detail-img

ऐतिहासिक चुनौती पार गर्न एकताबद्ध भएर अघि बढ्ने सङ्कल्प गरौंः अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवस
९ वैशाख (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान चुनौतीहरूलाई पार लगाउन पार्टी एकता अपरिहार्य रहेको बताउनुभएको छ । 
नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा शुभकामना सन्देश पठाउँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।  
अध्यक्ष ओली स्वास्थ्यका कारण कार्यक्रममा सहभागी हुन नसक्नुभएपछि कार्यक्रमको अध्यक्षता गर्नुभएका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अध्यक्ष ओलीले पठाउनुभएको शुभकामना सन्देश वाचन गरेर सुनाउनुभएको थियो । 
अध्यक्ष ओलीले पठाएको सन्देशमा दशकौँ लामो आन्दोलनको विरासत बोकेको एमालेले जबजलाई अङ्गिकार गर्दै समृद्ध नेपाल बनाउने गन्तव्य तयार गरेको उल्लेख छ । 
‘पार्टीको नेतृत्वमा भएको विभिन्न आन्दोलनले उपलब्धि पनि हासिल गरेको छ । तर पटक–पटक पीडा पनि व्यहोरेको छ । निरङ्कुशताको अन्त्य र गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका खेल्यो पार्टीले’, अध्यक्ष ओलीले पठाएको सन्देश सुनाउँदै उपाध्यक्ष बादलले भन्नुभयो– नेकपा (एमाले) अनेकौं प्रतिकूलता झेलेर यहाँ आएको हो । एकताबद्ध भएर गौरवशाली र ऐतिहासिक चुनौती पार गर्नुपर्नेछ ।
त्यस्तै, अध्यक्ष ओलीले आजको समयका चुनौती चिर्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने र त्यसका लागि सबैले सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ । 

पार्टीभित्र एकता, रूपान्तरण र नयाँ सङ्कल्प आवश्यकः उपाध्यक्ष थापा
उपाध्यक्ष थापाले नेपालको कम्युनिष्ट आन्दोलनमा नेकपा (एमाले)को भूमिका इतिहासदेखि वर्तमानसम्म गौरवपूर्ण रहेको बताउनुभयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनको मूलधारका रूपमा रहेको एमालेले महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो । उहाँले विगत ७७ वर्षमा नेपालका कम्युनिष्टहरूले विभिन्न ऐतिहासिक मोडहरूमा निर्णायक भूमिका खेलेको स्मरण गर्नुभयो । २००७ सालको लोकतान्त्रिक क्रान्ति, २०४७ सालको लोकतन्त्र पुनस्र्थापना तथा जनआन्दोलन २०६२–६३ मार्फत स्थापित गणतन्त्रमा कम्युनिष्ट आन्दोलनको योगदान महत्त्वपूर्ण रहेको उपाध्यक्ष थापाले बताउनुभयो ।
पार्टी स्थापना दिवसलाई उत्सवका रूपमा मात्र नभई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्नेमा जोड दिँदै उहाँले पार्टीभित्र एकता, रूपान्तरण र नयाँ सङ्कल्प आवश्यक रहेको बताउनुभयो ।
वर्तमान अवस्थामा समाजवादी आन्दोलनले गम्भीर धक्का खाएको स्वीकार गर्दै उहाँले पराजयका कारणहरूको समीक्षा भइरहेको जानकारी दिनुभयो । 
उपाध्यक्ष थापाले भन्नुभयो– आजको दिन नेपालका कम्युनिष्टहरूले आत्मसमीक्षा गरेर अघि बढ्ने दिन पनि हो । समाजवादको विजयका निम्ति हामीले आन्तरिक र बाह्य रूपमा दक्षिणपन्थी प्रवृत्तिलाई परास्त गर्न जरुरी छ, साथै सांगठनिक रूपमा अराजकतावादलाई पनि परास्त गर्न आवश्यक छ । यी प्रवृत्तिहरूलाई परास्त गरेर मात्रै समाजवाद विजयी हुन सक्छ ।
उहाँले नेकपा (एमाले) सबै प्रकारका प्रतिकूलता पार गर्दै वर्तमान अवस्थामा आइपुगेको उल्लेख गर्दै अब ती चुनौतीहरू सामना गर्न पार्टी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
साथै, देशको दुईतिहाइ जनमत अझै पनि कम्युनिष्ट आन्दोलनकै पक्षमा रहेको र त्यसको मूलधार एमाले नै भएको भनाइ उहाँले राख्नुभयो । 

पार्टीलाई सुदृढ तुल्याउँदै पुनर्गठित गर्नेछौँः उपाध्यक्ष पौडेल
यसैगरी, अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत निर्वाचनमा पार्र्टीले खाएको धक्का र हार चानचुने नभएको बताउनुभयो । चुनावपछि पार्टीमा चिन्ता र निराशा देखिएपनि पार्टी पुनर्गठन गरेर फेरि पनि एमाले जनतामाझ स्थापित हुने बताउनुभयो ।  
‘चुनावमा हामी पराजित भएका छौँ, अब धुलो टकटक्याएर उठ्न सक्छौं कि सक्दैनौ ?’ उपाध्यक्ष पौडेलले भन्नुभयो– म आत्मविश्वासका साथ भन्छु हामी यो आन्दोलन नयाँ ढङ्गले उठाउने छौँ र पार्टीलाई सुदृढ तुल्याउँदै पुनर्गठित गर्नेछौँ । उपाध्यक्ष पौडेलले चुनावमा खाएको धक्का चानचुने नभएको भन्दै तर यो धक्काबाट पाठ सिकेर अगाडि बढ्न सकिने बताउनुभयो । 
‘त्यसका लागि अब हामी दुई वटा काम गर्नेछौँ । पहिलो पार्टीको आन्तरिक एकतालाई कमजोर हुन दिनेछैनौँ । दोस्रो हाम्रो यात्राको गम्भीर समीक्षा गर्नेछौं’, उपाध्यक्ष पौडेलले भन्नुभयो– २०७२ देखि २०८२ को समीक्षा गर्दा यही बीचमा झण्डै दुईतिहाइ बहुमतको सरकार बनाएका छौं । तर अहिले किन धक्का र असफलता खायौं, यसको बाह्य, आन्तरिक र पार्टीका कमजोरीको समीक्षा गर्नेछौँ । उहाँले सरकार सञ्चालनको आधार पूर्वाग्रह र प्रतिशोध हुन नसक्ने बताउँदै सरकारलाई त्यसरी अगाडि नबढ्न चेतावती पनि दिनुभयो । 

भदौ २३ र २४ को प्रतिगामी घटनाबारे जनतालाई बुझाउन नसक्दा निर्वाचनमा धक्काः महासचिव पोखरेल
कार्यक्रममा महासचिव शङ्कर पोखरेलले फागुन २१ को निर्वाचनमा आफ्नो पार्टीले गत भदौ २३ र २४ का प्रतिगामी घटनाबारे जनतालाई बुझाउन नसक्नु कमजोरी भएको बताउनुभयो । उहाँले प्रतिगामी घटनाबारे जनतालाई बुझाउन नसक्दा निर्वाचनमा धक्का खान परेको धारणा राख्नुभयो । 
महासचिव पोखरेलले भदौ २३ र २४ को घटनाले नेपालको कम्युनिस्ट आन्दोलनमात्र होइन, लोकतान्त्रिक आन्दोलन, संविधान र नेपालको सम्प्रभुतामाथि नै गम्भीर चुनौतीहरू खडा गरेकोको तर यस सच्चाइलाई एमालेबाहेक कसैले आत्मसात् गर्न नसकेको उल्लेख गर्दै भदौ २३ र २४ को दोस्रो भाग फागुन २१ को चुनाव भएको बताउनुभयो । 
देशभक्त र प्रगतिशील सत्ताका विरुद्ध गोयवल्स शैलीबाट भ्रम सिर्जना गर्दै लोकप्रियतावाद र अराजकतावाद फैलाउने प्रयासहरू हुँदै आएको भन्दै कार्की आयोगको प्रतिवेदनका आधारमा पार्टी अध्यक्षलाई गैर कानुनी गिरफ्तार गरे पनि मुद्दा चलाउने आधार र प्रमाण नहुनुबाटै भदौ २३ गते षडयन्त्र भएको थियो भनेर बुझ्न सकिने उहाँले बताउनुभयो ।  
महासचिव पोखरेलले भन्नुभयो– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा षड्यन्त्र थियो र त्यही षड्यन्त्रको जगमा २४ गते विध्वंस मच्चाइयो भन्ने हाम्रो पार्टीको मान्यतालाई हामीले जनताकाबीच स्थापित गर्न नसक्दा नै आजको यो परिणाम बेहोरेका छौं । 
पार्टीले जनाआदेशलाई सम्मान गरेको र निर्वाचनमा सफलता हासिल गरेकाहरूलाई जनभावना र जनाआदेशका आधारमा काम गर्न शुभकामना पनि दिएको बताउँदै एमालेका नेता तथा कार्यकर्ताको सम्पत्ति जाँच गर्न र हाल सरकारमा रहेका नेताहरूको सम्पत्तिको पनि छानबिन गर्नुपर्ने धारणा राख्नुभयो । 
कार्यक्रममा पार्टीका उपाध्यक्षहरू पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिवहरू लेखराज भट्ट, रघुबीर महासेठ, योगेश भट्टराई, सचिवहरू, आयोगका अध्यक्षहरू, पार्टीका पूर्व बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेताहरू अमृतकुमार बोहोरा, केशव बडाल लगायत केन्द्रीय कमिटीका नेताहरू र ठुलो सङ्ख्यामा कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन सचिव पद्मा अर्यालले गर्नुभएको थियो । नेकपा (एमाले)ले पार्टीको स्थापना दिवस देशभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाएको छ ।