१८ फागुन (२०८२), दमक । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले देशलाई मियो बिनाको दाइँ हुनबाट रोक्न नेकपा (एमाले)को जित आवश्यक रहेको बताउनुभएको छ ।
झापा– ५ को दमकमा आज प्रेस चौतारी नेपालले गरेको पत्रकार भेटघाटमा उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विकसित चुनौतीहरूको सामना गर्न सक्ने राजनीतिक शक्तिले आगामी निर्वाचन जित्न जरूरी रहेको उहाँले जनाउनुभयो ।
चुनावको मैदानमा देखिएका कतिपय उम्मेदवारका कारण देशमा झनै अस्थिरता निम्त्याउन खोजिएको देखिएको भन्दै उहाँले त्यस्ता पात्रहरूका कारण देश मियो बिनाको देश हुने जोखिम रहेकाले त्यो अवस्था आउन नदिन एमाले र अध्यक्ष केपी शर्मा ओलीको जित जरूरी रहेको बताउनुभयो ।
देशलाई जुवाको अखडा बनाउन खोज्ने केही उम्मेदवार र दल पनि चुनावमा देखियो भन्दै उपमहासचिव भट्टराईले उनीहरूमा जिते छाती पिट्ने र हारे निराश हुने बाहेक कुनै उद्देश्य नरहेको बताउनुभयो ।
जेनजी आन्दोलनको क्षतिको दोष जबर्जस्ती एमालेतर्फ थोपर्न खोजिएको भन्दै उहाँले उक्त आन्दोलनमा देश ध्वस्त बनाउने कार्यमा संलग्नहरू चुनावमा कुन नैतिकताले उम्मेदवार बनेका छन् भनेर प्रश्न पनि गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले अघिल्लो निर्वाचनको जस्तै फराकिलो अन्तरले झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीको जित हुने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीलाई झापा–५ ले निरन्तर उम्मेदवार पाउनु यस क्षेत्रका मतदाताको लागि अवसर समेत भएको उहाँले बताउनुभयो ।
झापा– ५ मा निर्वाचन प्रचार उपसमिति संयोजक तथा पार्टी केन्द्रीय सदस्य इन्द्र भण्डारीले जनपरिचालन र मतदाताको सक्रियताले एमालेको जित सुनिश्चित गरेको बताउनुभयो ।