२३ पुस (२०८२), काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)बाट आठ जनाले उम्मेदवारी दिनुभएको छ ।
१८ जना राष्ट्रिय सभा सदस्यका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी दर्ता गराउने कार्यतालिका थियो ।
सोही बमोजिम पार्टीले नेपाली कांग्रेससँगको सहमतिमा सात प्रदेशमा आठ जनाको उम्मेदवारी दर्ता गराएको हो ।
एमालेबाट कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशमा रेखा झा, बाग्मतीमा प्रेम दंगाल, गण्डकी प्रदेशमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीले उम्मेदवारी दिनुभएको छ ।
लुम्बिनीमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनुभएकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय सभालाई प्रभावकारी बनाउने र संविधान स्थापित गर्ने काममा आफ्नो भूमिका रहने बताउनुभयो । साथै, उहाँले पार्टीको विचार, सिद्धान्त र कार्यक्रम अनुसार काम गर्नुपर्ने भन्दै पार्टीले दिएको जिम्मेवारलाई प्रभावकारीरूपमा निर्वाह गर्ने बताउनुभयो ।