detail-img

‘बहुमत भएपछि लोकलाज किन मान्ने भन्ने तहमा पुग्यो गठबन्धन’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका क्रियाकलापबाट ‘गोरू पनि लजाउने’ अवस्था बनेको वताउनुभएको छ । 
जननायक तुल्सीलाल अमात्यको २५औं स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उक्त विचार व्यक्त गर्नुभएको हो । 
देशको बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिको प्रयोग गरेर करका दर हेरफेर गरी राष्ट्रघात गरेका अर्थमन्त्रीलाई छानविन समितिमा सत्तापक्षको बहुमतको आडमा गोरू लजाउने गरी  सफाइ दिएको वताउनुभएको हो । 
अध्यक्ष ओलीले भन्नुभयो– ‘सिसिटिभी फुुटेज मेटाउने, टेलिफोन कल डिटेल हेर्न नपर्ने\नपाइने, बहुमत भएपछि लोकलाज किन मान्ने भन्ने तहमा पुग्यो गठबन्धन । कत्रो दम्भ, बलजफ्तीको पनि हद, अर्को मान्छे नै छैन जस्तो अर्थमन्त्री बनाउन । यसबाट बजेट निर्माण गर्दा राष्ट्रघात गर्ने काममा सिङ्गो सरकारको संलग्नता छ भन्ने जनाउँछ ।’
‘नेपाली काँग्रेसले सत्ता सम्हाल्दा देश सधै अफ्ठ्यारोतिर जाने गरेको विगत इतिहासले वताउँछ’ भन्दै अध्यक्ष ओलीले अहिले पनि देश सारै गम्भीररूपमा अफ्ठयारोतिर जाँदै छ भन्नुभयो । 
नेपाली काँग्रेसलाई सार्वभौम सत्ता, स्वाधीनता र स्वतन्त्रताको कुनै मतलव नभएको र देशद्रोही काम गर्ने गरेको चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘काँग्रेसका सभापति मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा २०१० सालमा विदेशी फौज ल्याएर भीमदत्त पन्तको हत्या गरियो । २००८ सालमा नेपालको उत्तरी सिमानाका १७ ठाउँमा दक्षिण छिमेकीका सेना राख्ने काम पनि काँग्रेसले गर्यो । नेपालको जलस्रोतको प्रयोग अरू देशले गर्ने प्रचलन पनि काँग्रेसकै पालामा शुरू भयो ।’
२००८ सालदेखि १२ सालसम्म कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने काँग्रेसको अहिले पनि मति उस्तै रहेको उहाँको भनाई थियो । 
पार्टी फुटाएर परमादेशबाट दक्षिणपन्थी सरकार गठन गर्नेहरूले बामपन्थी सिध्याउन काँग्रेससँग गठजोड गरेको वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– बाम–लोकतान्त्रिक एकताको कुरा गर्दैछन्, यिनले ज्ञानेन्द्रको पालामा भए बाम–लोकतान्त्रिक–देशभक्त भनेर जोड्ने थिए । 
उहाँले आश्चर्य प्रकट गर्दै भन्नुभयो– कम्युनिष्ट सिध्याउने दुष्ट उद्देश्य राख्ने जनविरोधी, देशद्रोही र एसपीपीवालाहरूको समाजवादी केन्द्र !
अध्यक्ष ओलीले भन्नुभयो– म आग्रह गर्न चाहन्छु, सबै एकजुट भएर यस देशद्रोही, भ्रष्ट र अपवित्र गठबन्धनलाई पराजित गरौं । सचेत जनताले आगामी निर्वाचनमा यो गठबन्धनलाई पराजित गरेर देखाउनुपर्छ ।

पार्टी एकताको प्रस्ताव 
अध्यक्ष ओलीको सम्बोधन अघि बोल्नुभएका नेकपा मालेका महासचिव सीपी मैनालीको चुनावी गठबन्धनको प्रस्ताव र आग्रहको जवाफमा उहाँले निर्वाचनमा गठबन्धन मात्र किन ? पार्टी एकता गरौं भन्नुभयो ।  
अध्यक्ष ओलीले भन्नुभयो– ‘प्रतिक्रियावादीहरूले चुनौती खडा गरिरहेको बेला किन चुनावी एकता मात्र । विचार, सिद्धान्त, देशको विकास, सुशासन सबै कुरा मिल्छ भने ठूलो भाँडोमा पकाएको ढिडो सँगै खाउँ ।’ 
अध्यक्ष ओलीले क.तुल्सीलाल अमात्यको तस्वीर र शालिकमा माल्यार्पण गर्नुका साथै सम्मान प्रकट गर्नुभयो । त्यसैगरी, २०१० सालमा आजकै दिन मारिनुभएका भीमदत्त पन्त र बलदेव रामप्रति पनि श्रद्धासुमन प्रकट गर्नुभयो ।
अध्यक्ष ओलीले त्यस अवसरमा तुल्सीलाल अमात्यको ‘बुद्ध, बुद्धत्व र बुद्धदर्शन’ पुस्तक लोकार्पण गर्नुभएको थियो भने प्रतिष्ठानद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगिताका विजयी विद्यार्थीलाई पुुरस्कार वितरण गर्नुभयो ।

समाजवादी केन्द्रको चिन्तन– ‘दुष्ट–अभिष्ट’ 
कार्यक्रममा नेकपा  मालेका महासचिव सीपी मैनालीले सम्बोधनका क्रममा समाजवादी केन्द्र बनाउने नाममा भइरहेका बैठक र प्रयासको प्रसङ्गमा एमालेलाई निषेध गरेर समाजवादी केन्द्र बनाउने चिन्तनलाई ‘दुष्ट–अभिष्ट’ को संज्ञा दिँदै त्यसको विरूद्धमा एमालेले पनि गठबन्धन बनाउनुपर्ने वताउनुभएको थियो ।
नेता मैनालीले भन्नुभयो– ‘एमालेका अध्यक्ष यहाँ हुनुहुन्छ, म अनुरोध गर्छु, दुष्ट–अभिष्ट राख्नेहरूका विरूद्धमा चुनावी एकताको पहल गर्नुस् ।’ 
‘देश जोगाउन लाइटमाइन्डेडहरूको मोर्चा वनाउनुुपर्छ, आफू दोस्रो र काँग्रेसलाई पहिलो बनाउन चाहने दुष्टहरूलाई पराजित गर्नुपर्छ ।’  
प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) अनुशासन आयोगका अध्यक्ष केशव वडाल, राष्ट्रिय सभाका सांसद जितेन्द्र देव लगायतले जननायक तुल्सीलालको योगदानको चर्चा गर्नुभएको थियो ।