एमाले आज

हुम्ला, कालिकोट र जाजरकोटमा प्रशिक्षण, भेला र जागरण अभियान

सेयर गर्नुहोस्

हुम्लाका तीन पालिकामा जागरण भेला

सुर्खेत । पार्टीले सञ्चालन गरेको पार्टी जागरण अभियान अन्तर्गत हुम्ला जिल्लाका सिमकोट, नाम्खा र खार्पुनाथगाउँ कमिटीका प्रशिक्षण तथा भेला सम्पन्न भएका छन् । सम्बन्धित पालिका कमिटीले आयोजना गरेका भेलामा पार्टीको तेस्रो केन्द्रीय कमिटीले गरेका निर्णय, वर्तमान राजनीतिक परिस्थितिका बारेमा जिल्ला इन्चार्ज दल रावलले प्रशिक्षण दिनु भएको एमाले हुम्लाका अध्यक्ष ज्ञामी वुमीले जानकारी दिनुभयो । 
अध्यक्ष वुमीका अनुसार पालिकास्तरीय भेलामा सम्बन्धित पालिका कमिटीमा पार्टी सदस्यता नवीकरणको अवस्था, नयाँ सदस्यता वितरणको अवस्थाका बारेमा जिल्ला कमिटीले जानकारी गराउने काम समेत गरिएको छ । संगठन विस्तार र पार्टी केन्द्रको निर्णय अनुसार आगामी मङ्सिरमा आयोजना हुने वडा र पुसमा आयोजना हुने पालिका अधिवेशनका लागि स्थानीय पार्टी कमिटीलाई निर्देशन दिने काम समेत भेलामा गरिएको छ । आइतबार सिमकोटमा, बिहिबार नाम्खा र शुक्रबार खार्पुनाथमा भेलाको आयोजना गरेको हुम्ला जिल्ला कमिटीले समग्र अभियानको समीक्षा र मातहतका कमिटीको अधिवेशनको तयारी गर्न शनिबार जिल्ला कमिटीको दशौं बैठक सर्केगाड गाउँपालिका राखेको पार्टी सचिव तिर्थराज बोहराले बताउनुभयो ।    

शाहको संयोजकतव्मा १०८ सदस्यीय जाजरकोटमा संगठन कमिटी निर्माण

जिल्ला कमिटीको बाह्रौ बैठकले पार्टीका उपाध्यक्ष विश्वविक्रम शाहको संयोजकत्वमा १०८ सदस्यीय संगठन कमिटी निर्माण गरेको छ । 
केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज डम्बर बहादुर सिंहको प्रमुख अतिथ्यमा बसेको बैठकले पार्टीको आगामी जिल्ला अधिवेशन गर्नका लागि संगठन कमिटी गठन गरेको हो ।  पार्टीको जारी जागरण अभियान अन्तर्गत जिल्लाका ७ वटै पालिकामा बैठक तथा भेला सम्पन्न गरेको जाजरकोट जिल्ला कमिटीले मातहतका वडा र पालिका कमिटीका अधिवेशनको वातावरण तयार पार्ने सम्बन्धित पालिका इन्चार्ज मार्फत पालिका र वडा कमिटीलाई निर्देशन दिने निर्णय समेत गरेको जाजरकोट संगठन कमिटीका सचिव गोपाल नेपालीले जानकारी दिनुभयो । 
सचिव नेपालीका अनुसार यही कात्तिक १४ गते बसेको बैठकले सातौं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीका अध्यक्ष नरेन्द्र कुमार शाहीलाई पार्टीमा दिनु भएको योगदानका लागि धन्यवाद दिंदै आगामी जिल्ला अधिवेशनका लागि राजनीतिक तथा सांगठनिक प्रतिवेदन संगठन कमिटीका संयोजक विश्वविक्रम शाहले प्रस्तुत गर्ने निर्णय गरेको छ ।  पार्टीको केन्द्रीय सदस्यमा मनोनित हुनु भएका चन्द्रप्रकाश घर्ती (सिपी)लाई बधाई दिएको बैठकमा कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजंग शाहले प्रदेशका दशवटै जिल्लामा भएका संगठित सदस्य नवीकरण र जागरण अभियानका बारेमा मन्तव्य राख्नु भएको थियो ।  

कालिकोटले वडा केन्द्रित १५ दिने अभियान चलाउने 

नेकपा (एमाले) कालिकोट जिल्ला कमिटीले वडा र पालिका केन्द्रित १५ दिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । कात्तिक १७ गते बसेको जिल्ला कमिटीको ११औं बैठकले जिल्लाका ९ वटा पालिका र ८२ वटै वडालाई केन्द्रित गर्ने संगठन निर्माण, लोकतन्त्र रक्षाका लागि सङ्घर्ष र एजेण्डा मिल्ने पक्षसँगको सहकार्यका लागि मङ्सिर ५ देखि २० गतेसम्म १५ दिने अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज नगेन्द्र शाही ‘नेशनल’ले जानकारी दिनुभयो । 
उहाँका अनुसार जिल्ला कमिटी अध्यक्ष तुलराज मल्लको अध्यक्षतामा बसेको बैठकले पार्टी केन्द्रको निर्णय अनुसार मङ्सिर २६ गते हुने वडा अधिवेशन र पुस ४ गते हुने पालिका अधिवेशनको वातावरण तयार पार्ने पार्टी सदस्यता वितरण, नवीकरणका नियमित काम गर्ने कार्ययोजना अभियानमा तय गरिएको छ । 
  
 

हामीसँग जोडिनुहोस्