५ मङ्सिर (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेसनल भोलेन्टियर फोर्सलाई राष्ट्र, समाज र नागरिकको सेवामा समर्पित हुन निर्देशन दिनुभएको छ ।
नेसनल भोलेन्टियर फोर्स स्थापना दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले फोर्सको गठन राष्ट्रको रक्षा, सामाजिक सेवा र विकास निर्माणमा युवाको सहभागिता बढाउनका लागि गरिएको बताउनुभयो ।
कठिन परिस्थितिमा जन्मिएको यो संगठन सामाजिक उत्तरदायित्व, शान्ति स्थापना र विकास निर्माणमा केन्द्रित हुनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभएको छ।
भगवान् श्रीकृष्णको जन्म पनि कठिन परिस्थितिमा भएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले राष्ट्र निर्माण र संरक्षणका लागि सङ्घर्ष आवश्यक पर्ने हुँदा राष्ट्रलाई जोगाउन भोलेन्टियर फोर्स बनेको बताउनुभयो ।
नेपाली जनतालाई अप्ठ्यारो पर्दा सहयोग गर्ने, विकास निर्माणमा सहभागी हुने र उद्यमशीलतामा नमुना बनेर अघि बढ्ने उद्देश्यले संगठन स्थापना गरिएको उहाँले प्रष्ट पार्नुभयो ।
परिवार, समाज र राष्ट्रमाथिको बोझ घटाउने गरी युवाले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– बोझ बन्नका लागि होइन, परिवारको बोझ, समाजको बोझ र देशको बोझ हटाउन भोलेन्टियर फोर्स बनेको हो । जहाँ सही र सत्य मिचिन थाल्छ, त्यहाँ भोलेन्टियर फोर्स उभिन्छ ।
एमालेले युवाहरूलाई गलत बाटोमा हिँडाउन नभई सही मार्गमा अघि बढाउन संगठनमा आबद्ध गराएको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– एमालेले यो फोर्समा आबद्ध गरेको कुमार्गमा हिँडाउन होइन, सुमार्गमा हिँडाउन हो, दुरुपयोग गर्न होइन, सदुपयोग गर्न हो । नेकपा (एमाले)ले गलत बाटोमा हिँड्न होइन, सही बाटोमा हिँड्न सिकाउँछ ।
देशमा अहिले जङ्गली राज मात्र नभई राक्षसी राज चलेको बताउँदै सधैँ राक्षसी राज चलाउन खोजिन्छ भने नेपाली जनता र नेसनल भोलेन्टियर फोर्स चुप लागेर नबस्ने उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत आगजनी, तोडफोड तथा देशलाई क्षति पुर्याउने गतिविधि नेपाली युवाको चाहना नभएको बताउनुभयो । उहाँले वर्तमान सरकार हिंसा, तोडफोड र हत्याको पृष्ठभूमिबाट बनेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष ओलीले भोलेन्टियर फोर्समा आवद्ध युवाहरूलाई खादा लगाई स्वागत गर्नुभएको थियो । फोर्सका अध्यक्ष पुष्पराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष ओलीकि पत्नी राधिका शाक्य, पार्टीका सचिव महेश बस्नेत, केन्द्रीय सदस्य विशाल भट्टराई, निरु पाल, किरण पौडेललगायत नेताहरूको उपस्थिति रहेको थियो ।
अध्यक्ष ओलीद्वारा भोलेन्टियर फोर्सलाई राष्ट्र र समाजको सेवामा समर्पित हुन निर्देशन
सेयर गर्नुहोस्
