detail-img

महत्वपूर्ण निर्णय गर्दै ६१औं केन्द्रीय सचिवालय बैठक सम्पन्न 

-नयाँ नेतृत्व चयन दोस्रो विधान महाधिवेशनबाट पारित विधान बमोजिम, बन्दसत्रको अध्यक्षमण्डल सिङ्गो सचिवालय, १०८ जना प्रतिनिधि मनोनीत
-नेपाल सरकार र जेनजीका प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताप्रति गम्भीर आपत्ति, सम्झौता सरकारको कार्यादेश र संविधान विपरीत भएको ठहर


२६ मङ्सिर (२०८२), काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा पार्टीको नयाँ नेतृत्व चयन गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा हुने भएको छ । 
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी कार्यालय च्यासलमा बसेको ६१औं केन्द्रीय सचिवालय बैठकबाट विधान महाधिवेशनको सर्वोच्चतालाई स्वीकार गर्दै यो राष्ट्रिय महाधिवेशनमा १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी रहने गरी नयाँ नेतृत्व चयन गर्ने निर्णय गरिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 
उहाँका अनुसार महाधिवेशनको बन्दसत्रमा विगतको भन्दा फरक अभ्यासका रूपमा हालको सिङ्गो सचिवालय नै अध्यक्षमण्डलका रूपमा रहने निर्णय गरिएको छ । 
बैठकले निर्वाचित र पदेनसहित कुल प्रतिनिधिहरूको पाँच प्रतिशत हुन आउने १०८ सदस्य प्रतिनिधि मनोनयन पनि गरेको छ । उक्त नामावली मङ्सिर २७ गते सार्वजनिक हुनेछ । यसअनुसार कुल प्रतिनिधि २२६२ हुनेछन् । 
बैठकले महाधिवेशनबाट पारित गर्नुपर्ने विशेष प्रस्तावका लागि उपमहासचिव ज्ञवालीको संयोजकत्व र माइन्युटटिङका  लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरेको छ । 
सचिवालय बैठकले हालै नेपाल सरकार र जेनजीका प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताप्रति गम्भीर आपत्ति जनाउँदै सम्झौता सरकारको कार्यादेश र संविधान विपरीत भएको ठहर गरेको छ । न्यायिक निरुपण भइरहेका विषयमा समेत त्यसलाई प्रभावित पार्ने र राज्यको आर्थिक भार बढाउने गरी सम्झौता भएको एमालेको निष्कर्ष रहेको छ ।