–विदेशी शक्तिहरूले नेपालका युवा पुस्तालाई प्रयोग गरेर जेनजी आन्दोलनको नाममा विध्वंस मच्चाए
–भदौ २३ र २४ गते भएको क्षतिको भरण अब कहिल्यै नहुने
–वैधानिक शासन सत्तालाई कमजोर गराउन सुनियोजित रूपमा भदौ २३ र २४ गतेको घटना
२३ कात्तिक (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विदेशी शक्तिहरूले नेपालका युवा पुस्तालाई प्रयोग गरेर जेनजी आन्दोलनको नाममा विध्वंस मच्चाएको बताउनुभएको छ ।
आइतबार राष्ट्रिय युवा संघ नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले युवा पुस्तालाई पुरानो पुस्तासँग फाटो ल्याउने मनोविज्ञान बनाइ भदौ २३ र २४ को घटना गराएको बताउनुभयो ।
सामाजिक सञ्जाललाई लागु औषध दुव्र्यशनसँग समेत जोड्ने काम गरेर सोसियल एनार्किजम गराउने काम भएको उहाँको भनाइ छ ।
वैधानिक शासन सत्तालाई कमजोर गराउन सुनियोजित रूपमा भदौ २३ र २४ गतेको घटना भएको उहाँले बताउनुभयो । त्यस्तै राजनीतिक दल बलिया हुँदा फेरि पनि वैधानिक सत्ता बलियो हुन्छ भनेर राजनीतिक दलमाथि आक्रमण भएको महासचिव पोखरेलको धारणा छ । ‘यो समग्र आन्दोलनको निशाना वैधानिक सत्तालाई कमजोर बनाउनु थियो, एमाले हुँदैन थियो भने पनि सत्तामा जो थियो त्यसैमाथि प्रहार हुन्थ्यो’, उहाँले भन्नुभयो ।
फागुन २१ गते सरकारले कुनै पनि हालतमा चुनाव नगराउने महासचिव पोखरेलले दाबी गर्नुभयो । वैधानिक सत्ता कमजोर बनाउनको लागि प्रतिनिधि सभा विघटन गरिएको बताउँदै उहाँले वैध सत्ता समाप्तिको लागि अहिलेको खेल भएकाले सरकारले चुनाव नगराउने उहाँको धारणा छ ।
भदौ २३ र २४ गते भएको क्षतिको भरण अब कहिल्यै पनि नहुने महासचिव पोखरेलले बताउनुभयो ।
देशलाई माया गर्ने नयाँ युवाहरूले त्यो विध्वंशको काम गर्नै नसक्ने उहाँको धारणा छ । ‘त्यस कारण जेनजी युवाहरूले यो राष्ट्रलाई समाप्त पार्ने अभियान हो भन्ने बुझ्नु पर्दछ’, महासचिव पोखरेलले भन्नुभयो ।
भदौ २३ गतेको घटनाको कारण २४ गतेको घटना नभएको उहाँको भनाइ छ । भदौ २४ गतेको आगजनी, तोडफोड र हिंसाको घटनाका लागि कम्तीमा पनि १५ दिन अघिदेखिको तयारी रहेको महासचिव पोखरेलको बुझाइ छ ।
‘भदौ २३ र २४ को घटनाको साँच्चै छानविन गर्न खोज्यो भने यो सरकार ढल्नेवाला छ, उनीहरू आफैँ फस्नेवाला छन्, त्यसैले सरकार सो घटनाको अध्ययन नै गर्न चाहँदैन’, उहाँले भन्नुभयो ।
भदौ २३ र २४ को हिंसामा को संलग्न थियो भन्ने कुरा अनुसन्धान गर्न आवश्यक नै नरहेको महासचिव पोखरेलले बताउनुभयो । सो घटना गराउन कसको षडयन्त्र थियो भन्ने बारेमा भने अध्ययन अनुसन्धान हुनुपर्ने उहाँको धारणा छ ।