एमाले आज

केन्द्रीय अनुशासन आयोगको तेस्रो पूर्ण बैठक सम्पन्न 

सेयर गर्नुहोस्

७ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगको आज बसेको तेस्रो पूर्ण बैठक हाल पार्टीमा देखापरेको अनुशासनसँग सम्बन्धित गतिविधिका सम्बन्धमा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । 
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो । सम्बोधन क्रममा अध्यक्ष ओलीले पार्टीमा नीति, विचार, निर्णय पालना भए नभएको सूक्ष्म ढङ्गले हेर्नुपर्ने र कमी कमजोरी देखिए सच्याउन प्रेरित गर्नुपर्ने हुँदा त्यसमा आयोगको क्रियाशीलता देखिनुपर्ने बताउनुभयो । 
पार्टीमा विधि, विधानभन्दा माथि कोही छैन भन्दै सबैले विधि, विधानभित्र रहेर चल्नुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– कम्युनिष्ट पार्टीमा अनुशासनहीनता सह्य हुन सक्दैन । अनुशासनका सन्दर्भमा कमी कमजोरी आयोगले मसिनो गरी हेरोस् ।
अध्यक्ष ओलीले समाज परिवर्तनमा पार्टीले जनता परिचालन गर्न सफल भएका कारण केहीबर्षयता लगातार प्रतिक्रियावादीको प्रहार÷आक्रमणको सामना गर्नुपरिरहेको र अहिले पनि हमला कायम रहेको जानकारी गराउँदै यतिखेर पार्टीभित्र एकता चाहिएको बताउनुभयो । 

अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनको इतिहासमा तीनपटक पार्टी पुनर्गठन भएको चर्चा गर्दै अहिले पार्टी पुनर्गठन आवश्यक नरहेको बताउनुभयो । उहाँले पार्टीमा महासङ्कट नपरी पुनर्गठन नगरिने प्रष्ट पार्दै अहिले पुनर्गठन शब्दको दुरुपयोग गरिएको बताउनुभयो । उहाँले पार्टी सरकारमा रहँदा असाधारण काम गर्न सफल भएको र उक्त समय लोकतन्त्र, सुशासन र विकासको स्वर्णयुग भएको धारणा राख्नुभयो ।  
आयोगका अध्यक्ष प्रा.डा. भरत पहारीको अध्यक्षता बसेको बैठकले पार्टीमा हाल देखापरेका अनुशासनसँग सम्बन्धित गतिविधिको सूक्ष्म अवलोकन, तथ्याङ्क सङ्कलन, विश्लेषण गर्ने प्रयोजनका लागि आयोगका सचिवको संयोजकत्वमा चार सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । 
बैठकले मुलुकमा विद्यमान अराजनीतिक, निरङ्कुश, अराजक परिस्थितिको कारण पार्टीभित्र र जनमानसमा देखापरेको त्रास र निराशालाई मध्यनजर गरी पार्टीलाई अझ एकताबद्ध र सुदृढ बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई संयमित भई पार्टी काममा संलग्न हुन आह्वान गरेको छ । 

हामीसँग जोडिनुहोस्