detail-img

‘संविधान संशोधनमार्फत युवापुस्ताका माग सम्बोधन गरी ताजा जनादेशमा जानुपर्ने आजको आवश्यकता’

१ मङ्सिर (२०८२), बुटवल । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संविधान संशोधनमार्फत युवापुस्ताका माग सम्बोधन गरी ताजा जनादेशमा जानुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ । 
प्रेस चौतारी नेपालद्वारा आज बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा अदालत र सडक दुवैबाट संसद् पुनर्स्थापना भएको इतिहास रहेको उल्लेख गर्दै महासचिव पोखरेलले अहिले पनि त्यही उपाय प्रभावकारी हुने बताउनुभयो । 
भदौ २३ र २४ गतेका घटनापछि मुलुकलाई सहयोग पुग्छ कि भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर संसद्भित्रबाट नै समाधान खोज्न राष्ट्रपतिलाई अनुरोध गर्नुभएको उहाँले बताउनुभयो । तर अहिलेको सरकार संविधान बाहिरबाट बनेको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । 
संविधान र सांसद्ले नचिन्ने व्यक्ति अहिले देशको प्रधानमन्त्री भएको उहाँले बताउनुभयो । 
भदौ २३ र २४ को घटना आन्दोलन नभई आतङ्क र विध्वंस भएको र जेनजी आन्दोलनको नाममा भएका क्रियाकलाप आपराधिक क्रियाकलाप भएको महासचिव पोखरेलको भनाइ छ । डिप स्टेटको फण्डिङ अन्तर्गत भदौ २३ र २४ को घटना भएको र आज सरकारमा तिनै मानिसहरूको बोलवाला भएको उहाँको भनाइ छ । 
भदौ २३ र २४ को घटना हुनुको दुईवटा कारण प्रमुख रहेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– युवाहरू भावनामा भड्केर र अपराधीहरू लुटपाटको अवसर पाएर भदौ २३ र २४ को घटनामा संलग्न भए । 
फागुन २१ गते निर्वाचन हुने कुनै सम्भावना नभएको पनि बनाउनुभयो । अहिलेको सरकार चुनाव गराउने मनस्थितिमा नै नभएको बताउँदै उहाँले प्रतिनिधि सभा पुनर्स्थापना नै एमालेको मूल एजेण्डा भएको बताउनुभयो । तथापि देशको सबैभन्दा ठुलो राजनीतिक शक्तिका हिसाबले एमाले चुनावबाट नभाग्ने उहाँले स्पष्ट पार्नुभयो । ‘यो सरकार चुनावका लागि बनेको होइन, चुनाव गराउँदा पनि गराउँदैन’, उहाँले भन्नुभयो । 
लोकतान्त्रिक व्यवस्था बलियो हुनको लागि बलिया राजनीतिक शक्ति आवश्यक पर्ने बताउँदै यसका लागि देश दुई ध्रु्वमा विभाजित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 
प्रजातान्त्रिक समाजवाद कि वैज्ञानिक समाजवादमा जाने भन्ने दुई ध्रुवमा नेपालका राजनीतिक शक्ति विभाजित हुनुपर्ने उहाँको धारणा छ । यी दुई ध्रुव नबन्दासम्म देश राजनीतिक अस्थिरतामा परिरहने महासचिव पोखरेलले बताउनुभयो । 
उहाँले एमालेको महाधिवेशनको सन्दर्भमा सोधिएको प्रश्नमा विधान महाधिवेशनले नीतिगत विषयका सबै कुरा टुङ्ग्याएको बताउँदै आउने महाधिवेशन नेतृत्व चयनको महाधिवेशन मात्र हुने बताउनुभयो ।