detail-img

महासचिव पोखरेललाई समर्थन गर्दै पाण्डेद्वारा उम्मेदवारी निष्क्रिय

१८ फागुन (२०८२), दाङ । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पदमप्रसाद पाण्डेले आफ्नो उम्मेदवारी निष्क्रिय पार्नुभएको छ । 
आज प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेले नेकपा (एमाले)का महासचिव तथा त्यस क्षेत्रका उम्मेदवार शंकर पोखरेललाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेको घोषणा गर्नुभएको छ । 
जारी गरिएको प्रेस विज्ञप्तिमा वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रहित, दाङको दीर्घकालीन विकास र समृद्धिलाई प्राथमिकतामा राखेर उक्त निर्णय गरेको उल्लेख छ । 
विज्ञप्तिमा दाङको विकासका लागि स्पष्ट दृष्टिकोण, अनुभव र राष्ट्रिय स्तरमा प्रभाव पार्नसक्ने नेतृत्व आवश्यक रहेको र एमाले महासचिव पोखरेल त्यस्तो नेतृत्व क्षमता भएको व्यक्तित्व भएको उल्लेख गरिएको छ । 
विज्ञप्ति अनुसार महासचिव पोखरेलको विजयले दाङका अधुरा पूर्वाधार योजना, औद्योगिक विस्तार, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रको स्तरोन्नति र समृद्धिका दीर्घकालीन एजेण्डालाई गति दिने विश्वास व्यक्त गरिएको छ । साथै, आफूले अघि सारेका विकासका प्राथमिकताहरू पनि महासचिव पोखरेलको नेतृत्वमा मूर्तरूप लिनेमा विश्वस्त रहेको जनाइएको छ ।
पाण्डेले समर्थन घोषणा गर्दै सम्बन्धित उम्मेदवारले आफ्ना इष्टमित्र, शुभेच्छुक तथा समर्थकहरूलाई आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी एमाले महासचिव पोखरेललाई अत्यधिक मतले विजयी गराउन अपिल गर्नुभएको छ । 

५० भन्दा बढी कार्यकर्ता समाहित
यसैबीच, प्रतिनिधि सभा निर्वाचनअन्तर्गत आज राति १२ बजेदेखि मौनअवधि सुरु हुँदै गर्दा दाङ क्षेत्र नम्बर २ मा नेकपा (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ । मौनअवधि लागू हुनुअघि मात्रै ५० भन्दा बढी स्थानीय कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
एमालेकी नेतृ  सुजिता शाक्यले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै टीका तथा खादा लगाएर औपचारिक रूपमा प्रवेश गराउनुभयो ।