–एमाले सङ्कटबाट भाग्ने होइन, त्यसको सामना गर्ने पार्टी हो
–अहिलेको लडाइ भनेको देशलाई स्वतन्त्र राख्ने र पराधीन बनाउने बीच
२९ कात्तिक (२०८२), काठमाडौं । प्रतिगामी षडयन्त्रविरूद्ध जनजागरण अभियान अन्तर्गत आज नेकपा (एमाले)ले देशभर र्याली र सभा आयोजना गर्यो ।
उपत्यका बाहिर सबै जिल्लामा आयोजना गरिएको कार्यक्रममा केन्द्रीय नेताहरूले सम्बोधन गर्नुभएको छ ।
नेकपा (एमाले) बाँके जिल्ला कमिटीले नेपालगञ्जमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले एमाले सङ्कटबाट भाग्ने होइन, त्यसको सामना गर्ने पार्टी भएको बताउनुभयो ।
देशको वर्तमान सङ्कटको निकास एमालेको अगुवाईमा मात्र सम्भव रहेको उहाँले बताउनुभयो ।
भदौ २३ र २४ गतेको तोडफोड र विध्वंस नेपाल राज्यलाई कमजोर पार्नका लागि रचिएको षडयन्त्र भएको र सिंहदरबार, सर्वोच्च अदालत जस्ता निकायमा आगो लगाएर राज्यमाथि गम्भीर अपराध गरिएको महासचिव पोखरेलले बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– देशैभरिका धेरै स्थानीय तह र वडा कार्यालयहरू जलाइए, तोडफोड गरिए तर काठमाडौं महानगरमा केही गरिएन । वडाहरूमा केही गरिएन । शितलनिवास जलाइयो । छेउमै रहेको निर्मल निवासमा एउटा ढुङ्गा पनि लागेन । यसबाट यो आगजनी र तोडफोडमा को संलग्न छ भनेर सहजै बुझ्न सकिन्छ ।
एमालेका नेताकार्यकर्ता देशमा लोकतन्त्र ल्याउनका लागि लामो समय जेल बसेका, भूमिगत बसेका भएकाले लोकतन्त्र विरोधी सानातिना हमलाबाट बिचलित हुनु नहुनेमा उहाँले जोड दिनुभयो ।
‘एमालेका नेताकार्यकर्ता लोकतन्त्र प्राप्तिका लागि लामो समय जेल बस्यौं । लामो समय भूमिगत बस्यौं । त्यसैले हामीलाई सङ्कटसँग जुध्ने अनुभव छ’, महासचिव पोखरेलले भन्नुभयो– षडयन्त्रकारीलाई लागेको थियो पार्टी कार्यालय जलाएपछि एमाले सकिन्छ । घर जलाइएपछि नेताकार्यकर्ता सकिन्छन् । तर अहिले मैदानमा हेर्नुभयो भने एमाले भन्दा अरु कुनै शक्ति देख्नु भएको छ ?
उहाँले दलका कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी काममा खटिन आह्वान गर्नुभयो ।
एमालेको नेतृत्व र विचारले मात्र देश समृद्ध बन्छः सचिव भट्ट
धनगढी । धनगढीमा आयोजना गरिएको जागरण सभालाई सम्बोधन गर्दै पार्टीका सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले नेकपा (एमाले)को नेतृत्व र विचार ठिक रहेकाले एमालेपङ्तीमा डर र मनोबल घटाउन सबै मिलेर आक्रमण गरिरहेको बताउनुभयो ।
उहाँले देश र संविधानको रक्षा गर्न एमाले मात्रै सक्षम रहेको बताउँदै एमाले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि बलिदान गर्न तत्पर रहेको बताउनुभयो ।
सचिव भट्टले अहिलेको लडाइ भनेको देशलाई स्वतन्त्र राख्ने र पराधीन बनाउने बीचको भएको बताउनुभयो ।
उहाँले एमाले खरानीबाट उठेर देशको नेतृत्व गर्न जनतामाझ आइसकेको बताउनुभयो ।
नेता भट्टले एमालेका नेता तथा कार्यकर्ताको मनोवल गिराउन गत भदौ २४ गते पार्टी कार्यालयहरू र नेताका घरहरू छानीछानी जलाइएको बताउनुभयो ।
उहाँले जेन्जी आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिँदै यो आन्दोलनले व्यवस्थापिका, न्यायपालिका र मुलुकको इतिहासमा आगो लगाउने काम गरेको छ भन्नुभयो ।
अहिलेको सरकारले संविधानलाई धोती लगाउने काम गरिरहेको र यो सरकारले चुनाव गराउन पनि नसक्ने भनाइ सचिव भट्टले राख्नुभयो । हतियार लुटिएको अवस्थामा, प्रहरीको मनोवल गिरिरहेको अहिलेको अवस्थामा चुनाव हुन नसक्ने भएकाले विघटित संसद् पुनर्स्थापित हुनुपर्ने एमालेको स्पष्ट माग र अडान रहेको उहाँले बताउनुभयो ।
असंवैधानिक सरकारको अन्त्य गर्नुपर्छः सचिव विश्वकर्मा
बुटवल । नेकपा (एमाले) रुपन्देहीले बुटवलमा बृहत जनप्रदर्शन र सभा गरेको छ । राजमार्ग चौराहाबाट सुरू भएको र्याली बुटवलको ट्राफिक चोकमा पुगेर जनसभामा परिणत भएको थियो । र्याली र सभामा केन्द्र, प्रदेश र जिल्ला तहका नेता तथा रुपन्देहीका १६ वटै पालिकाबाट उल्लेख्य सङ्ख्यामा कार्यकर्ता, समर्थक र युवाहरूको सहभागिता रहेको थियो ।
सभालाई सम्बोधन गर्दै पार्टीका सचिव छविलाल विश्वकर्माले वर्तमान सरकारले संविधानविपरीत र जनमतको अवहेलनासहित शासन गरिरहेको बताउनुभयो ।
सचिव विश्वकर्माले भन्नुभयो– आजको सरकार संविधानको अक्षर र भावना दुवै विपरीत चलेको छ । यस्तो असंवैधानिक सरकारको अन्त्य एमालेले नै गर्छ ।
पार्टीका पोलिटब्यूरो सदस्य लिला गिरीले प्रतिनिधिसभा पुनस्र्थापनाको माग समयको आवश्यकता भएको भन्दै स्थिरता र सुशासनका लागि एमालेकै नेतृत्व अपरिहार्य भएको धारणा राख्नुभयो ।
पार्टीका रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले युवाहरूका रोजगार, अवसर र क्षमता विकासका मागबारे जोड दिँदै जेनजी पुस्ताले अपेक्षा गरेको परिवर्तन एमालेले मात्र पूरा गर्न सक्ने बताउनुभयो ।
सभामा वक्ताहरूले संविधान, लोकतन्त्र र जनअधिकारको संरक्षणका लागि हुने सङ्घर्षमा जनताको साथ अपरिहार्य भएको बताउनुभएको थियो ।
संविधान रक्षा गर्ने दायित्व एमालेको काँधमाः सचिव अर्याल
झापा । झापाको विर्तामोडमा आयोजित जनसभालाई सम्बोधन गर्दै पार्टीका सचिव पद्मा अर्यालले प्रतिगमनकारी, देशद्रोही र आतङ्ककारीहरूलाई एकदिन कानुनको कठघरामा उभ्याएर छोड्ने चेतावनी दिनुभयो ।
उहाँले देशको झण्डा ओढेर राष्ट्रलाई खरानी बनाउने छुट कसैलाई नभएको बताउनुभयो । राष्ट्र र जनताको अहितमा भएको कुनै पनि कामप्रति एमाले चुप नबस्ने धारणा राख्दै सचिव अर्यालले त्यस्ता समूहलाई ठेगान लगाएर छोड्ने चेतावनी दिनुभयो ।
सचिव अर्यालले संविधानको रक्षा गर्ने दायित्व एमालेको काँधमा आएको बताउनुभयो ।
संविधानको भावना मिचेर बनेको सरकार असंवैधानिक भएको र यसले निर्वाचन गर्ने भन्दै जनतालाई भुलभुलैयामा पारेको भनाइ राख्दै उहाँले भन्नुभयो– जननिर्वाचित सरकारलाई अपदस्त गरेर निर्वाचन गर्छु भन्नु नाटक मात्रै हो । एमाले निर्वाचनको लागि तयार छ, त्यसको लागि सरकारले वातावरण निर्माण गर्न सक्छ ? उहाँले प्रश्न गर्नुभयो । शान्तिपूर्ण चुनावका लागि एमाले जहिल्यै पनि तयार रहेको उहाँको भनाइ छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापा मुलुकको भविष्यको मार्गचित्र भएको उहाँले बताउनुभयो । झापाले मुलुकको रुपान्तरणका लागि ठुलो योगदान गरेको बताउँदै फेरि पनि झापाली जनता संविधानको रक्षाका लागि अग्रभागमा आएकोमा सचिव अर्यालले खुशी व्यक्त गर्नुभयो ।
जिल्लाभरबाट सहभागी हजारौं नेता कार्यकर्ताहरूको र्याली मुक्तिचोकबाट सुरु भई सिटि सेन्टरमा आयोजित जनसभामा पुगेको थियो । असंवैधानिक सरकारविरुद्ध झापाली जनताले जनसभामार्फत बलियो खवरदारी गरेका हुन् ।
पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको सभामा एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेल, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई लगायतले सम्बोधन गर्नुभएको थियो ।
संसद् पुनर्स्थापनाका लागि सबै दलहरू एक हुन आवश्यकः स्थायी कमिटी सदस्य ढकाल
तेह्रथुम । नेकपा (एमाले) तेह्रथुमद्वारा आयोजित जनजागरण आमसभालाई सम्बोधन गर्दै पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले यो जागरण अभियान एमालेको मात्र नभएको बताउनु भएको छ ।
नेता ढकालले संविधानको रक्षा र संसद् पुनर्स्थापनाका लागि सबै लोकतान्त्रिक दलहरू एक हुन आवश्यक रहेको बताउनुभयो ।
उहाँले वर्तमान सरकारले घोषणा गरेको चुनावको लागि नागरिकको सुरक्षाको प्रत्याभूति हुनुपर्ने धारणा राख्नुभयो । जनजागरण सभामा नेकपा (एमाले) तेह्रथुमका ईन्चार्ज बिष्णु माया बिकले संविधान रक्षाको लागि जिल्लाका नागरिकहरूको सहभागितालाई आभार प्रकट गर्दै एमालेले गरेको आन्दोलनमा सबै दलहरूले ऐक्यवद्धता जनाउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रम नेकपा (एमाले) तेह्रथुमका अध्यक्ष शिवप्रसाद ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियोे । जनसभामा छ वटै पालिकाका अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । जनसभा अघि म्याङ्लुङदेखि बसन्तपुरसम्म मोटरसाईकल र्याली निकालिएको थियो ।
एमाले र नेतृत्वविरूद्ध षडयन्त्र गरिए प्रतिवाद गरिन्छ
सिन्धुली । नेकपा (एमाले) सिन्धुलीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै पार्टीका पोलिटव्यूरो सदस्य महेश बस्नेतले सुशीला कार्कीको नेतृ्वको सरकारले अध्यक्ष केपी शर्मा ओलीलाई छानबिनका नाममा बयान लिने र पक्राउ गर्ने षड्यन्त्र गरिए त्यसको प्रतिवाद गरिने बताउनुभयो ।
उहाँले देशी विदेशीको षड्यन्त्रमा लागेर एमालेमाथि षड्यन्त्र गरिए कार्की नेतृत्वको सरकारलाई सिंहदरबारबाट लखेटिने उद्घोष गर्नुभयो । उहाँले भदौ २३ र २४ गतेको घटना नेपाली युवाहरूको काँधमा विदेशीहरूले बन्दुक राखेर पड्काएको बताउनुभयो ।
भदौ २३–२४ को आक्रमण इतिहासकै बदनाम अध्याय
रामेछाप । नेकपा (एमाले) रामेछापले प्रतिगमनविरुद्ध शनिबार मन्थलीमा वृहत प्रदर्शन तथा सभामा पार्टीका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईँले जेनजी आन्दोलनको नाममा सरकार, संसद् र संविधानमाथि गरिएको आक्रमण इतिहासकै बदनाम अध्याय भएको र अब जनतालाई उठाएर यो सङ्कटको मूल काटिने छ भन्नुभयो ।
केन्द्रीय सदस्य गीता कार्कीले प्रतिगमन रोक्न र संविधान जोगाउन एमाले सडकमा उत्रिएको बताउनुभयो । ‘बलिदान र त्यागले बनेको संविधानलाई कागजको खोस्टा बनाउने षड्यन्त्र सुरु भएको छ, अब हामी मौन बस्दैनौँ,’ उहाँले भन्नुभयो ।
सभामा बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले विघटन गरिएको संसद् जुनसुकै अवस्थामा पनि पुनर्स्थापना गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले मङ्सिर ६ मा काठमाडौँमा हुने प्रदर्शनलाई ऐतिहासिक बनाउन कार्यकर्ता र जनसमुदायलाई आह्वान समेत गर्नुभयो ।
नेकपा (एमाले) रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले विघटन गरिएको संसद् पुनःस्थापनालाई नै पार्टीको प्रमुख एजेन्डा बताउँदै रामेछापदेखि काठमाडौँसम्म निरन्तर दबाबका कार्यक्रम चलिरहने जानकारी दिनुभयो ।
नहुने चुनावमा जाने भनेर एमाले दिग्भ्रमित हुँदैन
धादिङ । धादिङबेसीमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै पार्टीका पोलिटव्यूरो सदस्य खिमलाल भट्टराईले असंवैधानिक तरिकाबाट गठन भएको वर्तमान सरकारले चुनाव गराउने वातावरण नै नबनाएको बताउनुभयो ।
विघटित प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म एमालेले आन्दोलन गरिरहने बताउँदै उहाँले नेपाली जनताले बनाएको संविधानबारे निर्णय गर्ने अधिकार कुनै एक व्यक्ति वा अहिलेको सरकारलाई नभई जनतालाई मात्र रहेको बताउनुभयो ।
केन्द्रीय सदस्य खेम प्रसाद लोहनीले संविधानको रक्षाको लागि एमाले जतिबेला पनि तयार रहेको बताउनुभयो ।
नेकपा (एमाले) धादिङका अध्यक्ष भुमि त्रिपाठीले संविधान संशोधन संसद र प्रतिनिधिसभाले मात्रै गर्न सक्ने भएकाले प्रतिनिधिसभालाई व्युझाउन आवश्यक रहेको बताउनुभयो । चुनावमा जान वैधानिक सरकार बनाउन पनि भङ्ग भएको प्रतिनिधिसभा पुनर्स्थापना गरेर चुनावको मिति तोक्नुपर्ने भनाइ उहाँले राख्नुुभयो ।
संविधान च्यात्ने प्रयत्नका विरुद्ध एमालेको सद्भाव र्याली र जनप्रदर्शन
प्यूठान । प्यूठानको खलङ्गामा आयोजना भएको जनसभामा बोल्दै पोलिटव्यूरो सदस्य सूर्य थापाले संविधानलाई च्यात्ने प्रयत्नका विरुद्ध एमालेले सद्भाव र्यालीसहित जनप्रदर्शन गरेको बताउनुभएको ।
जनताले निर्माण गरेको संविधान च्यातेर त्यसका व्यवस्थाहरूको उल्लङ्घन गरेर देशलाई संविधान विहिनताको बाटोमा लैजान खोजिएकाले एमालेले प्रतिवादमा उत्रिएको उहाँले बताउनुभयो ।
नेता थापाले प्यूठान जिल्लाका पार्टी कार्यालयमा भएको आक्रमणमा संलग्नलाई कारवाही हुनुपर्ने बताउनुभयो । उहाँले जिल्लाको सुरक्षा प्रशासनले आक्रमण रोक्न चासो नदेखाएको बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) प्यूठानका अध्यक्ष विजय विराज विष्टले जेनजीले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनको विषयलाई पार्टीले सम्मान गर्ने बताउँदै आगजनी र आक्रमणबाट भ्रष्टाचार अन्त्य र सुशासन स्थापित हुन नसक्ने बताउनुभयो ।
विभिन्न जिल्लामा आयोजित र्याली तथा जनसभाका तस्वीरहरू–
गुल्मी
नुवाकोट
कास्की
मकवानपुर
पाल्पा
धनकुटा
संखुवासभा
जाजरकोट