाग २८ मा राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ । उक्त भागको धारा २६६ को उपधारा (१) मा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकार, मन्त्रिपरिषदलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा परिषद् गठनको प्रबन्ध गरिएको छ ।
विसं २०५८ साल फागुन २७ गतेबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको स्थापना भएको थियो । सचिवालयले राष्ट्रिय सुरक्षा परिषद्को कार्यलाई सहजीकरण गर्ने, आवश्यक राय सुझाव दिने तथा सुरक्षा विश्लेषण प्रतिवेदन तयार गर्ने कार्यहरू गर्दै आइरहेको छ ।