२१ मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौं उतार्ने घोषणा गरेको छ ।
मङ्सिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा हजारौं युवाको सहभागिता गराउन संंघले विभिन्न वडा, पालिका, जिल्ला र प्रदेश कमिटीहरूलाई अनिवार्य रूपमा युवाको सहभागिताका लागि उत्प्रेरक परिचालन गरिएको राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले बताउनुभयो ।
अध्यक्ष थेबेका अनुसार काठमाडौं र ललितपुरका ६१ वटा वडाबाट प्रत्येक वडाबाट १०० का दरले ६१००, उपत्यकाका अन्य १९ वटा पालिकाबाट एक हजारका दरले १९ हजार, उपत्यका बाहेक बाग्मतीका १० वटा जिल्लाबाट १५०० सयका दरले १५ हजार युवाहरु जुटाउने युवा संघको तयारी छ ।
यसैगरी महाधिवेशनमा कोशी प्रदेशबाट ४ हजार, मधेसबाट ४ हजार, गण्डकी ३ हजार, लुम्बिनीबाट २ हजार, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ५÷५ सयका दरले १००० युवा सहभागी हुने छन् ।
अध्यक्ष थेबे भन्नुहुन्छ– हामी टाउको गनेर नै ५० हजार युवा कार्यक्रम स्थलमा उतार्छौं । यसका लागि हाम्रो संगठनका सबै कमिटीहरू परिचालन गरेका छौं ।
नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा र बन्दसत्र भृकुटीमण्डपमा हुने छ ।