२५ कात्तिक (२०८२), बनेपा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालमा हाल देखिएका राजनीतिक अस्थिरता र जेन्जी आन्दोलनका पछिल्ला घटनाहरू ‘योजनाबद्ध षड्यन्त्रको परिणाम’ भएको बताउनुभएको छ ।
नेकपा (एमाले) बनेपा नगरपालिका कमिटी, काभ्रेद्वारा आज आयोजित कार्यक्रममा उहाँले नेपाल बलियो र सक्षम राष्ट्र बन्न नसक्दा पटक–पटक प्रतिगमनको दुष्चक्रमा फसिरहेको बताउनुभयो ।
‘नेपाल बलियो र सक्षम राष्ट्र बन्न सकेको छैन । त्यसैले देश पटक–पटक प्रतिगमनको दुष्चक्रमा फस्ने गर्छ’, महासचिव पोखरेलले भन्नुभयो– नेपाली समाजमा भ्रम सिर्जना गर्नेहरूले भ्रमकै खेती गरेर भदौ २३ र २४ का घटना गराए ।
उक्त घटनाका सम्बन्धमा उहाँले आफ्नो विश्लेषण सुनाउँदै भन्नुभयो– राजावादी शक्तिहरूले सो घटना चैत १५ गते नै गर्न चाहेका थिए तर त्यतिबेला नसकेर पछि मात्रै उक्त योजना भदौमा कार्यान्वयन भएको हो । माओवादी केन्द्र, रास्वपा र अन्य शक्तिहरू पनि सो षड्यन्त्रको प्रतीक्षामा रहेका थिए ।
महासचिव पोखरेलले भदौ २३ र २४ का घटनामा विभिन्न विदेशी शक्ति र संस्था समेत संलग्न रहेको बताउनुभयो । ‘बाहिर देखिएका पात्र हेर्ने हो भने राजावादी, माओवादी, रास्वपा, बारबरा फाउन्डेसन र ओरिजिनल तिब्बतियन ब्लड ग्रूपलगायतका विदेशी शक्तिहरू भदौ २३ र २४ का घटनामा संलग्न थिए’, उहाँको भनाइ छ– वैधानिक सत्तालाई कमजोर बनाएर देशमा अस्थिरता ल्याई आफ्नो अनुकूल लाभ लिने योजनाअनुसार नै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालिएको हो ।
उहाँले राज्यका सबै निकायले सन्तुलनमा रही काम गर्न नसक्दा देश अस्थिर हुँदै गएको बताउनुभयो । ‘राष्ट्रको सही गन्तव्यका लागि सबै निकाय सन्तुलित हुनुपर्छ तर नेपालमा त्यो अवस्था बनेको छैन’, महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले देशलाई स्थायित्व र विकासको मार्गमा लैजान कम्युनिष्ट आन्दोलन र समाजवादकै मार्ग उपयुक्त रहेको बताउनुभयो । ‘देशलाई सही बाटोमा फर्काउन प्रतिनिधि सभा पुनःस्थापना आवश्यक छ’, महासचिव पोखरेलले भन्नुभयो– यो सरकारले चुनाव गराउन सक्दैन, यो सरकार त्यसका लागि बनेको पनि होइन ।
अहिलेका केही राजनीतिक दल र नेताहरूले चुनावको नाममा देशलाई फेरि अस्थिरताको दिशामा धकेल्न खोजिरहेका धारणा राख्दै उहाँले फेरि आक्रमणको डरले केही दल र नेताहरू चुनावको पक्षमा उभिएका तर यो सरकार चुनाव गराउन बनाइएको होइन भन्नुभयो ।
महासचिव पोखरेलले भदौ २३ का दिन विद्यालय ड्रेसमा विद्यार्थीहरूलाई माइतीघर मण्डलामा लैजाने कार्यसमेत योजनाबद्ध रूपमा भएको भन्दै प्रश्न गर्नुभयो– त्यो दिन विद्यालयका विद्यार्थीहरूलाई बोर्डिङ स्कुलहरूले माइतीघरमा ल्याएर छाडियो, त्यो किन गरियो ? पानी बाँड्न गएका सुधन गुरुङ कसरी जेन्जी आन्दोलनका वार्ताकार बने ?
त्यो काम बारबरा फाउन्डेसन र फ्रि तिब्बत अभियानमार्फत भएको सार्वजनिक भइसकेको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले एमालेलाई अब निर्णायक राष्ट्रिय शक्ति बनाउने लक्ष्यका साथ अगाडि बढ्नुपर्ने बताउँदै भन्नुभयो– त्यही शक्तिले मात्र देशलाई वर्तमान सङ्कटबाट निकास दिन सक्छ । कोही निराश र हतास हुनुपर्ने छैन, अब जनताका बीचमा गएर जनताका कुरा सुन्ने हो, आफ्ना कुरा भन्ने हो ।