२९ कात्तिक (२०८२), चितवन । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा बादलले प्रतिनिधिसभा पुनर्स्थापना अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
नेकपा (एमाले) चितवनले शनिबार नारायणगढमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाले प्रतिनिधिसभा पुनर्स्थापनापछि संसदबाट बन्ने सरकारबाट मात्रै निर्वाचन गराउनुपर्ने माग गर्नुभयो ।
उपाध्यक्ष बादलले भन्नुभयो– वर्तमान सरकारले निर्वाचन गराउन सक्दैन । अहिलेसम्म निर्वाचनको तयारी छैन, दलहरूसँग गम्भीररूपमा छलफल भएको छैन । यस्तो अवस्थामा कसरी निर्वाचन हुन सक्छ ।
फागुन २१ को निर्वाचन अगाडि स्थापित दल र तिनका नेतालाई फसाउने षडयन्त्र भइराखेको र ठूला, स्थापित दलका नेतालाई चुनावमा भाग लिन नपाउने गरी सरकारको तयारी भइरहेको उहाँको भनाइ थियो ।
भदौ २३ र २४ गतेको घटना देश र जनताविरूद्व रचिएको षड्यन्त्र भएको भन्दै उपाध्यक्ष बादलले देशलाई दीर्घकालिन क्षति पार्ने तत्वको खोजी गरी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो– अहिले दोषीलाई कारवाही गर्ने हो, प्रतिनिधिसभा पुनर्स्थापना गर्ने हो । आवश्यकता एकतातिर सरकार भने अर्कै बाटोमा हिडेको छ ।
विदेशी शक्तिले नेपालमा चलखेल गरिराखेको समयमा निर्वाचनको भुलभुलैयामा पर्न नहुने कुरामा उपाध्यक्ष थापाले सचेत गराउनुभयो ।
प्रचण्ड र माधव नेपालसहित मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी १० कोठे टहरो मात्रै भएको भन्दै त्यसले उनीहरूको ओरालो यात्रा नरोकिने उहाँले बताउनुभयो ।
‘निर्वाचनमा अस्तित्व जोगाउन मात्रै उनीहरूले १० कोठे टहरो हालेका हुन्, त्यसले पनि उनीहरूको ओरालो यात्रा रोकिँदैन, मुल घरमा फर्किए मात्रै केही जोगिन सक्छ,’ उपाध्यक्ष बादलले भन्नुभयो ।
कार्यक्रममा पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले अवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना नै अहिलेको आवश्यकता भएको बताउनुभयो ।
जननिर्वाचित प्रतिनिधिसभा बीचैमा विघटन गरेर गर्न खोजिएको निर्वाचन मान्य नहुने उहाँको भनाइ थियो । कार्यक्रममा केन्द्रीय सदस्य जगन्नाथ थपलियाले भदौमा भएको आगजनी नेपालको इतिहासले माफी दिन नसक्ने बताउनुभयो । देशको इतिहास मास्ने, राज्यका तीनै अंङ्गमा आगजनी गर्नेलाई कारवाही गर्न माग गर्नुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य कृष्णभक्त पोखरेल, जिल्ला अध्यक्ष कमलराज पाठकलगायतले संसद पुनर्स्थापनाको पक्षमा बोल्नुभएको थियो ।
जनसभा अगाडि जिल्लाका सात वटै पालिकाबाट भेला भएका पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरूको र्याली भरतपुरको गोन्द्राङबाट नौ किलोमिटर पैदल यात्रा गर्दै पोखरा बसपार्क नारायणगढमा आएर सभामा परिणत भएको थियो ।