detail-img

जस्तोसुकै परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्न जनप्रतिनिधिलाई निर्देशन 

एमालेलाई तर्साउनु केही क्षण मुसाले विरालोलाई तर्साएजस्तो 

३ मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) स्थानीय विकास विभागको आयोजनामा बुधबार ललितपुरको च्यासलमा भएको ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले शान्ति सुरक्षा र सुशासनको पक्षमा जस्तोसुकै जटिल परिस्थितिको सामना गरेर पनि जनप्रतिनिधिले काम गर्नैपर्ने बताउनुभयो । 
‘अरूले के गर्छन् त्यो अलग कुरा भयो, तर हामीले स्वच्छ ढङ्गले काम गर्नुपर्छ, जनतालाई छिटो, छरितो र बिना भेदभाव सेवा सुविधा दिनुपर्छ‘, उहाँले भन्नुभयो ।
उहाँले अहिलेको सरकार हा हु कै सरकार भएको दोहोर्याउनुभयो । विगतमा मुखिया छान्दा पनि गाउँले बसेर छान्ने गरेका बताउँदै अध्यक्ष ओलीले अहिले मुखिया मुखिनी कहाँबाट आए भन्ने समेत थाहा नभएको बताउनुभयो । 
‘अहिले केही क्षणलाई मुसाले बिरालो तर्साए जस्तो भएको छ, एमालेलाई ५०–६० जनाले तर्साउन खोज्दैछन्, निर्बाध छाडिदिएपछि ५०–६० जनाले सिंहदरबार नै जलाए नि’, उहाँले भन्नुभयो ।
अहिलेको सकार कसले बनायो भन्ने थाहा नभएको र यो सरकारको टेक्ने र झुण्डिने ठाउँ नभएको अध्यक्ष ओलीले सुनाउनुभयो । ‘तै पनि जनताले अत्यधिक बहुमतले छाने जस्तो धाकधम्की छ’, उहाँले भन्नुभयो ।
विमानस्थल तोडफोड गर्नेहरू देशद्रोही
अध्यक्ष ओलीले बारामा विमानस्थलमा तोडफोड गर्दै एमालेको सभा अवरुद्ध गर्न खोज्ने समूहलाई ‘जेनजी’का नाममा पहिचान गर्न खोजिए पनि उनीहरू वास्तविकतामा अपराधी, असामाजिक र राष्ट्र विरोधी भएको बताउनुभयो । 
बारामा देखिएको व्यवहारले लोकतान्त्रिक अभ्यास, शान्ति–सुरक्षा र राष्ट्रिय हितमै चोट पुर्याएको बताउँदै उहाँले भन्नुभयो– यी सामाजिक तत्त्व होइनन्, असामाजिक तत्त्व हुन्, अराष्ट्रिय, देशद्रोही तत्त्व हुन् । 
मङ्सिर ६ गते एमालेले गर्ने शान्तिपूर्ण र्यालीकै माध्यमबाट ‘शान्तिपूर्ण प्रदर्शन कस्तो हुन्छ’ भन्ने देखाइने उल्लेख गर्दै पछिल्लो समय लुटपाट, तोडफोड र आगजनीमै सीमित र्यालीहरूको अस्वाभाविकता बढ्दै गएको टिप्पणी गर्नुभयो ।
उहाँले अपराध गर्ने समूहहरूले राष्ट्रिय झण्डा ओढेर झण्डा दुरुपयोग गरेको बताउनुभयो । 
पार्टीभित्रको अनुशासन र ऐक्यबद्धताको सन्दर्भमा उहाँले हालको संवेदनशील राजनीतिक चरणमा सबै नेता–कार्यकर्ता एकढिक्का हुनुपर्नेमा जोड दिनुभयो । देशका लागि लड्न सक्ने, दृढ सङ्कल्पका साथ अघि बढ्ने राजनीतिक शक्ति आवश्यक रहेको उल्लेख गर्दै उहाँले अहङ्कारमा भरिएका व्यक्तिहरूलाई थुपारेर देश बन्न नसक्ने बताउनुभयो । 

सरकारद्वारा आफ्ना कर्तुत लुकाउन प्रसाईंलाई पक्राउ
सरकारले दुर्गा प्रसाईँलाई आफ्ना कर्तुत लुकाउन पक्राउ गरेको अध्यक्ष ओलीले बताउनुभयो । मध्यरातमा सुतिरहेको मानिसलाई आतङ्कित बनाएर पक्राउ गर्नु मानवताविरुद्धको काम भएको उहाँले बताउनुभयो । 
राष्ट्रिय मानव अधिकार आयोगले समेत बोलेकै आधारमा प्रसाईँलाई समाउनु मानव अधिकारको उल्लङ्घन हो भनिसकेको अवस्थामा सरकारले प्रसाईंलाई थुनिराख्न नमिल्ने अध्यक्ष ओलीको भनाइ छ ।  
‘दुर्गा प्रसाईँले देखाएको भिडियोको जवाफ सरकारसँग छ कि छैन ?’ प्रश्न गर्दै उहाँले प्रश्नको जवाफ थुनेर नहुने बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– गिरफ्तार गरेर, मुख बन्द गरेर समस्या समाधान हुँदैन, म सरकारलाई भन्छु, दुर्गा प्रसाईंलाई तुरुन्त छाड्नुस्, बोलेको भरमा थुन्न पाइन्छ ?

नेकपा (एमाले)का सचिव तथा केन्द्रीय स्थानीय विकास विभागका प्रमुख छविलाल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराई, नेकपा (एमाले) बाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल लगायत नेताहरूको उपस्थिति रहेको थियो । अन्तरक्रियामा उपत्यकाका स्थानीय तहमा नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।