detail-img

महाधिवेशन प्रतिनिधि छनौट सम्पन्नः निर्वाचित प्रतिनिधि २१५४, मनोनीत हुने १०८, सल्लाहकार ३०९, जम्मा सहभागी २५७१ 

२४ मङ्सिर (२०८२), काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि तथा आयोजक गरी दुईहजार ५७१ जना सहभागी हुने भएका छन् । 
पार्टीको केन्द्रीय संगठन विभाग प्रमुख एवं महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका संयोजक काशीनाथ अधिकारीको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बसेको समितिको बैठकबाट प्रतिनिधि तथा आयोजक गरी सहभागीहरूको सङ्ख्या टुङ्गो लगाइएको हो । 
बैठकमा प्रतिनिधि छनौटको काम सम्पन्न भएको रिपोर्टिङ गरिएको छ । सो अनुसार निर्वाचित प्रतिनिधिहरू दुई हजार १५४ जना रहेका छन् । निर्वाचित प्रतिनिधि सङ्ख्याको पाँच प्रतिशत अर्थात १०८ जना मनोनीत गर्न सकिने सङ्ख्या कायम गरिएको छ । मनोनीत हुने सङ्ख्यासमेत प्रतिनिधिहरू दुईहजार २६२ हुने छन् भने केन्द्रीय सल्लाहकार परिषद्का ३०९ जना सदस्यहरू आयोजकका रूपमा सहभागी हुने व्यवस्था गरिएकाले महाधिवेशनमा सहभागी सङ्ख्या दुईहजार ५७१ हुने भएको हो । 
समितिका संयोजक अधिकारीले उपरोक्त महाधिवेशनमा सहभागी हुने आयोजक र प्रतिनिधि विवरण बैठकमा प्रस्तावका रूपमा राख्नुभएपछि पारित गरिएको पार्टीको संगठन विभागका सचिव तथा प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलले बताउनुभयो । 
महाधिवेशन प्रतिनिधिहरूको कार्ड निर्माणको काम अन्तिम चरणमा पुगेको र उक्त कार्य अनलाईनमा व्यवस्थित गरिएको बैठकमा जानकारी गराइएको थियो । 
मूलरूपमा प्रतिनिधि व्यवस्थापनको काम अन्तिम टुङ्गोमा पुगिसकेको सचिव ढुङ्गेलले प्रतिनिधि व्यवस्थापन समितिका तर्फबाट प्रेस विज्ञप्ति मार्फत जानकारी गराउनुभएको छ । 
पार्टीको ११औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको विवरण र सङ्ख्या टुङ्गो लगाउने तथा प्रतिनिधि कार्ड वितरणको विषयमा केन्द्रित भई बसेको आजको बैठकमा समितिका अधिकाङ्स सदस्यहरूको उपस्थिति रहेको थियो । 
बैठकमा प्रतिनिधि चयनका लागि केन्द्रबाट जारी गरिएको परिपत्रका आधारमा प्रतिनिधि छनौट सम्पन्न गरिएको र समस्या देखिएका स्थानहरूमा विभागका सदस्यहरूबाट आवश्यक सहजीकरण गरिएको बैठकमा जानकारी गराइएको थियो ।