‘घर फर्क राष्ट्रिय अभियान’ सुरु
अध्यक्ष ओलीद्वारा खादामाला लगाएर, पार्टीको झण्डा दिएर पार्टीमा स्वागत
२४ कात्तिक (२०८२), काठमाडौं । नेकपा (एमाले)ले विगतमा पार्टी छाडेर अन्य दलमा लागेका नेताकार्यकर्ताहरूलाई पुनः पार्टीमा स्वागत गर्दै ‘घर फर्क अभियान’ सुरु गरेको छ ।
नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाएका विघटित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरू एमालेमा फर्किनु भएको छ ।
आज राष्ट्रिय सभागृह (काठमाडौ) मा पार्टीले आयोजना गरेको ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममार्फत उहाँहरू एमालेमा फर्किनु भएको हो ।
कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उहाँहरूलाई खादामाला लगाएर, पार्टीको झण्डा दिएर पार्टीमा स्वागत गर्नुभयो ।
उहाँहरू २०७८ सालमा पार्टी विभाजन हुँदा एकीकृत समाजवादीतिर लाग्नुभएको थियो ।
कार्यक्रममा एकीकृत समाजवादीमा लाग्नुभएका नेताहरूले प्रतीकात्मक रूपमा सो पार्टीको चुनाव चिन्ह ‘कलम’ अध्यक्ष ओलीलाई बुझाउनुभएको थियो ।
सोही कार्यक्रममा गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार प्रसाद गौतम, डा. सावित्रीदेवी न्यौपाने, उत्तमदेवी श्रेष्ठ, केशव सापकोटा, शत्रुजङ्ग बस्नेत, सोमित राई, मणि दाहाल, विशाल क्षेत्री, उपेन्द्र थापा, जीवन मगर, सन्जिव भण्डारी, नरबहादुर श्रेष्ठ, बुद्ध श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, होमनाथ श्रेष्ठ, सरु मिश्र उप्रेती, सन्तोष कुसवाह, तेजप्रसाद नेपाल, हरिप्रसाद नेपाल, दावा शेर्पा, शमशेर शाक्य, प्रविण घर्तीमगर लगायतलाई पनि अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभयो ।
कार्यक्रममा एमाले छाडी एकीकृत समाजवादीतर्फ लागेका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला तहका नेता तथा कार्यकर्ताहरू ठूलो सङ्ख्यामा एमालेमा फर्कनुभएको छ ।
राष्ट्रिय सभा गृहमा आज नेता तथा कार्यकर्ताको उपस्थितिले हल खचाखच भरिएको थियो । कार्यक्रम स्थलमा ‘घर फर्क अभियानमा स्वागत छ’ लेखिएका ब्यानर र झण्डाहरूका कारण उत्सवमय वातावरण सिर्जना भएको थियो ।
प्रतिनिधिसभा पुनर्स्थापनाले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सक्छः अध्यक्ष ओली
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सक्ने बताउनुभयो ।
‘प्रतिनिधिसभा पुनर्स्थापना गरेर मात्र देशलाई ट्रयाकमा फर्काउन सकिन्छ । हामीले राष्ट्रिय राजनीतिको यथार्थ चित्र स्पष्टसँग राखेका छौं’ अध्यक्ष ओलीले भन्नुभयो– हामीले लडेर ल्याएको लोकतन्त्रका लागि संविधान चाहिन्छ । संविधानका लागि प्रतिनिधिसभा पुनर्स्थापित हुनुपर्छ ।
प्रतिनिधिसभा पुनर्स्थापना एक मात्र विकल्प भएको भन्दै अध्यक्ष ओलीले देशभरका पार्टी कमिटीलाई त्यसैमा केन्द्रित भएर अभियान चलाउन आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै वर्तमान सरकारलाई तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने कार्यभार दिएको भए पनि विवादस्पद कार्य गरिरहेकोमा आपत्ति प्रकट गर्नुभयो ।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले १० वाम दल र व्यक्ति मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रमको संज्ञा दिनुभयो ।
यस्तै, अध्यक्ष ओलीले नेकपा (एमाले) जनताले सबैभन्दा बढी भोट दिएको, सबैभन्दा धेरै कार्यकर्ता भएको र आफैँमा ठूलो स्पेश भएको पार्टी भएकाले सानो दिल र चित्त भएको भनेर टिप्पणी गर्न आवश्यक नरहेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले जेनजी आन्दोलनका नाममा देशमा महाविपत्ति ल्याउने काम भएको बताउनुभयो । युवाहरूलाई एउटा परिस्थिति खडा गरेर मर्ने, मराउने काम भएको उहाँको भनाइ छ ।
भदौ २३ र २४ को घटना सुनियोजित उपद्र भएको उहाँको भनाइ छ । अब एमालेले टोल टोलमा सुरक्षा दस्ता बनाएर यस्ता घटा हुन नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
यो कुरा गर्दा सरकारलाई चित्त दुख्न सक्ने भए पनि एमालेले यो काम गरेरै छाड्ने दृढता अध्यक्ष ओलीले व्यक्त गर्नुभयो । दण्डहीनताका प्रवृत्तिले दीर्घकालीन प्रतिशोध जन्माउने कुरामा सचेत हुन उहाँले सरकारलाई चेतावनी दिनुभयो ।
अन्तरिम सरकार नियोजित रूपमा राजनीतिक दललाई कमजोर बनाउने षडयन्त्रमाः महासचिव पोखरेल
कार्यक्रममा महासचिव शंकर पोखरेलले राष्ट्रलाई सङ्कटबाट बाहिर निकाल्नको लागि नेकपा (एमाले)ले सशक्त भूमिका खेल्दै आएको बताउनुभयो ।
महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा देश अप्ठेरोमा पर्दा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले सही बाटोमा ल्याउने काम गर्नुभएको स्मरण गर्नुभयो।
नेपाली समाजलाई विखण्डनबाट जोगाउने होस् वा राष्ट्रिय स्वतन्त्रता र स्वाभिमान स्थापित गर्ने कुरामा एमालेले सधैँ अगुवाइ गरेको उहाँले बताउनुभयो ।
भदौ २३ र २४ को घटनाको सन्दर्भमा महासचिव पोखरेलले नेपाली नवयुवालाई ढाल बनाएर विध्वंसात्मक कार्य गरिएको बताउनुभयो । ‘२३ गते स्कुले बालबालिकालाई ढाल बनाएर मुलुकलाई कमजोर बनाउन जुन षडयन्त्र भयो, त्यो षडयन्त्र बाहिर ल्याउन जरुरी छ, विद्यालय गएका विद्यार्थीलाई स्कुल ड्रेसमा आन्दोलनमा ल्याउनु के षडयन्त्र होइन ?’, उहाँले भन्नुभयो ।
भदौ २३ र २४ गते भएको षडयन्त्रका योजनाकार र मतियारको पहिचान गर्न जरुरी रहेका उहाँले बताउनुभयो ।
अहिलेको अन्तरिम सरकार नियोजित रूपमा राजनीतिक दललाई कमजोर बनाउने षडयन्त्रका साथ अघि बढिरहेको उहाँले बताउनुभयो ।
राजनीतिक कहिल्यै पनि प्रतिशोधात्मक नहुने बताउँदै उहाँले अहिलेको सरकार प्रतिशोधको भावसहित अघि बढेको महासचिव पोखरेलको भनाइ छ ।
अन्य राजनीतिक दल डरकै कारण बोल्न नसकेका बताउँदै यस्तो बेला बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको उहाँले बताउनुभयो । त्यो राष्ट्रिय शक्ति नेकपा (एमाले)लाई बनाउन सबै वामपन्थी र राष्ट्रवादी व्यक्ति र शक्ति एमालेमा एकत्रित हुन जरुरी रहेको महासचिव पोखरेलको भनाइ छ ।
हामीले पार्टीमा पुर्याएको क्षतिलाई पुरा गर्ने गरी लाग्नेछौंः झाँक्री
कार्यक्रममा नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा फर्कनुभएकी नेतृ रामकुमारी झाँक्रीले एमाले छाड्नुको सजाय आफूलाई समयले दिएको र दिने बताउनुभयो ।
नेकपा (एमाले) नेपालको कम्युनिष्ट आन्दोलनको मात्र होइन, राष्ट्रिय राजनीतिकै मूल प्रवाह भएको बताउँदै नेतृ झाँक्रीले भन्नुभयो– नेकपा (एमाले) राष्ट्रवादी र देशभक्तलाई संगठित गरेको बलियो र देशभक्त पार्टी हो ।
जेनजी आन्दोलनको नाममा भएको आन्दोलन तत्कालीन सरकार र एमालेविरुद्ध सुनियोजित षडयन्त्र भएको र जेनजी आन्दोलनको रोटी सेकाएर सबै शक्ति एमालेविरुद्ध लागेको उहाँको धारणा छ ।
एमालेको नर्सरीमा हुर्किएका सबै मानिस आजको राष्ट्रको जिम्मेवारी पुरा गर्नका लागि एकठाउँमा उभिनुपर्नेमा नेतृ झाँक्रीले जोड दिनुभयो ।
‘जेनजी आन्दोलनको स्वामित्व खोज्नेहरूले सिंहदरबार, सर्वाेच्च अदालत र संसद् भवन जलेको कुरालाई कसरी जस्टिफाई गर्न सक्छन् ? ज्युँदै मान्छे जलाउँदा ठीक गरे भन्नेहरूका विरुद्ध आज एमाले उभिएको छ’, उहाँले भन्नुभयो ।
‘आज नेकपा (एमाले) नै जनताको रक्षक शक्ति हो, यो आजको वास्तविकता हो, यो वास्तविकताबाट हामी भाग्न सक्दैनौं’,भन्दै झाँक्रीले जेनजी युवाहरूलाई एमालेमा आउन आह्वान गर्नुभयो ।
एमालेले सबैलाई पार्टी प्रवेशमा चारैतिरका ढोका खुल्ला गरेको आफूले अनुभूत गरेको उहाँले बताउनुभयो । नेतृ झाँक्रीले भन्नुभयो– हामीले पार्टीमा पुर्याएको क्षतिलाई पनि पुरा गर्ने गरी पिठ्युँ थापेर लाग्ने छौं ।
उहाँले माधव नेपालको पछि लागेर केही नहुने बताउँदै सबैलाई मूलप्रवाहमा फर्कन आग्रह गर्नुभयो । गति समान नभएको यात्रामा नहिँड्न र नअलमलिन उहाँले आह्वान गर्नुभयो ।
विगतमा पार्टी फुटाउनु जीवनकै ठूलो भूलः श्रेष्ठ
कार्यक्रममा विघटित नेकपा एकीकृत समाजवादी नेता तथा तत्कालीन सांसद किसान श्रेष्ठले विगतमा पार्टी फुटाउनु जीवनकै ठूलो भूल भएको बताउनुभयो ।
विगतमा विभिन्न कारणले पार्टी विभाजनको बाटो रोज्नु गम्भीर भूल भएको समयले पनि देखाइदिएको भनाइ उहाँले राख्नुभयो ।
नेता श्रेष्ठले पुनः एमालेको मञ्चबाट जनताको विश्वास जित्ने गरी समर्पणपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– हामी फेरि जनताको भरोसा जित्नेछौँ, राष्ट्र निर्माणको अग्रपंक्तिमा रहनेछौँ, यो फर्काइ केवल राजनीतिक निर्णय होइन, यो त जनताको बीच फर्कने यात्राको सुरुवात हो ।
उहाँले देशभर आफूजस्ता धेरै कार्यकर्ता र नेताहरू पुनः एमालेमा फर्कने विश्वास पनि व्यक्त गर्नुभयो । नेता श्रेष्ठले माधवकुमार नेपालको पछि लागेर आफूहरूले भुल गरेको बताउँदै भन्नुभयो– कलम पार्टी विसर्जन भयो, देशैभरिबाट एमालेमा फर्कौं ।
मुलुकको विकास, समृद्धि र सुशासनको एकमात्र आधार एमाले नै रहेको भन्दै नेता श्रेष्ठले आफूहरू पार्टीको नीति र नेतृत्वप्रतिको प्रतिवद्धतासहित फर्किएको र कुनै माग, शर्त र चाहना नभएको प्रष्टीकरण दिनुभयो ।
अध्यक्ष केपी शर्मा ओलीको दृढता, अटलता र देशप्रतिको समर्पण आज पनि लाखौँ युवाका लागि प्रेरणा बनेको भन्दै श्रेष्ठले अध्यक्ष ओलीले उठाएका राष्ट्रियता, विकास र सुशासनका मुद्दाले नै आफूहरू घर फर्कनु आवश्यक छ भन्ने भावना जागृत भएको बताउनुभयो ।