-राजनीतिक दलहरूप्रति वैरभाव राखेर, अपराधी र हतियार बाहिर राखेर कुनै हालतमा चुनाव हुन सक्दैन, यो सरकारले चुनाव गराउने हो भने चुनावको वातावरण बनाउन लाग्नुपर्छ ।
-देशमा फेरि एकपटक प्रतिगमन भएको छ, यो प्रतिगमन देशका लागि दुर्भाग्य हो, यसलाई क्रान्ति भनेर महिमामण्डन गर्नु बुद्धिहीनता हो । आगजनी, तोडफोड र लुटपाट क्रान्ति हुन सक्दैन ।
-एमालेलाई द्वापर युगका बालक अभिमन्युलाई जस्तो एकैसाथ घेरेर चक्क्रब्युहमा पारौँला भन्ने नसोचे हुन्छ, एमाले अभिमन्युजस्तो कलिलो होइन ।
२० मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब हुने निर्वाचनपछि एमालेको सरकार बन्ने बताउनुभएको छ ।
नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन प्रचार समितिद्वारा शनिबार पार्टीे केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा नवयुग ई–बुलेटिन शुभारम्भ गर्दै उहाँले पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न आग्रह गर्नुभयो ।
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न चेतावनी दिँदै अध्यक्ष ओलीले पार्टीहरूकै सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) चुनावको प्रतीक्षामा रहेको तर फागुन २१ मा चुनाव नहुने बताउँदै उहाँले अहिले एमाले सरकारको चक्करमा नरहेको स्पष्ट गर्नुभयो ।
अध्यक्ष ओलीले वर्तमान सरकार चुनाव गराउनको लागि बनेको हो भने चुनावको वातावरण बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
जेलका अपराधी र प्रहरीका हतियार बाहिर राखेर चुनाव हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो । राजनीतिक दलहरूप्रति वैरभाव राखेर, अपराधी र हतियार बाहिर राखेर कुनै पनि हालतमा चुनाव हुन नसक्ने अध्यक्ष ओलीको धारणा छ । सरकारलाई निर्वाचन गराउने भन्दा पनि निर्वाचनबाट पुराना दल आउँछन् भन्ने डर रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले ११औं महाधिवेशनले एमालेविरुद्धको चौतर्फी घेराबन्दी तोड्ने र एमाले फेरि अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
एमालेलाई द्वापर युगका बालक अभिमन्युलाई जस्तो एकैसाथ घेरेर चक्क्रब्युहमा पारौँला भन्ने नसोच्न उहाँले चेतावनी दिनुुभयो । ‘एमाले अभिमन्युजस्तो कलिलो होइन, एमालेले त्यस्ता चक्रब्युहलाई कच्याककुचुक बनाइदिन्छ’, अध्यक्ष ओलीले भन्नुभयो ।
पार्टीेको ११औं महाधिवेशनको सफलता लोकतन्त्रको सफलता भएकाले महाधिवेशनलाई भव्य बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष ओलीले कार्यक्रम उद्घाटनस्थल भक्तपुुरको सल्लाघारीमा मानिसहरू नअट्ने अवस्था सिर्जना हुनसक्ने र आउने बाटो र ठाउँ नपुगेर धादिङ, नुवाकोट, बनेपा वा दक्षिणकालीतिर छुट्टै कार्यक्रम गरेर फर्कनुपर्ने स्थिति पनि आउनसक्ने बताउनुभयो ।
अध्यक्ष ओलीले भदौ २३ र २४ को घटनापछि देश प्रतिक्रान्तितर्फ अघि बढेको बताउँदै प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता हो भन्नुभयो ।
उहाँले भन्नुभयो– देशमा फेरि एकपटक प्रतिगमन भएको छ, यो प्रतिगमन देशका लागि दुर्भाग्य हो, यसलाई क्रान्ति भनेर महिमामण्डन गर्नु बुद्धिहीनता हो । आगजनी, तोडफोड र लुटपाट क्रान्ति हुन सक्दैन ।
अहिले विधि प्रक्रिया बिना नै कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको र यो लोकतन्त्रमाथिको उपहास भएको अध्यक्ष ओलीले बताउनुभयो ।
असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापित गर्नुपर्ने उहाँको धारणा छ ।
नेकपा (एमाले) देश, जनता, लोकतन्त्र, सुशासन, विकास र संविधानको पक्षमा लगातार गतिशील पार्टी भएको भनाइ उहाँले राख्नुभयो ।
देश अहिले विभाजित अवस्थामा रहेको बताउँदै अध्यक्ष ओलीले यतिबेला अत्यन्त सघन ढङ्गले एमालेका क्रियाकलाप सम्प्रेषित गर्नुपर्ने धारणा राख्नु भयो । ‘सत्य सम्प्रेषण गर्ने कुरा सजिलो छैन तर त्यो नेकपा (एमाले) र एमालेको मुखपत्रले गर्छ’, उहाँले भन्नुभयो ।
नेकपा (एमाले) देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र स्वाभिमानको पहरेदार भएको उहाँले बताउनुभयो । एमाले लोकतन्त्रको पक्षधर र लोकतन्त्र ल्याउन त्याग, तपस्या र बलिदान गरेको शक्ति भएको बताउँदै अध्यक्ष ओलीले लोकतन्त्रलाई कमजोर पार्न र सिध्याउन एमालेले नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिकूल अवस्थामा अहिलेको संविधान बनेको स्मरण गर्दै उहाँले नेपाललाई जातीय आधारमा धुजा–धुजा पार्न खोज्दा जोगाएर अहिलेको संविधान ल्याइएको बताउनुभयो ।
देशको बिग्रिएको अर्थतन्त्रलाई एमालेले सकारात्मक दिशामा ल्याउने काम गरेको बताउँदै उहाँले विश्व मञ्चमा नेपालको भूमिकालाई देखिने गरी स्थापित गर्ने काम एमालेबाट भएको बताउनुभयो ।
एमालेमा यतिबेला प्रतिस्पर्धा होइन, एकताको खाँचो छः महासचिव पोखरेल
कार्यक्रममा महासचिव शंकर पोखरेलले नेकपा (एमाले)मा यतिबेला प्रतिस्पर्धा होइन, एकताको खाँचो रहेको बताउनुभयो । अध्यक्ष ओलीलाई नेतृत्वमा स्थापित गरेर सबै त्यसमा एकताबद्ध हुन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
महासचिव पोखरेलले राष्ट्र निर्माणको योजनाकार एमाले भएको र देशको राजनीति एमालेको वरिपरि घुमिरहेको बताउनुभयो ।
‘आज राष्ट्रिय राजनीति नेकपा (एमाले) र अध्यक्ष केपी शर्मा ओलीकै वरिपरि घुमिरहेको छ, हामीले उहाँलाई राष्ट्रिय चुनौतीको सामना गर्न सक्ने योग्य नेताको रूपमा नेतृत्व प्रदान गर्न खोजेका हौँ’, उहाँले भन्नुभयो ।
आज अध्यक्ष ओलीमाथि भएको चौतर्फी घेराबन्दी एउटा व्यक्तिको विरुद्धको घेराबन्दी नभई नेकपा (एमाले) र सिङ्गो देशमाथिको घेराबन्दी हो भन्ने बुझ्न आवश्यक रहेको महासचिव पोखरेलले बताउनुभयो ।
अध्यक्ष ओलीको नेतृत्वमा एमाले र देशको भविष्य सुरक्षित गर्ने काममा लाग्न पार्टीका नेताहरूलाई उहाँले आग्रह गर्नुभयो ।
महासचिव पोखरेलले पार्टीको ११औं महाधिवेशनलाई प्रतिगमनविरुद्धको सङ्घर्ष र जनसङ्घर्षको कार्यक्रमको रूपमा परिभाषित गर्नुभयो । उहाँले भदौ २३ र २४ का घटना मुलुकको भविष्यमाथिको प्रहार भएको बताउनुभयो ।कार्यक्रम पार्टीका सचिव तथा महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालको अध्यक्षतामा भएको थियो ।