एमाले आज

सरकार मुलुकमा शान्ति सुरक्षा कायम गर्न असफल भयोः एमाले संसदीय दलका उपनेता अर्याल

सेयर गर्नुहोस्

१४ साउन (२०८३), काठमाडौँ । नेकपा (एमाले)ले मुलुकमा शान्ति सुरक्षा कायम गर्न राज्य असफल भएको र मुलुकमा सङ्कट पर्दा सरकार नभेटिएको जनाएको छ । 
नेकपा (एमाले) संसदीय दलका उपनेता पद्माकुमारी अर्यालले बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सुनसरी घटना राज्यको असफलता भएको बताउनुभयो । 
सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनामा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने कि नपर्ने भनी उहाँले  प्रश्न  उठाउनुभयो । 
उपनेता अर्यालले भन्नुभयो– काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने र थुनामा बस्नुपर्ने भन्ने आवाज उठाइयो । अहिले सुनसरीमा गोली चल्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले पनि थुनामा बस्नुपर्छ कि पर्दैन ? यसमा नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?
२०८३ साउन १० गते सुनसरीमा भएको गोलीकाण्ड राज्यको शान्ति–सुरक्षा कायम गर्न असफल भएको उदाहरण भएको टिप्पणी गर्दै उपनेता अर्यालले दङ्गा नियन्त्रण दमनबाट नभई संवाद र विश्वासका माध्यमबाट हुनुपर्ने धारणा राख्नुभयो । 
राज्यले संवाद र विश्वासको वातावरण निर्माण गर्नुको सट्टा त्रास सिर्जना गरेको बताउँदै उहाँले आवेग र उत्तेजनामा नभई संयमता अपनाएर शान्ति र सद्भाव कायम गर्न सबै पक्षलाई आग्रह गर्नुभयो । 
देशमा दङ्गा भइरहँदा प्रधानमन्त्री गुमनाम बनेको भन्दै संसदीय दलका उपनेता अर्यालले मुलुक सङ्कटमा पर्दा प्रधानमन्त्री र सरकार जनतासँग प्रत्यक्ष संवादमा आउनुपर्ने धारणा राख्नुभयो । उहाँले राष्ट्रिय सङ्कटका बेला सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको पनि बताउनुभयो । 
टीकापुर, गौर र वीरगञ्जलगायतका विगतका जटिल घटनामा राष्ट्रिय एकता कायम गर्न प्रयास गरिएको स्मरण गराउँदै अहिले पनि शान्ति र सद्भाव कायम गर्न एमाले सरकारसँग सहकार्य गर्न तयार रहेको धारणा उपनेता अर्यालले राख्नुभयो । 
सबै सरोकारवाला, धार्मिक अभियन्तालगायतलाई धैर्य गर्न उत्तेजना, आबेग र प्रतिशोध नसाँध्न आग्रह गर्दै उहाँले संयमता र शान्तिमा जुट्न आह्वान गर्नुभयो । 

हामीसँग जोडिनुहोस्