–हजारौंको जनसहभागितामा मोटरसाइकल र्याली, जनर्याली र सभा
–प्रतिनिधि सभा पुनर्स्थापना गरी संविधान र लोकतन्त्रको रक्षा र देशलाई निकास दिनुपर्ने माग
–पालिका तहको प्रदर्शन उत्साहका साथ सम्पन्न भएसँगै महासचिव शंकर पोखरेलद्वारा सबै नेताकार्यकर्तालाई कात्तिक २९ गते गरिने जिल्लास्तरीय जनसभाको तयारीमा पूर्णरूपमा जुट्न आह्वान
२५ कात्तिक (२०८२), काठमाडौं । प्रतिगामी षडयन्त्रका विरुद्ध नेकपा (एमाले)ले आज देशैभरि जनप्रर्दशन गरेको छ । लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधि सभा पुनर्स्थापना ह्ुनुपर्ने मान्यताका साथ जनदबाबका कार्यक्रम अगाडि सारेको एमालेले आज स्थानीय तहमा जनप्रदर्शन आयोजना गर्योे ।
देशका सबै (७५३) महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा आज एकैदिन आयोजना गरिएको जनप्रदर्शन अधिकांश पालिकामा सम्पन्न भएका छन् । र्याली, मोटरसाइकल र्याली र कोणसभाका कार्यक्रममा हजारौंको सङ्ख्यामा पार्टीका कार्यकर्ता, शुभेच्छुक र जनता पार्टीका झण्डा र व्यानर बोकेर उत्साहका साथ सहभागी भए ।
पार्टीको गत असोज ३१ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले संसद पुनर्स्थापनाको माग गर्दै प्रतिगामी षडयन्त्रविरुद्ध देशैभर जनपरिचालन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार यही कात्तिक २२ गते वडा भेला सम्पन्न भएका थिए भने आज पालिकाहरूमा जनप्रदर्शन गरियो । आजको जनप्रदर्शनलाई पार्टीका केन्द्रीय नेताहरूले विभिन्न ठाउँमा सम्बोधन गर्नुभएको छ ।
उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवनको खैरहनी नगरपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ । उहाँले भदौ २४ पछि सबैभन्दा पहिला सडक आन्दोलनमार्फत प्रतिगमनकारी कदमका विरुद्ध कार्यकर्ता र जनतालाई एमालेले अघि सारेको बताउनुभयो । यसैगरी महासचिव शंकर पोखरेलले काभ्रेको बनेपामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै जेनजी आन्दोलनका नाममा विध्वंस मच्चाउने काममा माओवादी, रास्वपा र दुर्गा प्रसाईंहरूको भूमिका रहेको बताउनुभयो । उहाँले पश्चिमा पुँजीवादीहरूले प्रविधिसँगै हुर्किएको पुस्ताको दुरुपयोग गरेर नेपालमा विध्वंस मच्चाएको बताउनुभयो ।
प्राप्त समाचार अनुसार विभिन्न जिल्लाका पालिका–पालिकामा ठुलो र उत्साहजनक सहभागितामा र्याली, मोटरसाइकल र्याली र कोणसभाहरू भएका छन् । काठमाडौं वसन्तपुर लगायत स्थानमा जनप्रदर्शन गरिएको छ । विराटनगर, बीरगञ्ज, चितवन, पोखरा, पर्वतको कुश्मा, दाङ, धनगढी, महेन्द्रनगर लगायतका प्रमुख शहरी क्षेत्र रहेका पालिकाहरूमा जनप्रदर्शन भव्यरूपमा सम्पन्न भएका छन् ।
संसद् विघटनविरुद्ध झापामा सबै १५ वटै स्थानीय तहमा जनप्रदर्शन सम्पन्न गरिएको छ । पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार सबै पालिकामा विरोधसभा, र्याली र जनप्रदर्शनका कार्यक्रमहरू भएका छन् ।
झापाको मेचीनगरमा बृहत मोटरसाइकल र्याली आयोजना गरिएको छ । दमक, गौरादह, विर्तामोड, बुद्धशान्ति लगायतका पालिकाहरूमा र्यालीले पालिका परिक्रमा गरेर कोणसभा गर्दै कार्यक्रम समापन गरिएको छ । बुद्धशान्ति पालिकाको कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल, गौरादहको कार्यक्रममा केन्द्रीय सदस्य दीपक कार्कीले सम्बोधन गर्नुभएको छ ।
मोरङको विराटनगर, धनकुटाको धनकुटा बजार लगायतका ठाउँहरूमा व्यापक जनसहभागितासहित जनप्रदर्शन भएका छन् । उदयपुरका आठवटै पालिकामा मोटरसाइलक र्यालीसहित जनप्रदर्शन भएका छन् । पाल्पाका दुई नगरपालिकासहित १० वटै पालिकाहरूमा जनप्रदर्शन भएका छन् । पाल्पामा कहीं अन्तरक्रिया, कहीं प्रशिक्षण त कतै जनभेला भएका छन् । गुल्मीमा भएका जनप्रदर्शनमा सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै त्यसलाई विस्थापित गर्दै संसद पुनस्र्थापनामार्फत संविधानलाई लिकमा फर्काउने माग गरिएको छ ।
यस्तै पोखरा महानगरको कार्यक्रमलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीले सम्बोधन गर्नुभएको थियो । यसैगरी पर्वतको कुश्मामा विशाल जनप्रर्दशन भएको छ । उक्त कार्यक्रमलाई केन्द्रीय सदस्य पदम गिरीले सम्बोधन गर्नुभएको थियो ।
कर्णालीका केही पालिकाहरूमा हिमपातका कारण जनप्रदर्शन नभएपनि अधिकांश पालिकामा जनप्रदर्शन कार्यक्रम सम्पन्न भएका छन् । जाजरकोटमा भएको जनप्रदर्शनलाई केन्द्रीय सदस्य निरज आचार्यले सम्बोधन गर्नुभएको छ । उहाँले एमाले नै जनताको आशाको केन्द्र भएको बताउनुभयो ।
दैलेखमा संसद पुनस्र्थापनाको माग गर्दै विभिन्न नारा जुलुससहित नारायणी नगरपालिकामा जनप्रदर्शन गरिएको छ । यहाँका ११ वटै स्थानीय तहमा आज कार्यक्रम भएका छन् । चामुण्डा विन्द्रासैनी नगरपालिकामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य विष्णु रिजालले जेन जीका माग सकारात्मक भए पनि आन्दोलनको स्वरुप विध्वंसकारी हुँदा नतिजा नकारात्मक भएको बताउनुभयो ।
दैलेखको ठाटिकाँधमा भएको सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य विनोदकुमार शाहले प्रतिनिधि सभाको पुनस्र्थापनापछि मात्र जेनजी पुस्ताले अघि सारेका मागहरू पुरा गर्न सकिने बताउनुभयो । नारायण नगर कमिटीले आयोजना गरेको प्रदर्शन सभालाई केन्द्रीय सदस्य सूर्यकुमारी श्रेष्ठले सम्बोधन गर्नुभएको थियो ।
दाङमा लमही नगरपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा पालिकास्तरीय प्रदर्शन तथा कार्यक्रम सम्पन्न भएका छन् । कार्यक्रमलाई केन्द्रीय र जिल्ला तहका नेताहरूले सम्बोधन गर्दै षड्यन्त्रका विरुद्ध सबै एकठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् ।
लमही नगरपालिका स्तरीय प्रदर्शनपछि आयोजित कोणसभालाई पोलिटब्यूरो सदस्य शान्ता चौधरीले सम्बोधन गर्नुभयो । त्यस्तै, राजपुर गाउँपालिकाको सालभौरीमा पनि जनप्रदर्शन सम्पन्न भएको छ । सो कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष शिवकुमार आचार्यलगायतका नेताहरूले सम्बोधन गर्नुभयो ।
गढवामा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्य साजिदा सिद्दिकी, क्षेत्रीय संयोजक सहजराम यादव, शंकर पाण्डेलगायतले सम्बोधन गर्नुभयो ।
आजको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएसँगै महासचिव शंकर पोखरेलले वडा र पालिकास्तरमा भएका जनभेला र जनप्रदर्शनहरूले एमालेको संगठनात्मक शक्ति र जनसमर्थन अझ बलियो बनेको बताउनुभएको छ ।
उहाँले पार्टीका नेताकार्यकर्ताहरूलाई कात्तिक २९ गते गरिने जिल्लास्तरीय जनसभाको तयारीमा पूर्णरूपमा जुट्न आह्वान गर्नुभएको छ ।
महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ– ‘वडा र पालिकामा भएको जनभेला र जनप्रदर्शनले हामी सबैलाई उत्साहित बनाएको छ, अब २९ गतेको जिल्ला जनसभाको व्यापक तयारीमा जुटौँ ।
उहाँले पार्टीको आगामी जिल्ला जनसभा एमालेको एकता, अनुशासन र संगठनात्मक क्षमताको प्रदर्शन हुने अवसरका रूपमा लिन आग्रह गर्नुभएको छ ।
प्रस्तुत छ, महेन्द्रनगर, धनगढी, बर्दिया, कालिकोट, कुश्मा, पोखरा, काठमाडौंको वसन्तपुर, टोखा, भक्तपुरको सूर्यविनायक, रामेछाप, सिन्धुली,बाराको जीतपुर सिमरा, वीरगञ्ज, विराटनगर लगायतका ठाउँहरूका प्रदर्शनका केही झलकहरू–