detail-img

अध्यक्षको आह्वान–‘समाजवादी यात्रामा लाग्ने हो भने एमालेमा आउनुुस्’ 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी र माओवादी केन्द्रका नेता कार्यकर्तालाई एमालेमा आउन आग्रह गर्नुभएको छ । 
नेपाली काँग्रेसको पछाडि लागेर समाजवादतर्फको यात्रामा अगाडि नबढिने हुुँदा सबै कम्युनिष्ट कार्यकर्ता एमालेमा आउनुपर्ने विचार व्यक्त गर्नुभयो । 
‘नेपालको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने काँग्रेसरूपी बन्चरोको बीँड बनिरहेका प्रचण्ड र माधव नेपाललाई अझ पनि नचिन्ने ?’ तिनका कार्यकर्तालाई प्रश्न गर्दै अध्यक्ष ओलीले माधव र प्रचण्ड बाहेकका कम्युनिष्ट नेता\कार्यकर्तालाई एमालेमा समाहित हुन आग्रह गर्नुभएको हो । 
नेकपा (एमाले) को जनसंगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यालय उद्घाटन तथा प्रथम बैठकलाई आइतबार ललितपुरको च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन सिध्याउन हिडेकाहरूको पछाडि नलाग्न सुझाउनुभयो । 
‘काँग्रेस, काँग्रेसका रूपमा रहेन, माओवादी माओवादीका रूपमा रहेन,’ अध्यक्षले भन्नुभयो– काँग्रेससँग मिलेर समाजवादको आधार तयार हुन्छ ? काँग्रेसकै पछाडि लाग्ने हो भने समाजवाद हाम्रो नीति हो भन्न छोड्नुपर्यो । समाजवाद नीति हो भने गठबन्धन छोड्नुपर्यो ।’ 
माओवादी कार्यकर्तालाई लक्षित गर्दै अध्यक्ष ओलीले भन्नुभयो–‘काँग्रेसको आशिर्वादमा आफू दोस्रो बन्ने उद्देश्य राख्नेहरू कता हिंड्दैछन् देख्नुभएको छैन, समाजवादको शाब्दिक लफ्फाजी नगरे हुन्छ, समाजवाद नीति हो भने आउनुस् एमालेमा, समाजवादतर्फको यात्रा शुरू गरौं, समाजवादतर्फको याात्राका लागि आधार तयार गरौं ।’
त्यस्तै, एकीकृत समाजवादीमा लागेका नेता कार्यकर्तालाई लक्षित गर्दै अध्यक्षले भन्नुभयो– काँग्रेसका पछि लागेर समाजवाद आउँछ भने एकीकृत समाजवादी हैन काँग्रेसमा लागियो भन्नुस्, हैन भने आउनुस् आफ्नै पार्टी एमालेमा फर्कनुस् । माधव कता हिंड्दैछन् देख्नुभएको छैन, यति हुँदा पनि आँखा खुलेन ?’
सत्ता गठबन्धनमा रहेका दलहरूको अस्तित्व सङ्कटमा पर्दै गएपछि उनीहरू एमालेलाई कमजोर नबनाएसम्म भविष्य छैन भन्ने निष्कर्षमा पुगेको चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘अस्तित्व डुब्न लागेकाहरू एउटाले अर्कोलाई, अर्कोले अर्कोलाई समातेर अठ्ठिएका छन्, गठबन्धन बनाउनु उनीहरूका नसीबको अनिवार्य शर्त हो ।’ 
‘चुनाव गराउँदा प्रतिगमन हुन्छ भन्नेहरू एक्लै चुनावमा जाने हिम्मत राख्दै राख्दैनन्, काँग्रेसबाट निर्देशित पार्टी भएको छ गठबन्धन,’ उहाँले भन्नुभयो– ‘सबै किराना पसलवालाहरू सटर बन्द होला भन्ने डरले एउटा नक्कली सरदार खडा गरी परमादेशबाट सत्तामा पुगेका छन्, खानेबाहेक यिनको कुनै गन्तव्य छैन ।’ 
परमादेशी गठबन्धनले राज्यका हरेक क्षेत्रमा बर्बादी पारिरहेको वताउँदै अध्यक्ष ओलीले अलच्छिनाहा गठबन्धनका कारण देशको सह गएको विचार व्यक्त गर्नुभयो । 
‘आगामी निर्वाचनबाट जनमत पायो भने देश के होला ?’ अध्यक्ष ओलीले भन्नुभयो– ‘यिनको नीति विधि, इमान जमान, नैतिकता केही पनि छैन, निर्वाचनमा यिनले जे पनि गर्नसक्छन्, राज्यको स्रोतसाधनको दुरूपयोग गर्छन्, मतदातालाई शान्तिपूर्ण वातावरणमा भोट हाल्न दिने छैनन्, निष्पक्ष, स्वतन्त्र निर्वाचन हुन दिने छैनन् ।’
‘त्यसकारण निर्वाचनमा जनताको मत रक्षाका लागि तपाईंहरू ( भूतपूर्व सैनिक तथा प्रहरी), युवा संघ लगायतका जनसंगठनहरू संगठित र योजनाबद्ध ढङ्गले लाग्नुपर्छ । राज्य शक्तिको दुरूपयोग गरेर जनताको मताधिकार लुट्न पाइँदैन भनेर गठबन्धनलाई मैदानमा दृढतापूर्वक उभिएर भन्नुपर्छ ।’
अध्यक्ष ओलीले नेपाली काँग्रेसले बहुदल आएयता २१ बर्ष सरकार चलाउँदा एउटा राम्रो काम नगरेको र एमालेले तीनबर्षमा देश विकासका हरेक क्षेत्रमा हेर्न लायक काम गरेको चर्चा गर्दै एमालेले मात्र देश विकास गर्नसक्छ, देश दुर्घटनाबाट जोगाउनसक्छ भन्ने कुरा जनतामा लैजानुपर्ने र निर्वाचनमा एमालेलाई भोट किन भन्ने कुरा जनतालाई सम्झाउनुपर्ने वताउनुभयो ।