एमाले आज

अहिले देशमा स्वेच्छाचारी शासन चलिरहेको छ 

सेयर गर्नुहोस्

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भेलाको उद्घाटन तथा बन्दसत्रमा गर्नुभएको सम्बोधन

आज नेकपा (एमाले)को राष्ट्रिय भेलाको आयोजना भइरहेको छ र हामी उद्घाटन समारोहमा छौँ । यो भेला यस्तो परिस्थितिमा भइरहेको छ, देशले केही खोजिरहेको छ, देशमा नराम्रो कुरा भएको छ। विगतमा देशले अनेक प्रकारका उतार चढाव भोग्यो होला । खासगरी यसप्रकारको अनधिकृत, हिंसात्मक, आतङ्ककारी, अलोकतान्त्रिक तरिकाबाट सत्ता उलटफेर गर्ने, आगजनी, लुटपाट र तोडफोडबाट लोकतन्त्र मास्ने, संविधान मिच्ने र त्यसपछि ती क्रियाकलापहरूलाई मान्यता दिने खालका कामहरू नेपालको इतिहासमै भएका थिएनन्, गतवर्ष त्यसप्रकारका क्रियाकलाप भए र त्यसलाई मान्यता दिनका लागि एउटा संवैधानिक बाटो निर्वाचनको मञ्चन पनि गरियो ।

अहिले देश राजनीतिक रूपमा एउटा आतङ्कको छायाँमुनि, भय र त्रासको वातावरणमुनि, असंवैधानिक गैरकानुनी क्रियाकलापहरूको पेलाइमा, स्वेच्छाचारी शासनको अन्तर्गत चलिरहेको छ । फासिवादतर्फ दमनकारी प्रतिशोधी व्यवहार अगाडि बढिरहेको छ ।

आर्थिक हिसाबले देश लगातार अधोगतितर्फ गइरहेको छ । सामाजिक हिसाबले सामाजिक मूल्य मान्यता खस्किरहेका छन् । समाज अत्यन्तै उल्टो बाटोतिर धकेलिँदै गएको छ  । सांस्कृतिक हिसाबले हाम्रो भाषामाथि, संस्कृतिमाथि, सभ्यतामाथि चर्को हमला भइरहेको छ । जनताप्रति अनुत्तरदायी सरकार छ । खर्बौँ पैसा जम्मा भएको छ । त्यो खर्बौँ पैसा थान्को लागेर बसेको छ । पीडितहरू दुःखमा पिल्सिरहेका छन् । त्यो पैसाको पनि प्रयोग भएको छैन । यति समय भइसक्यो, केही पनि भएको छैन । केही गर्न सकिन्थ्यो । सरकार परिचालन हुँदा, सरकारले काम गर्दा गर्न सकिन्थ्यो । केही पनि भएको छैन, अथवा जनताप्रति उत्तरदायित्व छैन । शिक्षा बिग्रिँदो छ । स्वास्थ्य स्थितिमा सुधार भइरहेको छैन । अस्पतालबाट बाहिर निकालेर सडकमा प्रसव वेदना सहँदै शिशुलाई जन्म दिनुपर्ने अवस्थामा महिलाहरू गुज्रिनु परेको छ । अर्थात् वर्णन गरेर साध्य छैन, एउटा पक्षमा होइन सर्वत्र पक्षमा ।

अब जनता उठ्नै पर्छ

गत वर्ष असंवैधानिक ढङ्गले सरकार विस्थापित गरिएपछि अनधिकृत सिफारिसमा, गर्नै नपाउने व्यक्तिको सिफारिसमा, मन्त्रिपरिषद्को सिफारिसमा होइन, व्यक्तिको सिफारिसमा प्रतिनिधिसभा विघटनको असंवैधानिक क्रियाकलाप भयो । असंवैधानिक ढङ्गले प्रतिनिधिसभा विघटन भयो । हामीले असंवैधानिक भयो भन्यौँ । जहिले पनि प्रतिनिधिसभा सम्बन्धी विघटनका मुद्दाहरू अनुकूलता अनुसार सम्मानित अदालतबाट फैसला हुने गरेको त छँदै थियो । तर पनि सम्मानित अदालतबाट हुने गरेका फैसलाहरूलाई हामीले मानिआएकै हौँ । तर यसपल्ट यति असंवैधानिक ढङ्गले भएको विघटन तत्सम्बन्धी मुद्दा आनन्दले राखेर सम्मानित अदालत, मानिलिऊँ देशमा केही भएकै छैन, संविधान मिचिएकै छैन जस्तो, प्रतिनिधिसभाको विघटन असंवैधानिक हुँदै होइन जस्तो, त्यस ढङ्गले चुपचाप लागेर बस्ने काम भयो अदालतबाट  । यसरी मुद्दा अहिलेसम्म पनि अदालतमा छँदै छ । अर्थात् राज्यका अङ्गहरू, राज्यका निकायहरू आफ्नो कर्तव्य पालना गर्न, आफ्नो काम गर्न सक्ने अवस्थामा छैनन् । कारण के हो त्यो मैले भनिरहनुपरेन, उहाँहरूलाई पनि थाहा छ, अरूलाई पनि थाहा छ । यस प्रकारको स्थिति छ । यस्तो स्थितिबाट देशलाई लोकतान्त्रिक मार्गमा फर्काउन, देशको अस्मिता, स्वतन्त्रता, स्वाधीनता, स्वाभिमान र सम्मानको रक्षा गर्न आवश्यक छ । त्यसका लागि नेपाली जनता अगाडि बढ्नुपर्ने परिस्थिति आइसकेको छ ।

नेपाली जनतालाई धोका दिएर, झुक्याएर, छलेर, जेन्जी विद्रोह भन्ने बहाना बनाएर, अलिकति विद्यार्थीहरूलाई धोका दिएर सडकमा निकालेर, तालिम प्राप्त अपराधी तत्वहरूको परिचालन गरेर देशमा वितण्डा मच्चाउने काम भयो । त्यसपछिका कुराहरू मैले भनिरहनुपरेन । प्रधानमन्त्री आफ्नो सेड्युल नभएका बेला, आउने बेलामा संसदमा नआउने । जतिबेला संसदमा आउनुपर्ने परिस्थिति छैन, अवस्था होइन, कार्यक्रम थिएन  । प्रधानमन्त्री बोल्ने कुरा कार्यक्रममा राखिएको हुन्छ । प्रधानमन्त्रीले हात उठाएर पनि बोल्न पाउँछ, तर हात उठाएर बोल्दैन, सभामुखलाई भनेर पहिले सूचना दिएर बोलेको हुन्छ । प्रधानमन्त्रीले हात उठाएर, के भयो प्रधानमन्त्री भनेपछि म बोल्छु । त्यसपछि देखिन्छ योजनाबद्ध ढङ्गले नेपाल जस्तो सानो देशले, कमजोर देशले ठूलो बलियो देशको सिमा मिचेको छ धेरै ठाउँमा भन्ने खालका अभिव्यक्ति दिएर, त्यो अभिव्यक्ति सच्याउन पनि नमान्ने । ल कतै चिप्लिएछ बोली भन्ने हो भने सच्याउन मानिएन, अथवा यो जानीजानी बोलेको हो । संसदको रेकर्डबाट हटाइयोस् भन्दा हटाइएन । कि सभामुखले यस-यस हिसाबले यो सही कुरा हो भन्नुपर्थ्यो । यो सही कुरा बोल्या छ, रेकर्डबाट हटाउन मिल्दैन भन्नुपर्थ्यो । नभन्ने, भन्न नसक्ने तर रेकर्डमा राख्ने, रेकर्डबाट नहटाउने । यो कहिलेका लागि के प्रमाण राख्न खोजेको हो? त्यसकारण यस्ता कुराहरूप्रति नेपाली जनता सजग हुनुपर्ने अवस्था आएको छ । जुन-जुन शक्तिहरू र आम नेपाली जनता राष्ट्रियताको पक्षमा छ, राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको पक्षमा छ, भौगोलिक अखण्डताको पक्षमा छ, त्यो नेपाली जनता अब उठ्नुपर्ने अवस्था बनेको छ । उठ्नै पर्छ नेपाली जनता ।

संविधान संशोधन हुन सक्छ तर संविधान संशोधन एउटा कुरा हो, संविधान मिच्नु र नमान्नु, संविधान अस्वीकार गर्नु अर्को कुरा हो । संविधान मिच्ने काम भएको छ । त्यो मिच्ने कुरालाई नजिर बन्न नदिन नेपाली जनताले बनाएको पहिलो संविधान, जननिर्वाचित संविधानसभाबाट बनाएको पहिलो संविधान, त्यस संविधानलाई मिचेर राज्यका तीनवटै अङ्गमाथि हमला गरेर भवन जलाइयो । सर्वोच्च जनप्रतिनिधि संस्था संसद भवन जलाइयो । कार्यपालिकाको प्रमुख सचिवालय, प्रमुख कार्यपालिका भवन सिंहदरबार जलाइयो । न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालत जलाइयो । अरू विभिन्न जनप्रतिनिधि संस्थाहरू, राजनीतिक संस्थाहरू जलाइए । प्रदेशसभाका भवनहरू जलाइए । राजनीतिक दलका कार्यालयहरू जलाइए । राजनीतिक दलका नेताका घरहरू जलाइए । सम्पत्ति लुटियो । अर्थतन्त्रमाथि हमला गरियो, उद्योग व्यापारी व्यवसायीहरूका कारोबारहरू जलाइए, लुटिए ।

७६ जनाको ज्यान गयो भन्छन् । ७६ जनाको ज्यान कहाँबाट गयो, कसले हरण गर्‍यो त्यो ज्यान ? गोली कसले चलायो ? आयोगहरू बने । गोली चल्यो अनि कारबाही तत्कालीन प्रधानमन्त्री गृहमन्त्रीलाई कारबाही गर्नुपर्छ भन्ने । अझ बढ्ताबढ्ता मानव अधिकार आयोगले त... अझ एउटा विदेशी संस्थाले नेपालमा कारोबार गर्दा नेपालको संविधान मान्दिन, कानुन मान्दिन, केही पनि मान्दिन भनेर धम्की दियो । अपमान गर्‍यो देशको, राष्ट्रको अपमान गर्‍यो । सरकारले नियमन गर्न खोज्यो । तत्कालीन सञ्चारमन्त्रीलाई वातावरण भड्काएको, मान्छे भड्काएको भने, विदेशी संस्थाले यहाँ व्यापार गर्दा, बिजनेस गर्दा नियम मानेर बस्नुपर्छ, संविधान मानेर बस्नुपर्छ भन्दा त्यो भड्काएको भयो । अनि कारबाहीको सिफारिस । यो भन्दा आश्चर्यजनक कुरा के हुन्छ ? तर यो कुराहरू भयो ।

तसर्थ यी कुराहरूबाट, यस दिशामा देशलाई जसरी अगाडि बढाइँदै गएको छ, यसलाई नेपाली जनताले रोक्नुपर्ने छ । त्यो रोक्न त्यस विरुद्धमा भएका राजनीतिक दलहरू  एक ठाउँमा भएर अगाडि बढ्नुपर्ने छ । आज किन यो राष्ट्रिय भेला यहाँ आयोजना गरिएको छ भन्दा यी महत्त्वपूर्ण कामको जिम्मा सबभन्दा बढी नेकपा (एमाले) काँधमा छ । नेकपा (एमाले)ले आन्दोलनकारी ढङ्गले अगाडि बढ्नुपर्दछ । कायर होइन नेकपा (एमाले), देशका लागि लडेर आएको, बलिदान दिएर आएको, सङ्घर्ष गरेको, जेलनेल खटेको पार्टी हो ।

हामीसँग लामो समयको आन्दोलनको इतिहास बोकेका नेताहरू आज यस मञ्चको अघिल्लो भागमा हुनुहुन्छ । सिङ्गो नेपालको झन्डैझन्डै लामो समय मात्रै होइन, सिङ्गै आधुनिक नेपालको, अहिलेको नेपालको राजनीतिक आन्दोलनको सम्पूर्ण साक्षी, सम्पूर्ण सहभागिता भएका साथीहरू यहाँ हुनुहुन्छ । वाचस्पति देवकोटा, मोहनचन्द्र अधिकारी जस्ता पुराना साथीहरू र उहाँभन्दा पनि पुराना विजयलालजी(पुष्पलालका भाइ) जस्ता साथीहरू आज यहाँ हुनुहुन्छ । यसको अर्थ हो- हामी हाम्रो गौरवपूर्ण पुरानो इतिहास, आजको वर्तमानको तितो यथार्थ र हाम्रो उज्यालो भविष्यको सम्भावना, यो तीनवटै चिजलाई यहाँ प्रतिबिम्बित गराइरहेका छौँ । आज यस उद्घाटन सत्रमा भर्खरका युवाहरूदेखि लिएर ९२/९३ वर्षका ज्येष्ठ भइसकेका कमरेडहरू पनि हुनुहुन्छ ।

यो सबै कामको नेतृत्व, यो सबै कामको संयोजन, यस कामको नीति निर्माण, यसको योजना नेकपा एमालेले बनाउनुपर्दछ । एउटा कारण, संक्षिप्तमा भन्दा नेकपा एमाले यो राष्ट्रिय भेलाको आयोजना गरिरहेको छ ।  अन्तर्राष्ट्रिय सम्बन्ध असन्तुलित, लम्पसारवादी ढङ्गले चलेको छ । राष्ट्रिय गौरव थिलथिलो भएको छ । यसलाई पुनर्जागृत गराउनु छ । यसर्थ नेकपा एमाले अग्रसर हुनु जरुरी छ ।

लोकतन्त्रका लागि यस पार्टीले धेरै ठूलो योगदान गरेको छ, धेरै बलिदान गरेको छ । तानाशाहीका विरुद्ध लड्दा धेरै बलिदान गरेको छ, जेलनेल खटेको छ । मभन्दा बढी जेल सजाय भोगेका साथीहरू पनि हुनुहुन्छ, मभन्दा पुरानो इतिहास भोगेका साथीहरू हुनुहुन्छ । मेरै ६० वर्षभन्दा बढीको काम गरेको इतिहास भइसक्यो । अझ त्योभन्दा बढी लामो समयदेखि काम गरेका साथीहरू हुनुहुन्छ । त्यसो भएर हामी एउटा सङ्कल्प बोकेका छौं  । यो भेला एउटा सङ्कल्पको भेला हो । एउटा प्रतिबद्धता, एउटा सङ्कल्प, त्यसका लागिको भेला हो ।

समृद्ध नेपाल सुखी नेपाली बनाउने हाम्रो आकाङ्क्षा, यो राष्ट्रिय आकाङ्क्षालाई हामीले बनाएको सङ्कल्प, यो सङ्कल्प हामीले परित्याग गरेका छैनौँ, परित्याग गर्ने पनि छैनौँ, परित्याग गर्नुपर्ने आवश्यकता पनि छैन । यो बिल्कुल सही छ । नेपाल समृद्ध हुनुपर्दछ, नेपाली जनता सुखी हुनुपर्दछ । उहिलेदेखि हाम्रा पुर्खाहरूले भनिआएको कुरा हो, सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सबै सुखी हुनुपर्दछ । आज त्यो सुखको बाटोतर्फको हाम्रो यात्रा रोकिएको छ । त्यसलाई फेरि खुला गर्नुपर्दछ । सर्वे सन्तु निरामयाः, कोही पनि डर त्रासमा बस्न नपर्ने एउटा निर्भय वातावरणमा बाँच्न पाउनुपर्ने, त्यस दिशातर्फ हामी अगाडि बढ्दै थियौँ । त्यो पनि रोकिएको छ र आज एउटा आतङ्कपूर्ण र त्रासमय... । आइजीपी हुने बित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आइजीपीको बोलाइ त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुन्दिन्छु । म शेरबहादुरलाई थुन्दिन्छु । म प्रचण्डलाई थुन्दिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा काम काम न काजका पात्र हुन् यिनका ? थुन्दिन्छु अरे ।हामी राणा शासनका विरुद्ध लडेर आएका हौँ, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौँ, निरङ्कुश राजतन्त्रका विरुद्ध लडेर आएका हौँ । अनि छमहिने जागिर खाने एउटा सिपाहीले भन्छ फलानालाई थुन्दिन्छु । ठट्टा मजाक गर्‍या हो ? तिनी जन्मिनुभन्दा अगाडिदेखि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिँडिराख्याछौँ । मजाक गर्ने हामीमाथि ? थुने हुन्छ नि त समातेर । जो आउँछ थुन्दिन्छु, जो आउँछ थुन्दिन्छु, क्या हो यो ? हामी मजाकका पात्र हौँ ?   ठट्टाजस्तो भएको छ सबैलाई । थुन्दिन्छु अरे । प्रमाण भेटे, त उनी पनि थुनिन्छन् होला नि, गलत काम गर्‍या प्रमाण भेटे । अरू पनि त थुनिन्छ होला नि । गृहमन्त्रीको देखिन्छ, फाइल खोल्दैछु पख्नुस् सब  थुनिन्छन्, एकसेएक थुनिन्छ । कसलाई भन्या हो ? अब सबै थुनिन्छन् भने  उनी र को को बाँच्छन्त नेपालमा, को को बाँकी रहन्छन् ? सबै थुनिन्छन्  भने को चाहिँ बाँकी रहन्छ ? यस्तो गैरजिम्मेवार ढङ्गका अभिव्यक्ति दिएर आतङ्कको राज, मनोवैज्ञानिक आतङ्क  । अन्त लगाऊ त्यस्ता आतङ्क अन्त फिँजाऊ, नेकपा (एमाले) यस्ता हावादारी कुराहरूबाट र यस्ताहरूबाट हल्लिनेवाला पनि छैन, वास्ता गर्नेवाला पनि छैन ।

नेकपा (एमाले) दयामाया कृपाले बाँचेको पार्टी होइन । सङ्घर्षको मैदानबाट आएर लडेर जितेर, कसैको कृपाले हामी सरकारमा गएका थिएनौँ । सरकारको नेतृत्व अरूको कृपाले होइन, जनताको कृपाले गएका हौँ । अरू कुनै प्रतिक्रियावादी शक्तिहरू, जनविरोधी शक्तिहरू, देशद्रोही शक्तिहरूका कृपा र आशीर्वाद अथवा नेपालको अहित चाहनेहरूका कृपा आशीर्वादमा नेकपा (एमाले) सरकारमा गएको होइन । फेरि नेकपा (एमाले) सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ । देश बनाउँछ नेकपा (एमाले)ले । नेकपा (एमाले)ले विकासका काम जुन अगाडि सारेको छ, ती कामहरूलाई नेकपा (एमाले)ले फेरि अगाडि बढाउँछ । समृद्ध नेपाल सुखी नेपालीको सपना देख्न छोड्दैन । झन् प्रष्ट ढङ्गले देख्छ, झन् दृढताका साथ नेकपा (एमाले) अगाडि बढ्छ ।

तसर्थ नेकपा (एमाले), कतिले अब मजाकको विषय बनाउलान्, फेसबुकमा लेख्लान् । अलिक दिन फेसबुकमा लेख्दै गर, हेर्दाहेर्दै नेकपा (एमाले), मैले पहिले पनि भनेको थिएँ एमालेलाई घेराबन्दी हालेर निष्कासन गर्दा, सरकारबाट हटाउँदाखेरि, तर त्यतिबेर संवैधानिक बाटोबाट हटाएका थिए । संवैधानिक बाटोबाटै हामी मूल गेटबाट सिंहदरबार पस्छौँ, जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेटरबाट होइन, मूल ढोकाबाट, मूल बाटोबाट एमाले सिंहदरबार पस्छ भनेर हामीले भनेका थियौँ । फेरि पस्यौँ । फेरि पनि म भन्न चाहन्छु, नेकपा (एमाले) यो देशको भविष्य हो, यो देशको राष्ट्रियताको रक्षा गर्ने रक्षक हो । यो देशको विकास गर्ने नायक हो नेकपा (एमाले) । त्यसकारण नेकपा (एमाले) त्यसैगरी अगाडि बढ्ने छ । त्यही दृढताका साथ अगाडि बढ्ने छ ।

राष्ट्रिय भेलाबाट एकता र विजयको सन्देश लिएर जाने छौं

अब अर्कोतिर हाम्रो अगाडि स्थानीय निकायको निर्वाचन आउँदै छ । स्थानीय निकायको निर्वाचनपछि प्रदेशको निर्वाचन आउँछ । त्यसपछि राष्ट्रियसभाको निर्वाचन आउँछ । त्यसपछि राष्ट्रपतिको निर्वाचन आउँछ । हामीसँग एकपछि अर्को निर्वाचनहरू आइरहेका छन् । गत वर्ष हामीले निर्वाचनमा अलिक ठूलो पराजय भोग्नुपर्‍यो । हामीले पार्टी विस्तार गरेर, पार्टी एकीकरण गरेर अनेक हिसाबले पार्टीलाई झन्डैझन्डै दुई तिहाइको नजिक पुर्‍याएका थियौँ । अहिले म त्यसको धेरै व्याख्या विश्लेषण गरिरहन चाहन्नँ । लगभग दुई तिहाइको नजिक पुर्‍याएको पार्टी विभिन्न तत्वहरूका कारणले, विभिन्न घेराबन्दीका कारणले, भित्री/बाहिरी शक्तिहरूको हाम्रा विरुद्धको हमलाको कारणले हामीले त्यसलाई टिकाउन सम्भव भएन । तर पनि हामीले आफ्नो शक्ति फेरि पनि जस्ताको तस्तै राखेर, उठाएर, लडे पनि उठेर आएका हौँ र हामीले आफ्नो शक्तिलाई सुदृढ अवस्थामा राखेका हौँ । फेरि पनि हामीले अहिले धक्का खाएका छौँ गत निर्वाचनमा । अलिक गम्भीर धक्का खाएका छौँ । हाम्रा विरुद्ध विशाल मोर्चाबन्दी मात्रै होइन, संसदीय बाटोबाट हमला मात्रै होइन, संवैधानिक बाटोबाट हमला मात्रै होइन, असंवैधानिक बाटोबाट घेराबन्दी, अलोकतान्त्रिक, असंवैधानिक, आक्रमणकारी, आतङ्ककारी हमलाहरू भए । घरहरू जलाइए । मानिसहरूमा आतङ्क फिँजाइयो । सबै गरियो । एमाले सिध्याइयो भनियो । कत्रो आस यिनीहरूलाई, कत्रो इच्छा एमाले बिनाको नेपाल । त्यो गर्नका लागि केपी ओली बिनाको एमाले, अर्को पनि कल्पना गरे । एकपल्ट अब केपी ओली त गयो, सिद्धियो भनेर कता हो कता उधुमै मच्चाए । त्यो केही पनि हुनेवाला होइन । नेकपा (एमाले) छलफल गर्छ र निष्कर्ष निकाल्छ । फेरि पार्टी एकबद्ध हुन्छ र एकताबद्ध भएर पार्टी अगाडि बढ्छ । यो भेला त्यसैको सन्देश हो ।

आज देशभरिबाट अगुवा कार्यकर्ताहरूमध्येका  ३५ सय केही मात्र  यहाँ उपस्थित भएको हो  । अगुवा कार्यकर्ताहरूमध्ये केही, त्यो पनि ३५ सय यहाँ हामी भेला भएका छौँ । यस भेलाबाट हामी एकताको सन्देश लिएर जाने छौँ । आगामी दिनमा विजयको सन्देश लिएर जाने छौँ । बढेको मनोबल आत्मविश्वास, त्यो बोकेर जाने छौँ । अरू साथीहरूको मनोबल बढाउनेगरी यहाँबाट जाने छौँ । र विजयप्रतिको विश्वास, त्यो लिएर हामी अगाडि बढ्ने छौँ । त्यसै कारण यो भेलाको हामीले आयोजना गरेका छौँ ।

हामीले गत केन्द्रीय कमिटीबाट मूल्याङ्कन गरेका छौँ, समीक्षा गरेका छौँ । हामीले गम्भीर समीक्षा गरेका छौँ । हामी पराजय भोग्नुको कारण मुख्य रूपमा असंवैधानिक, गैरकानुनी, आतङ्कपूर्ण ढङ्गले, धोकापूर्ण ढङ्गले हामीमाथि गरिएको हमला, बाह्य हमला मुख्य कारण हो । हाम्रो शरीरको निलडाम हाम्रो गल्तीले होइन, हामीमाथि गरिएको प्रहारले हो । त्यो कुरा हामीले बुझेका छौँ । हामीलाई लागेको चोट, हामीले भोगेको धक्का हाम्रो कारणले होइन । अत्यन्तै असंवैधानिक, धोकापूर्ण, आतङ्कपूर्ण हमलाको कारणले भएको हो । यसरी आगामी निर्वाचनहरूको महत्त्व हामीले बुझेका छौँ ।

यो भेला एउटा सङ्कल्पको भेला हो । यो भेला एउटा अठोट, एउटा सङ्कल्प र आगामी स्थानीय तहको निर्वाचनमा हामी जित्न पर्ने छ । हामीसँग लड्न आउने यो निर्वाचन मार्फत् सङ्गठन बनाउन खोज्दै छन् । हामी एउटा सशक्त सङ्गठन लिएर चुनावमा जाँदै छौँ । त्यसकारण म साथीहरूलाई भन्न चाहन्छु- विभिन्न तिरका, विभिन्न व्यक्तिहरू यसो प्रभावकारी उम्मेदवार पाइन्छ कि भनेर खोजेर त्यस्ता उम्मेदवार बनाएर चुनाव लड्ने क्लब बनाएर, पार्टी त बन्दैन अहिले । त्यसकारण क्लब बनाएर चुनाव लड्नेगरी जाँदै छन् । हामी एउटा सशक्त सङ्गठन लिएर चुनावमा जाँदै छौँ । एउटै मात्रै कुरा हामीमा आत्मविश्वास र त्यो आत्मविश्वासलाई सफलीभूत पार्नका लागि हामीसँग सक्रियताको आवश्यकता छ, क्रियाशीलताको आवश्यकता छ । चुनावसम्म हामी आराम गर्दैनौँ, केही महिना बाँकी छ । आरामको जिन्दगी होइन, परिश्रमको जिन्दगी, सक्रियताको जिन्दगी । स्थानीय निकायको निर्वाचनमा भव्य सफलता प्राप्त गर्दासम्म हाम्रो अभियान जारी रहने छ र हामी त्यसरी अगाडि बढ्ने छौँ । त्यसका लागि नै हामीले यो भेला एउटा सन्देशको रूपमा, एउटा अठोटको रूपमा, एउटा प्रतिबद्धताको रूपमा, एउटा एकताको सन्देशको रूपमा र सङ्कल्पको रूपमा हामी यसलाई अगाडि बढाउँदै छौँ ।

त्यसो भएर हाम्रा दुइवटा कार्यभार । हामीले भनेका छौँ, एउटा आन्दोलन । किन आन्दोलन भने जे गर्दा पनि हुन्छ यस देशमा ? आतङ्क फिँजाए पनि हुने, आगो लगाए पनि हुने, कसैको धनसम्पत्ति सिध्याए पनि हुने ।अनि कपोलकल्पित ढङ्गले मान्छे गिरफ्तार गर्ने । नेकपा एमालेको अध्यक्ष, पूर्वप्रधानमन्त्री भइसकेको व्यक्ति केपी ओलीलाई किन गिरफ्तार गरियो, किन १३ दिनसम्म हिरासतमा राखियो ? जवाफ दिनु पर्दैन ? मजाक हो ? कसैको जिन्दगी खेलबाड हो ? म कस्तो अवस्थामा थिएँ स्वास्थ्यको हिसाबले । मर्ने बाँच्ने अवस्थामा थियो । तत्काल अप्रेसन नगर्दाखेरि ज्यान जाने अवस्थामा थियो । त्यस्तो अवस्थामा सरकार हिरासतमा राख्छ । हिरासतमा राखेको हुनाले मेरो अप्रेसन केही समय ढिला भयो ।त्यतिबेला स्वास्थ्यमा तलमाथि भएको भए, अरूको जिन्दगी खेलबाड हो ? हामी किराफट्याङ्ग्रा हौँ यिनका लागि ?

आफ्नो अध्यक्षलाई गिरफ्तार गर्दा कार्यकर्ता पङ्क्तिले विरोध जनायो देशभरि, म धन्यवाद भन्न चाहन्छु कार्यकर्ता पङ्क्तिलाई । घाइते भए धेरै जना । सरकारले उपचार गराएन । यति निर्मम छ यो सरकार । निर्ममताका साथ हमला गर्‍यो । साम्प्रदायिक हिंसा भड्काउन खोज्यो विभिन्न ठाउँमा, सुनसरीमा, सिरहामा तर त्यसको खास उपचार र सम्बोधन गरेन । मैले अघि नै भनेँ, भोटेकोसी त्रिशूलीको यत्रो बाढीले यति क्षति भयो । त्यसलाई सम्बोधन अहिलेसम्म गर्दैन, पैसा थुपारेर बस्या छ । केका लागि थुपार्‍या हो ? हाम्रो कार्यकर्ताहरूलाई मेरो गिरफ्तारीको विरुद्धमा, आफ्नो पार्टी अध्यक्षको गिरफ्तारीको विरुद्धमा कार्यकर्ता सडकमा उत्रिने कुरालाई यति बैरभावपूर्ण ढङ्गले हेर्‍यो । सयौँ कार्यकर्ता देशभरिमा, एक जनालाई १० लाठी, १५ लाठी लाग्या छ, शरीरभरि निलडाम छ । अहिलेसम्म कति जना ह्विलचेयरमा छन् । कति जना बैसाखी टेकेर हिँडेका छन् । त्यसको जवाफ दिनुपर्छ कि पर्दैन ? किन प्रहार गरेको थियो ? के सडकमा शान्तिपूर्ण ढङ्गले निस्किन नपाइने हो ? यो आतङ्ककारी राज्य हो ? किन घाइते बनाइयो हाम्रा कार्यकर्ताहरूलाई ? किन देशभरि लखेटी-लखेटिकन सडकबाट मात्रै होइन, सडकबाट भागेर घरघर भित्र पसलभित्र गएर लुक्दाखेरि पनि तानेर ल्याएर कहिलेको प्रतिशोध साधेको ? अनि मुद्दा, गिरफ्तारी, प्रतिशोध, प्रहार प्रतिशोध । तसर्थ सरकारको यस्ता क्रियाकलापको निन्दा र विरोध गर्दछु । आइन्दा हाम्रो कार्यकर्ता पङ्क्तिलाई त्यस ढङ्गको व्यवहार गर्न खोजियो भने त्यसको मूल्य धेरै महँगो पर्ने छ भन्ने चेतावनी दिन चाहन्छु । नेकपा (एमाले)माथि एक खालको बज्रपात भएको त्यसबेला कार्यकर्ता पङ्क्तिमाथि त्यो दमन गर्‍यो । अब त्यो सम्भव छैन । र म नेकपा (एमाले)को कार्यकर्ता पङ्क्तिलाई भन्न चाहन्छु, शान्तिपूर्ण ढङ्गले सडकमा उत्रिँदा पनि दमन चलाइन्छ, त्यस ढङ्गले निर्मम प्रहार गरिन्छ भने नेकपा (एमाले) चुप लागेर बस्ने छैन र सङ्ख्या केही हजारका दरले निस्कियो होला त्यतिबेर, अब लाखका दरले हरेक ठाउँमा निस्किने छ । नेकपा (एमाले) केही पनि नभएको, हरेक व्यक्ति एक्लाएक्लै भएको सङ्गठन होइन । एउटा मजबुत र बलियो शक्ति हो नेकपा (एमाले) । त्यसकारण धेरैवटा कुराहरू सङ्ग्रहित भएका छन् । तत्सम्बन्धमा आन्दोलनको तयारी हालतमा बस्नुस् । कुनै पनि समय सरकारले प्रतिशोध कसैमाथि पनि लिन सक्छ । कसैलाई पनि गिरफ्तार गर्न सक्छ । कसैमाथि हमला गर्न सक्छ । कसैमाथि पनि आक्रमण गर्न सक्छ । किनभने यो सरकार के गर्छ भन्ने कुराको टुङ्गो ठेगान भएको, थितिविधि मान्ने, नीति मान्ने, संविधान मान्ने, कानुन मान्ने, एउटा मर्यादाभित्र बस्ने सरकार होइन । त्यो हामीले देख्यौँ । त्यसकारण हामी सबै कुराको वाच गरेर बसेका छौँ । सबै कुरा हेरेर बसेका छौँ ।

पहिले हामीले केन्द्रीय कमिटीबाट दुई कार्यभार भन्यौँ, १५ वटा काम भन्यौँ । फेरि पनि हामी ती कुराहरूमा छलफल गर्ने छौँ । तलसम्म पनि ती कुराहरूलाई लिएर जाने छौँ । जनसंवाद सुरु गर्ने छौँ, चलाउने छौँ । अरू कुराहरूको पनि गर्ने छौँ, अहिले म  धेरै कुराहरू भनिरहन चाहन्नँ  ।

म फेरि एकपल्ट सबै साथीहरूलाई धेरै धेरै स्वागत गर्न चाहन्छु यस कार्यक्रममा । खासगरी हाम्रा विशेष अतिथि महानुभावहरू, उहाँहरूलाई धेरै सम्मान गर्न चाहन्छु ।

अर्को कुरा, एउटा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र एमालेकै अगुवाइमा, नेतृत्वमा, योजनामा बनाइएको थियो गोदावरीमा । अचम्मै, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि देख्न नहुने, राष्ट्रिय सम्मेलन गर्ने केन्द्र पनि देख्न नहुने । धन्न क्रिकेट मैदान भत्काएनन्, क्रिकेट चलिराखेको छ । धन्न धरहरा भत्काएनन्, धन्न रानीपोखरी पुरेनन् । धन्न पुनर्निर्माण गरिएका मन्दिरहरू भत्काएनन् । उनीहरूले गरेका सबै अपराध क्षम्य, अरूले नगरेका अपराध, नगरेको दोष, नभएका कुरामा सजाय भोग्नुपर्ने । यी कुराहरूलाई हामीले यादमा राखेका छौँ । यी कुरा चल्दैनन् भन्ने कुरा म बताउन चाहन्छु फेरि पनि । नेकपा (एमाले) कुनै हुतिहाराहरूको पार्टी होइन । यो जिउँदा मान्छेहरूको पार्टी हो  । देश बनाउने सङ्कल्प बोकेको पार्टी हो । यसमा आउनुभएका सबै साथीहरूलाई धन्यवाद भन्न चाहन्छु र आफ्नो भनाइ पनि टुङ्ग्याउँछु । धन्यवाद । 

बन्दसत्र (मङ्सिर ३)

 हाम्रो अहिलेको अवस्था र धक्का अपदस्तबाट सुरु भएको हो

मैले हिजो उद्घाटन सत्रमा नै राष्ट्रिय राजनीतिका केही पक्षहरू, देशको अवस्था, हामी कुन उद्देश्यले यस राष्ट्रिय भेलाको आयोजना गरिरहेका छौं भन्ने कुराहरूको सन्दर्भमा केही प्रकाश पारेको छु । आज म ती विषयहरूमा त्यति नगईकन हामीले अब आगामी दिनमा आज हाम्रा अगाडि रहेका तत्कालका हाम्रा सामुका प्रमुख कार्यभारहरू के हुन् र ती पूरा गर्न हामीले केकस्ता कामहरू गर्नुपर्दछ भन्ने सन्दर्भमा भन्न चाहन्छु । हामी कस्तो अवस्थामा छौं, यस सन्दर्भमा पनि मैले हिजो प्रस्ट पारेको थिएँ ।

हामीले धक्का खाएका छौं । हामी अपदस्त गरिएका छौं । हारबाट हाम्रो कुरा सुरु भएको होइन, अपदस्तबाट हाम्रो कुरा सुरु भएको हो । अहिलेको अवस्था र धक्का अपदस्तबाट सुरु भएको हो, निर्वाचनमा पराजयबाट होइन । त्यसकारण विषय थाल्दाखेरि निर्वाचनको पराजयबाट थाल्यो भने त्यसको पृष्ठभूमि बिर्सिन्छ । असंवैधानिक ढंगले, अलोकतान्त्रिक ढंगले, आतंकपूर्ण तरिकाले देशमा आगजनी र तोडफोड मच्चाएर राज्यका सम्पत्तिहरू, त्यसमा पनि सर्वोच्च विधायिका प्रतिनिधिसभा, राष्ट्रियसभाको भवन, सर्वोच्च अदालत र केन्द्रीय सचिवालय, राज्य सञ्चालनको प्रमुख थलोमा आगजनीबाट सुरु गरेर अर्थात् लोकतान्त्रिक प्रणालीका सम्पूर्ण जगहरू, आधारस्तम्भ, संरचनाहरूलाई ध्वस्त पार्ने उद्देश्यत प्रारम्भबाट सुरु हुन्छ । पहिले जलाइएको जनप्रतिनिधित्वको सर्वोच्च संस्थाको थलो संसद भवनबाट आगजनी सुरु भयो । अथवा जनप्रतिनिधित्वको प्रणाली र त्यो सञ्चालनको थलो प्रतीकात्मक ढंगले त्यस प्रणाली माथिको हमलाबाट सुरु भयो । एउटा के कुरा राख्न हुँदैन फर्की फर्कीकन निर्वाचनबाट मात्रै सुरु गर्नु हुँदैन । नेपालको प्रतिगमन कि निर्वाचनको हारजित/ विजय पराजय, यसलाई हामीले बुझ्नुपर्छ । यो निर्वाचनको पराजय मात्रै होइन । कसैले निर्वाचनमा जित्यो, कसैले हार्‍यो स्वाभाविक कुरा हो । यदि नियमित ढंगले, स्वाभाविक ढंगले, समान र स्वच्छ वातावरणमा निर्वाचन हुन्छ भने जसले जितोस् बधाई र धन्यवाद दिनुपर्छ, स्वीकार्नुपर्छ; जसले हारोस् स्वीकार्नुपर्छ । त्यो लोकतान्त्रिक र संवैधानिक प्रक्रियालाई जसले पनि मान्नुपर्छ ।

म कमरेडहरूलाई फेरि स्मरण गराउन चाहन्छु- स्वच्छ निर्वाचन, समयानुसारको निर्वाचन, आवधिक निर्वाचन र समान परिस्थितिमा सबै पक्ष, पार्टी, उम्मेदवारहरूले समान परिस्थितिमा चुनाव लडेको त्यो निर्वाचन थिएन । पहिले त आगजनी तोडफोड, लुटपाट, हिंसा र आतंकपूर्ण क्रियाकलापबाट कू गरेर सत्ता परिवर्तन गरियो । अनि त्यसलाई आतंकपूर्ण वातावरणमा निर्वाचनको मञ्चन गरेर एउटा परिणाम घोषणा गरिएको परिस्थिति हो ।

यसमा भदौ २३-२४ लाई हामीले बुझ्न, देख्न, भूराजनीति, प्रतिगामी शक्तिहरूको भयानक आक्रमण र हामी विरुद्धको घेराबन्दी बुझ्न सकेनौं भने हामी निर्वाचनमा पराजित भएको ठान्न थाल्यौं भने अपदस्त कसरी भएका थियौं त? हामीले सरकार छोड्नुपर्ने अवस्था कसरी बनेको थियो, त्यो कुरा बिर्सियौं भने राजनीति बिर्सिन्छ र प्राविधिक प्रक्रिया मात्रै स्मरण गरिन्छ ।

प्रश्न प्राविधिक प्रक्रियाको होइन, प्रश्न राजनीतिक विषयको हो । यस्तो विषय यहाँ मात्रै होइन, दुनियाँका धेरै देशहरूमा चलाइएको छ । हुँदै गएर अब विकसित देशहरूमा समेत यी कुराहरू जान थालेका छन् । तर विकसित देशमा सामान्य सुधारका लागि त्यहाँका शासकहरूलाई चेतावनी दिने हिसाबले यी कुराहरू भएका छन् ।

हाम्रो देशमा स्थिरता भयो, स्थायित्व भयो । दुइटा प्रमुख पार्टी मिलेर परिस्थितिलाई, सम्भावित अवस्थालाई बुझेर, देश कता जाँदैछ र अस्थिरता, अस्थायित्वतर्फ जाने कुरालाई बुझेर, त्यसलाई रोक्नका लागि सरकार बनाए । सामान्य अवस्थामा त्यस्तो बन्दैन । तर हामीले दुइटा प्रमुख प्रतिद्वन्द्वी, प्रथम र द्वितीय पार्टीहरू, अरूसँग तुलना गर्न नमिल्नेगरी सामर्थ्य, इतिहास र योगदान भएका तथा भविष्यका लागि पनि काँधमा जिम्मेवारी भएका पार्टीहरू मिलेर नै सरकार बनाएको थियो । त्यो समयको माग र आवश्यकता थियो । हामीले स्थिरता र स्थायित्वका लागि सरकार बनायौं । त्यही कुराबाट प्रतिक्रियावादी शक्तिहरू आत्तिए- ‘नेपालमा त स्थिरता हुने भयो, स्थायित्व हुने भयो, अब निर्वाचनसम्म ढाल्न नसकिने भयो, निर्वाचनमा पनि दुइटा पार्टी मिलेर गयो भने फेरि कसैले केही गर्न नसक्ने भयो’भनेर  । यसो भएपछि लोकतान्त्रिक प्रणाली र संविधान ढाल्न, फाल्न नसकिने भयो । आफ्ना संकीर्ण स्वार्थहरू पूरा हुन नसक्ने भए भन्ने भूराजनीति प्रबल भएर आयो ।

त्यसकारण भदौ २३-२४ को एउटा त्रासदीपूर्ण, विध्वंसात्मक, आतंकपूर्ण क्रियाकलाप भयो, यो सत्य हो । यो लोकतन्त्रभित्रको स्वीकार्य कुरा होइन । लोकतान्त्रिक प्रणालीभित्र मान्न सकिने घटनाक्रम होइन । यो बिल्कुल अस्वीकार्य घटना हो र त्यसलाई स्वीकार्न सकिँदैन । आज पनि सकिँदैन, हिजो तत्काल पनि हामीले स्वीकारेका थिएनौं, भविष्यमा पनि स्वीकारिने छैन । यो स्वीकार्य घटना हुन सक्दैन ।

त्यसो भएर पहिलो कुरा हामीले त्यसबाट थाल्नुपर्दछ । त्यसले पुर्‍याएको राष्ट्रिय क्षति, लोकतन्त्रमा पुर्‍याएको क्षति, संविधान मिचेर पुर्‍याएको क्षति, राजनीतिक दलहरूलाई अस्वीकार गरेर पुर्‍याएको क्षतिलाई हामीले पुनर्स्थापित गर्नुपर्दछ । अंग्रेजीमा एउटा 'रिजिलियन्स' भन्ने शब्द छ, पहिलेकै ठाउँमा फर्किने, फेरि उठ्ने, जाग्ने ।

युरोपमा एकपल्ट 'रेनासाँ' (पुनर्जागरण) भन्ने शब्द चलाएका थिए  । त्यसबेला त्यो शब्द कति उपयुक्त थियो, उहाँहरूले जान्ने कुरा हो, उपयुक्तै थियो होला । तर हाम्रोमा आज चाहिएको छ रेनासाँ । पुनर्जागरण हामीलाई चाहिएको छ, हामीले गर्नु छ । यस राष्ट्रिय भेलाको उद्देश्य त्यही हो । यस पुनर्जागरणको नेतृत्व नेकपा  एमालेले गर्नुपर्दछ, अरूले होइन ।

त्यसो भएर हामीले बुझ्नुपर्दछ दलहरू भनेका के हुन् भनेर । कहिले कुनै मौसममा निस्किन्छ त्यो पनि उसैले जान्दछ, एउटा मौसममा, एक समयमा छिचिमिराहरू भन्ने हुन्छ, जमिनबाट फुर्र निस्किन्छ र उड्छ । तिनीहरूको फ्युचर कतिबेलाको हुन्छ भने घरको लगभग उचाइसम्म पुग्न पाउँदा नपाउँदै या त अर्को चराले टप टप टिपेर सिध्याउँछ, या त तिनीहरूको पखेटा झर्छ र ती आफैं भुइँमा झरेर सिद्धिन्छन् । आवधिक मौसम अनुसारका छिचिमिराहरूले के भन्छन् भन्ने कुराले देशको राजनीति र भविष्य तय हुँदैन । यसका पछाडि ऐतिहासिक कारणहरू हुन्छन् । राजनीति धेरै हजार वर्ष अगाडि, चार पाँच हजार, छ हजार वर्ष अगाडि जन्मियो । राजनीतिले हजारौं वर्ष शासन गर्‍यो विश्वमा । राजनीतिले मात्रै शासन गर्दा त्यो न्यायोचित जनशासन भएन, लोकतान्त्रिक शासन भएन, प्रणालीगत भएन, स्वेच्छाचारी भयो । त्यो जहानियाँ भयो, सामन्ती भयो, दमनकारी भयो । तसर्थ राजनीतिले मात्रै शासन होइन, नीति र विचारले शासन गर्नुपर्‍यो । विचार बन्नुपर्‍यो, विचारमा आधारित संगठित दलहरू बन्नुपर्‍यो । त्यसले आफूले गर्ने काम जनताका बीचमा संकल्प प्रतिबद्धताहरू प्रस्तुत गर्नुपर्‍यो । र ती प्रस्तुत प्रतिबद्धताहरूका आधारमा जनताले पार्टी छान्नु र त्यसले सरकार बनाउनुपर्‍यो । उसले राम्रो काम र आफ्ना प्रतिबद्धता पूरा गर्छ कि गर्दैन, त्यो कुरालाई हेरेर आवधिक निर्वाचनमा जनताले पार्टीहरूको मूल्यांकन गरेर कुन पार्टी छान्ने भन्ने अवधि-अवधिमा, कसैमा चार वर्ष, कसैमा पाँच वर्षको अवधि छ; हाम्रो यहाँ पाँच वर्षको अवधि हामीले राखेका छौं ।

पाँच वर्षमा राजनीतिक पार्टीहरूले आफ्ना वाचा, कबुल, प्रतिबद्धता, संकल्प आदि लिएर जनताका बीचमा जान्छन् । पहिले पहिले अलि साँचो संकल्प लिएर जाने चलन थियो अथवा जनताले त्यस्तो ठान्ने अवस्था थियो । अहिले पछिपछि खुलस्त झुक्याउने, ढाँट्ने, कलात्मक कुरा गर्ने, धूर्त क्रियाकलाप गर्ने परिपाटी चल्यो । त्यसले दलहरूलाई जसरी स्थापित हुनुपर्थ्यो, त्यो अलिक हुन दिएन ।

दलहरू भित्र कमी रहे । तिनै समाजका मान्छेहरू विभक्त हुँदा त्यही सामाजिक प्रवृत्ति साथै विभक्त भए । विचारमा विभक्तिभन्दा पछि त्यो विभक्तता बिस्तारै स्वार्थ र अवसरमा सर्न थाल्यो । तर राजनीतिको सान्दर्भिकता समाप्त हुने होइन । यो दुनियाँको सामाजिक व्यवस्था भनेको राजनीतिक प्रबन्ध नै हो ।

पहिले राजनीति चलाउँदा धार्मिक प्रबन्धहरूलाई पनि मिसाउँथे, किनभने राज्य कमजोर थियो । राज्य कमजोर हुँदा धार्मिक प्रबन्धलाई पनि मिसाएर, धर्मको आड लिएर शासन चलाएर धर्मभीरुता जनतामा घुसाइदियो पहिले । धर्मभीरुता घुसाएर त्यो आडमा राजनीति गर्‍यो । यो प्रचलन थियो । अब धर्मभीरुताको आवश्यकता छैन । जनतामा घुसाउनुपर्ने आवश्यकता छैन, यति पर्याप्त घुसिसकेको छ ।

त्यसै कारण चर्चले राजनीतिमा हस्तक्षेप गर्न हुँदैन भनेर युरोपमा धर्मले राजनीतिभन्दा अलग बस्नुपर्दछ । राजनीतिले सामाजिक प्रबन्ध, अर्थतन्त्र, संस्कृति आदिलाई समेटेर सम्पूर्ण नीतिको मूल नीतिको रूपमा काम गर्छ भनेर धर्मलाई त्यसबाट अलग राख्नुपर्दछ । त्यसलाई वैयक्तिक आस्था, एउटा विश्वास र वैयक्तिक मान्यताको रूपमा राख्नुपर्दछ, तर शासकीय चिन्तन, मार्ग अथवा बाटोको रूपमा होइन भन्ने कुराहरू युरोपमा बेसरी चल्यो ।

त्यही कुरा बिस्तारै संसारभरि फैलियो । राज्यहरू धर्मनिरपेक्ष हुन थाले । राज्यभित्र एउटा मात्रै धर्म र जात हुन छोड्यो । संसार साँघुरिँदै गयो । विभिन्न भाषा, जाति र धर्मका मान्छेहरू झन् धेरै ठाउँमा आवागमन गर्न थाले । आप्रवासन बढ्यो, त्यसले समाजको अवस्था र प्रकृतिलाई फरक पार्‍यो ।

त्यसो भएर राजनीतिलाई संगठित गर्न राज्य मात्रै होइन, समाजलाई ठीक ढंगले अगाडि बढाउनका लागि वास्तवमा राजनीतिक दलहरू नभई नहुने भयो र अपरिहार्य भए । आज संसारभरि एकछिन्का लागि निर्दलीय भन्ला, तर निर्दलीय कुनै शासन हुँदैन र छैन ।

कहीँ कहीँ ‘मिलिट्री जुन्टा’ले शासन गरेको हुन सक्दछ । बर्मामा लोकतान्त्रिक शासन उल्टाएर मिलिट्री शासन कायम छ अहिले पनि । जेसुकै बहाना गरे पनि त्यो लोकतान्त्रिक प्रणालीबाट निर्वाचित नेताहरूलाई विस्थापित गरेर खडा गरिएको त्यो बलको शासन हो अहिले पनि । अरू देशहरूमा हस्तक्षेपकारी प्रवृत्ति छ, बलले हस्तक्षेप गरेर संचालन गर्ने । नीतिले चलाउने होइन, बलले र बलजफ्तीको चलाउने, त्यसलाई लोकतान्त्रिक र संवैधानिक भन्न सकिँदैन ।

नेपालमा त्यही तहमा अलिक नपुगिहालेको भए पनि संविधान मिचिएको र लोकतन्त्र मिचिएको अवस्था सिर्जना भएको छ ।  अहिले खासमा दलहरूलाई अस्वीकार गर्ने, भीडतन्त्रले राज्य चलाउन खोज्ने, पपुलिस्ट, अराजक तरिका अगाडि बढाउन खोज्ने प्रवृत्तिहरू यत्रतत्र छरिएको देखिन्छ । मैले पहिलेदेखि भन्ने गरेको छु, हाम्रो केन्द्रीय कमिटीले पारित गरेको प्रतिवेदनमा पनि यी कुराहरू परेका छन् ।

हाम्रो पार्टी टिकट बेचुवा पार्टी होइन 

हाम्रो पार्टी र अरू पार्टीहरू, परिवर्तनकारी र यथास्थितिवादी पार्टीहरू अथवा परिवर्तनकारी मार्क्सवादी पार्टी र तत्कालको स्वार्थ एवं अहम् तुष्टिका लागि राजनीति गर्ने, समाजको प्रबन्ध यथास्थितिमा कायम रहनुपर्छ भनेर राख्न खोज्नेहरूको र हाम्रो पार्टी फरक हो ।

हामी को उम्मेदवार हुन्छ भनेर हात उठाएर म हुन्छु भनेपछि त्यस्तो मान्छेलाई उम्मेदवार बनाउने, को समानुपातिकमा बस्छौ भनेर त्यसरी बनाउने पार्टी होइन । अर्को कुरा हाम्रो पार्टी टिकट बेचुवा पार्टी होइन । हामी देख्छौं सुन्छौं, यति दिएर यसो भयो, उति दिएर त्यसो भयो, यस्तो बुझाएर यस्तो भयो । हाम्रो पार्टी कुनै हिसाबले पनि अवाञ्छित, अनुचित तौरतरिकाबाट लाभ, प्रतिनिधित्व, सम्मान वा जिम्मेवारीको स्थान र स्थितिमा पुग्ने अवस्था बन्न दिने पार्टी होइन । यो पार्टीलाई समाजको परिवर्तन गर्नु छ, समाजवादमा जानु छ । समाजवाद एउटा कथामा भने जस्तो नेत्रविहीनहरूको एउटा झुण्डले हात्ती छोएर बनाएको कथा छ नि एउटा । त्यही हात्तीको कसैले सुँड समातेर एउटा कुरा भन्छ, खुट्टा समाउनेले थाम जस्तो छ भन्छ, अर्को पेटतिर छुनेले भित्तो जस्तो छ भन्छ, पुच्छर समाउनेले लौरो जस्तो छ हात्ती भनेको भन्छ । यस ढंगले चल्ने होइन हाम्रो पार्टी । हाम्रो पार्टी समग्रतामा यस देश र विश्वलाई हेर्छ । त्यही अनुसारको विश्व दृष्टिकोण यसले राख्छ के हो सामाजिक परिवर्तन भनेको । यसमा वैयक्तिक आकांक्षा, अनुमान वा अनुभूतिका लागि कुनै ठाउँ छैन । त्यो भन्दामाथि हामी समाज परिवर्तनका वैज्ञानिक नियमहरू, मार्क्सवादी द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दर्शन, मार्क्सवादी-लेनिनवादी सिद्धान्त, लेनिनको नेतृत्व विज्ञान संगठनात्मक सिद्धान्त, यस्ता सिद्धान्तहरूलाई आधार मानेर हाम्रा अनुभव र व्यवहारले सिकाएका कुरा र विभिन्न ठाउँमा, व्यवहारमा बाटो देखाउने जनताको बहुदलीय जनवादले हामीलाई मार्गदर्शन गर्छ । हाम्रो भूमि, आन्दोलनको अभ्यास, हाम्रो समय र परिस्थितिको उपजको रूपमा आएको जनताको बहुदलीय जनवादबाट निर्देशित भएर अगाडि बढ्छौं । त्यसमा पनि जडसूत्रवादी भएर होइन, अत्यन्त वैचारिक, विश्लेषणात्मक र रचनात्मक ढंगले अगाडि बढ्छौं । तत्कालीन परिस्थिति अनुसार मार्क्सवादी दर्शन र लेनिनवादी सिद्धान्तले के भन्छ, त्यस कुरालाई ध्यानमा राखेर तात्कालिक परिस्थिति अनुसार हामीहरू अगाडि बढ्छौं ।

तसर्थ हाम्रो पार्टी आमूल परिवर्तनकारी, सामाजिक परिवर्तनकारी, अग्रगामी पार्टी हो, अरू पार्टी जस्तो यथास्थितिवादी होइन । अरूमा जस्तो नेतृत्वमा जो र जे भए पनि हुन्छ होइन । नेतृत्वमा वैचारिक स्पष्टता, सांगठनिक अनुभव, इतिहास, योगदान सबै चिजको मूल्यांकन गरिन्छ ।

हाम्रो पार्टीमा भवितव्यले एकछिन् उसँग यताउता मिलेर के गरेर कोही अध्यक्ष, उपाध्यक्ष, वरिष्ठ नेता, महासचिव, सचिव, केन्द्रीय सदस्य हुँदैन । कुनै पनि ठाउँमा भवितव्यले हाम्रो पार्टीमा शीर्ष स्थानमा पुग्दैन ।

अर्को कुरा हामीले कसैलाई पनि अगाडि बढाउँदा युवा वा महिलाको सम्बन्धमा होस्, हामी कुनै भ्रममा पर्नु हुँदैन । हामी युवाहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन चाहन्छौं । तर, टुप्पामा लगेर पदमा राख्दैमा हुँदैन । युवा उमेर पुग्यो अब, मेरो छोराको उमेर युवा भयो, अब केन्द्रीय र स्थायी कमिटीमा किन नराख्ने? युवालाई महत्त्व दिनुपर्दछ, त्यसकारण अब मेरो छोरालाई म सचिवालयमा राख्छु भन्ने यहाँ चल्दैन ।

यहाँ काम सिक्नुपर्दछ, संगठन सिक्नुपर्दछ र विचार अध्ययन गर्नु पर्दछ । आन्दोलनमा सरिक हुनुपर्छ । हिजो मैले बोलेपछि एकजना विद्यार्थी नेता हुँ भनेकै कमेन्ट मैले यसो हेरेको थिएँ, कताको को हो । ‘अँ अध्यक्षले आन्दोलनका लागि तयार हौ भन्नुभयो, सडकमा जाने हो भने त्यस्ता कुरा नगरौं, त्यो चाहिँ हुँदैन । सडकमा नबसेर गफ गर्ने, टिकटकमा चल्ने हो भने हामी सरिक हुन्छौं’ भनेर एकजना विद्यार्थीले लेखेको देखें । अनि यस्तै युवा नेतृत्वमा पुग्ने हो भने के होला पार्टीको हालत ? सडकमा चाहिँ नजाने ?

त्यसकारण दुनियाँ र विश्वको इतिहास, जनताले आफ्ना आवाज सुनाउन र मनाउन सडकमा जान्छ । सुन्दैन, मान्दैन भने जनताले सडकमा गएर शक्ति प्रदर्शन गर्छ, यो दुनियाँको चलन हो । शान्तिपूर्ण ढंगले शक्ति प्रदर्शन गर्छ जनताले । जनता सार्वभौम छ भनेको त्यही हो । तर बाह्य शक्तिबाट पालित, पोषित, तालिम दिइएका, अराइएका, खटाइएकाहरूले आगो लगाउने योजनाबद्ध क्रियाकलापलाई जनताको शान्तिपूर्ण आन्दोलन भनेर मान्न सकिँदैन । जनताको शान्तिपूर्ण आन्दोलन राष्ट्रिय हुन्छ । वैदेशिक लगानी, प्रोभोकेसन, भड्काव त्यस्तोबाट संचालित हुँदैन । त्यसर्थ कहिले कहिले कता कता कसैले भनेको देखिन्छ-

‘बाह्य शक्तिलाई अपजस लगाउनु हुँदैन । बाह्यबाट आक्रमण भएर हामी हार्‍यौं भन्नु हुँदैन, हामीले आफ्नै कमजोरी खोज्नुपर्छ । अर्काले तरबारले हानेर गर्दन छिनायो । मार्क्सवादी दर्शनले भन्छ आन्तरिक कुरा नै मुख्य कुरा हो, त्यसकारण गर्दनकै कमजोरी त्यहाँनेरी देखिन्छ ।’

मार्क्सवादले त्यसो भन्दैन । बैंसैमा तपाईंले रूख फाँडिदिनुहुन्छ, ढालिदिनुहुन्छ, त्यहाँबाट रूखको आन्तरिक कमजोरी हो ? मार्क्सवादले त्यही आन्तरिक कमजोरी नै मुख्य कुरा हुन्छ भनेर कहाँ भन्छ त्यसो ? आन्तरिक कमजोरी मुख्य कुरा हो ? सबै ठाउँमा त्यो भनेको कुनै चिजको परिवर्तनका लागि स्वतःस्फूर्त बाह्य प्रभाव त्यसमा छैन भने आन्तरिक कुरा नै हुन्छ । यदि आन्तरिक कुरा मुख्य हुन्छ कुनै पनि समाजको । त्यसै कारण त बाह्य शक्ति लाग्दालाग्दै पनि हामी रिजिलियन्स र फेरी पुनर्जागरण गर्छौं, पुनर्जागृत भएर उठ्छौं, फेरि डेमोक्रेसी ल्याउँछौं भनेको आन्तरिक शक्ति नै प्रबल र मुख्य हुन्छ, यो लङ टर्म कुरा हो । तरबारले हानेर गर्दन छिनाइदियो भने फलामको लगाइदिएको भए त काट्दैनथ्यो नि तरबारले भन्ने कुनै कथ्य निर्माण हुन सक्छ ? फलामको केही लगाइदिएको भए घाँटीमा बाक्लो खालको, तरबार हान्दा त त्यसको धारै कुच्चिन्थ्यो नि त । यस्तो कुरा त मुनासिब हुँदैन ।

तसर्थ १९९७ सालमा फाँसी दियो । सहिदहरूको आन्तरिक कमजोरी हो ? राणाहरूको अपराध हो त्यो । त्यसकारण यहाँ धेरै बुद्धि खेलाएर राणाहरूको अपराध किन भन्ने? त्यो त आन्तरिक नै कुरा हो, कमजोरी आन्तरिक हुन्छ, यस्तो विद्वत्ता छाँट्नु हुँदैन ।

तसर्थ कुनै पनि वस्तुको विकासमा आन्तरिक पक्ष प्रमुख हुन्छ । तर बाह्य शक्तिले केही गर्दैन ? यो बाटो बनेका ठाउँमा त सबै झाडी थियो त उहिले । अगाडि मूल बाटो बनेको छ नि । नरकटघारी थियो यो । त्यो आफ्नै बुद्धि र आन्तरिक कारणले मासिएको हो त ? हामीले मास्यौं, बाटो बनायौं र परिवर्तन गर्‍यौं । बाह्य शक्तिले सबै ठाउँमा सधैं निर्णायक नहोला । कतिपय ठाउँमा त्यो परिस्थिति हेरेर के भनेको हो भन्ने कुरा बुझ्नुपर्छ हामीले ।

तसर्थ हामी हाम्रै शक्तिले फेरि उठ्छौं भनेको यो शक्ति उठ्छ । हाम्रा आन्तरिक कमीहरू पनि रहेका छन् । दशवटा पोइन्टमा हाम्रो केन्द्रीय कमिटीले पार्टी भित्रका आन्तरिक कमजोरी, थुप्रै साथीहरूले यो भन्दा अगाडि चर्चा गरिसक्नुभएको छ । आन्तरिक कमजोरीहरू हाम्रा रहे । दशवटा बुँदामा हामीले यो राजनीतिक प्रतिवेदनमा जो केन्द्रीय कमिटीले सर्वसम्मतिले पारित गरेको यस दस्तावेजमा भनेका छौं । थुप्रै कमजोरी रहेकालाई दश क्याटेगोरीभित्र समेटेका छौं ।

हाम्रा आन्तरिक कमजोरी हुँदै नभएको र कमी कमजोरी नभएको पार्टी भनेका छैनौं । कमी कमजोरीहरू हाम्रा पनि रहे । तर ती कमी कमजोरीले सरकार अपदस्त भएको हो त ?

अर्को, हामीले भाषा के प्रयोग गर्ने भन्ने कुरामा म कमरेडहरूलाई भन्न चाहन्छु । हामीसँग जनता टाढा भए, के कारणले ? जनतालाई टाढा पारियो गोयबल्स थ्योरी लगाएर, सामाजिक सञ्जालबाट, झुटको खेती गरेर, झुट र भ्रम फैलाएर जनतालाई हामीबाट टाढा पारियो । हाम्रो लोकप्रियता घटाइयो । हाम्रा कामले घटेको होइन । बदमासी गरेर लोकप्रियता घटेको होइन । हामी त्यही काम अझ दृढताका साथ गरिराखेका छौं । दुनियाँमा कम्युनिष्ट आन्दोलनहरू अत्यन्त कमजोर र पराजित हुँदै गएका बेला हामी जित्दै आएका छौं । त्यही अस्ति एउटा निर्वाचन टिक्न सकेनौं, किनभने अपदस्त गरिएको अवस्था थियो त्यो त । असंवैधानिक ढंगले अपदस्त गरिएको अवस्था थियो । त्यो अपदस्त गरिएको अवस्थामा, जनतामा आतंक र आतंकित मनोविज्ञान भरेको अवस्थामा, हामीप्रति घृणा फैलाइएको र त्यसको सच्चाइ अनि सत्य संवाद हामीले जनतासम्म पुर्‍याउन नसकिएको, नपाएको अवस्था थियो ।

अर्को कुरो अनावश्यक ढंगले सुरक्षा निकायहरूको संलग्नता भयो निर्वाचनमा । पार्टीका प्रतिनिधिहरू र उम्मेदवारका प्रतिनिधिहरू बाकसका छेउमा जान पाएनन् । बाकस उनीहरूको अगाडि र साथमा रहेर लान पाइएन । सुरक्षा निकायले बोकेर कहाँ र कता लग्यो, आफ्नो बख्तरबन्द गाडीमा कहाँ पुर्‍यायो, कताबाट ल्यायो । भोलिपल्ट एकैचोटि गन्ने बेलामा बाकस देखेर चुनावको विश्वसनीयता हुन्छ? त्यसो गर्नु किन पर्‍यो? जनप्रतिनिधिले देख्न नपाउनेगरी बाकस किन कुदाउनु र बोक्नु पर्‍यो? अकारण बोक्नु परेको हो त्यो? अकारण त्यस्तो भएको हो? हामी वा उहाँहरू लाटासोझा भएर हो र जनप्रतिनिधिलाई जान नदिएको? केही ठाउँमा जहाँ जान दिइयो त्यहाँ हामीले जितेका पनि छौं, प्रतिस्पर्धामा गएका छौं । तर आम रूपमा अनुकूल ठाउँहरूमा चाहिँ त्यही क्रियाकलाप भयो ।

तसर्थ हामीले यस पराजयलाई स्वाभाविक पराजय मात्रै होइन, हामीलाई अलोकप्रिय बनाइएको, हामीबाट जनतालाई टाढा राख्न कोसिस गरिएको र त्यो भ्रमपूर्ण र अपराधपूर्ण कोसिस हामीले रोक्न नसकेको हो, त्यो हाम्रो कमजोरी हो । तर हामीले रोक्न सकेनौं भन्दैमा तरबार हाम्रो गर्दनमा आयो, छेक्न सकेनौं भन्दा हामी नै दोषी हुने? हामी दोषी होइन । हाम्रा विरुद्धको हमला  अन्यायपूर्ण, आपराधिक र अलोकतान्त्रिक आक्रमण हो । त्यसले गर्दा हामी असंवैधानिक ढंगले अपदस्त गरियौं । जनताबाट अलोकप्रिय भएर जनताले अपदस्त गरेको हो र हामीलाई ? हुँदै होइन । जनआन्दोलनले पनि अपदस्त गरेको होइन । आगजनी, उपद्रव, तोडफोड, लुटपाट, आतंक । अनि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पाँच पल्ट प्रधानमन्त्री, कति वर्षदेखि सभापति भएको मान्छे, छ दशकभन्दा बढी नेपालको राजनीतिमा सक्रिय रहेको मान्छेलाई घरमै गएर कुट्दा र काट्दा राज्य त्यहाँ उहाँलाई काटिन, कुटिन र अपमान गरिनबाट रोक्न पनि उपस्थित नहुनु, त्यसबाट उहाँलाइ नजोगाउनु भनेको त्यो भन्दा राज्यका लागि लज्जास्पद कुरा के हुन्छ ? त्यो त हामीले देख्यौं त ।

अनि यहाँसम्म, यहाँबाट भित्र पस्न पाइँदैन, उता जलाऊ भन्दाखेरि जलाएको हामीले देखेनौं ? राष्ट्रपति निवासको बाहिर पट्टि जलाऊ, भित्र त राष्ट्रपति बस्नुपर्दछ, कहाँ जलाउन पाइन्छ भनेको देखियो नि त । राष्ट्रपति निवासको सुरक्षा नहुने, भैरवनाथ गणमा ल्याएर राष्ट्रपति थुनेर चाहिँ सुरक्षा हुने भन्ने कुरा हुन्छ? ओरतिर बाटो वरिको भैरवनाथ गणमा त्यही सेनाले सुरक्षा गर्न सक्ने, परतिर राष्ट्रपति भवनमा गर्न नसक्ने ?  किन सकेन सेना जानुस् ।

तर केही घटना त रहस्यपूर्ण भएकै हुन् त, भए त । अनुत्तरित घटनाहरू भए । यत्रो तोडफोड र आगजनीको छानबिन हुँदैन । राष्ट्रको सम्पत्ति जल्यो । ऐतिहासिक सम्पदाहरू जले । राष्ट्र र लोकतन्त्रका प्रत्येक संरचनाहरू जलाइए । राष्ट्रिय उद्यमी, व्यवसायीहरूलाई बेहाल बनाउन कोसिस गरियो, बनाइयो । लगभग सम्पूर्ण व्यवसाय उठ्नै नसक्नेगरी ध्वस्त बनाउने खुलेआम क्रियाकलाप भए तर निर्बाध भए । त्यति त भन्नै पर्छ नि त । निर्बाध ती क्रियाकलाप भए, बे रोकतोक भए । यो त सत्य हो नि त । नेपालको राजनीतिक र सामाजिक इतिहासमा न कहिल्यै यस्तो अपराधपूर्ण घटना घटेको थियो, न कहिल्यै निर्बाध ढंगले यस्तो अपराध चल्न पाएको थियो । निर्बाध अपराध कसरी चल्यो ?

जनताप्रति यति माया भयो, राष्ट्रका सम्पत्ति जलाउने हो, जनतालाई त कसरी लाठी हान्ने कुरा भएन । क्याजुअल्टी हुनु भएन । २३ गते अकारण त्यत्रो मान्छे कसले मार्‍यो ? किन मारेको ती मान्छे ? हाम्रा टाउकामा अपजस हालेर भोलिपल्ट आगलागी गर्न होइन ? भोलिपल्टको आगलागीको तयारी होइन अघिल्ला दिन ? कहाँ भयो जेन-जी मुभमेन्ट ? स्कुले विद्यार्थीहरूलाई झोला बोकाएर, झोलामा पानी र छाता बोकाएर, यो ल्याउनु भनेर के के गरिएन ? र एभरेस्टबाट उनीहरूले घोषणा गरे, हाम्रो आन्दोलन सिद्धियो, सफल भयो । हामीले प्रदर्शन गर्नु थियो, गर्‍यौं । अब फर्किन्छौं, यहाँ विभिन्न तत्त्वहरूको घुसपैठ भयो, अब फर्कौं साथीहरू भनेर उनीहरू फर्किए । त्यति पाँच-सात हजारको जुलुस त सधैं हुने गरेको थियो, दश हजारको जुलुस कति भयो नेपालमा । त्यसले कब्जा गरेको हो र? त्यसले गर्दा संसद भवन अगाडिको गोलीकाण्ड भएको हो र ? गोलीकाण्ड त्यसरी हुनुपर्ने आवश्यकता थियो र ? कहिले अनावश्यक ढंगले, पहिले नै मान्छे किन नरोकेको ? पहिले रोकिएन । रोकभन्दा पनि रोकिएन । पछि त्यत्रो गोलीकाण्डको रचना भयो । सबै पूर्वतयारी थियो भन्ने कुरा कार्की आयोगको प्रतिवेदन भन्छ र प्रमुख गौरीबहादुर कार्कीजीले अस्ति इन्टरभ्युमा आफैं पनि भन्नुभयो अगाडि देखिको तयारी थियो । अगाडि देखिको तयारी थियो भने यत्रो आगजनीको तयारी कसले गर्‍यो ? सामेल को भयो ? आगो कसले लगायो ? सबै भिडियो छ, मान्छे सबै देखिएको र चिनिएको छ । सबै आदरणीय, पूजनीय, माननीय छन् । को सम्माननीय पनि होला, को के होला । आगो लगाउनेहरू चिनिएका छन्, देखिएका छन् ।

त्यसो भएर हाम्रो कमरेडहरूले बुझ्नुपर्दछ, थाल्दा कहाँबाट थाल्ने भने यो गएको निर्वाचनमा हाम्रो लज्जास्पद हार भयो, हामी जनताबाट अलग्गियौं, जनता बुझेनौं आदि इत्यादिबाट होइन । हामी अपदस्त गरियौं, एउटा भयावह वातावरणको सिर्जना भयो, चुनाव त्यसलाई वैधानिकता दिनका लागि एउटा मञ्चन गरिएको थियो ।

संसदको असंवैधानिक विघटनमा मौन सम्मति किन गरियो ?

संसदको असंवैधानिक विघटन किन मान्यता दिइयो ? मौन सम्मति किन गरियो ? किन त्यसमा बोलिएन ? त्यसलाई किन उल्टाइएन ? देशमा न्यायालय छैन ? न्याय किन दिइएन? देशमा संविधान र कानुन छैन ? संविधान बमोजिमको फैसला किन गरिएन ? श्रीमान्‌जीहरू न्याय दिनका लागि कुर्सीमा बस्नुभएको छैन, कि केका लागि बस्नुभएको ? न्याय दिनका लागि बस्नुभयो, न्याय किन दिनुभएन समयमा ? निर्वाचनमा किन लगियो ?

हामीले भनेका थियौं, यो निर्वाचनका लागि वातावरण छैन । आज भनेको होइन, त्यसै बेला भनेका छौं हामीले । सुरुदेखि निर्वाचनका लागि वातावरण बनेको छैन । हामीलाई एक्ल्याइयो, एक्लै पारियो । बहिष्कार गरे पनि हुन्छ यिनीहरू अलग्गिउन् । अलग्गिएर उनीहरूलाई गलत व्याख्या गरेर फेरि प्रहार गर्ने एक्ल्याएर भन्ने हिसाबले । त्यसकारण हामीले त्यो गल्ती गरेनौं । निर्वाचनमा अनुचित र नबनेको वातावरणमा पनि भाग लियौं । एमाले यति बलियो रहेछ नि विश्व लागेर सिध्याउँछु भन्दाखेरि पनि एमाले छ त । अहिले पनि देशमा एउटा सत्ता पक्ष छ, कति दिनको हो । एउटा प्रतिपक्ष छ मुख्य रूपमा अस्तित्वमा रहेको, नेकपा एमाले हो । सरकारको पखेटा मुनि रहेर र जोगिएर प्रतिपक्ष हुँ भन्न नेकपा एमाले चाहँदैन । पखेटाको ओत लागेर होइन, प्रतिपक्षको भूमिकामा नेकपा एमाले रहन्छ । किनभने यो देशको र देशको हितको रक्षाका लागि । हामीले देख्यौं विभिन्न फोरमहरूमा देखेका छौं । हामीले प्रधानमन्त्री र अर्थमन्त्रीको बोलाई सुनेका छौं । कोपमा नेपालको सहभागिता यसपल्ट तुर्कीयेमा हेर्‍यौं हामीले । बेहालको सहभागिता रह्यो । वातावरणीय पर्यटन- पर्यटनको प्रश्न होइन । ग्लोबल वातावरण, नेपालको हिमाल र ग्लेसियरको रक्षाको प्रश्न हो । हिमालको रक्षाको प्रश्न भनेको यस भूभागको रिचार्ज सिस्टम, जनधनको सुरक्षा, यस भागको मरुभूमीकरणबाट जोगाउने कुरासँगको प्रश्न हो । त्यसो भएर यसको असर ग्लोबल छ, ग्लोबल असरको प्रश्न हो । यस कुरामा जानुपर्थ्यो । यस कुरामा जानेतर्फ ध्यान देखिएन । पहिलो कुरा त धर्ती, यसको इकोसिस्टम, वातावरण र मौसमको रक्षा । यी कुरा नै हुन सकेनन् भने केको पर्यटनको कुरा आउँछ? तसर्थ हामीले हाम्रो यो प्रतिवेदनमा उल्लेख गरेका छौं । हामीले कस्तो प्रतिपक्ष हुनुपर्छ भन्ने कुरा यस दस्तावेजमा पनि उल्लेख गरेका छौं । दस्तावेज कमरेडहरूको हातमा छ ।

हिजो उपाध्यक्ष कमरेड विष्णु पौडेलले प्रतिवेदन पेस गर्दा साथीहरू छटपटाएको मैले देखें । पढ्न पनि टाइम लाग्छ, दोहोर्‍याएर गएर फेरि साथीहरूले घरमा पनि तेहेर्‍याएर पढ्नुहोला । जनताका बीचमा जाँदाखेरि आफू सही तर्कयुक्त ढंगले हामीले के गरेका थियौं भन्ने कुरा त सम्झाउनुपर्‍यो नि जनतालाई, बिर्साइदिएको छ । जनताका आँखामा पट्टी बाँधिएको छ । कानमा विष हालिएको छ । त्यो विष लागिराखेको छ जनतालाई । गाउँघरतिर भेदेको भन्छन् नि । यहाँ अन्तर्राष्ट्रिय साम्राज्यवादी, पुँजीवादी, विस्तारवादी अनेक शक्तिहरूको भेद छ क्या । नेपाली जनतालाई भेदेको छ, भेद निकाल्नु परेन? अब यहाँ निकाल्ने धामी अरू कोही निस्किँदैन, हामी नै हो, ढ्याङ्ग्रो ठटाउने हामीले हो अब । भेद निकाल्नुपर्छ । र जनतालाई भेदबाट मुक्त गरेर छर्लङ्ग पार्नुपर्छ । पट्टी आँखाबाट खोल्दिनुपर्छ, कानबाट हालेको विष निकाल्दिनुपर्छ । त्यसो गरेपछि हामी जित्न सक्छौं । मुख्य कुरा यही हो । यसै कारण पहिलो बुँदामा हामीले सत्य संवाद भन्ने राखेका छौं । हाम्रा १५ वटा काम मध्ये सत्य संवाद किन राखेको भन्दा यो भेद निकाल्ने कुरा हो, जनतालाई भेदिएको छ । जनतालाई भ्रममा र अन्योलमा पारिएको, गलत कुरा बताइएको, सही कुरा ढाकछोप गरिएको छ । के गरे ३५ वर्षमा, के गरे ३६ वर्षमा ? पोहोरको साल के गरे ३५ वर्षमा भन्थे । हामीले छोडेको एक वर्षभन्दा बढी भइसकेपछि के गरे ३६ वर्षमा भन्छन्, एक वर्ष फेरि थपियो । हामी सरकारबाट हटाइसकेपछि फेरि एक वर्ष थपियो । के गरे ३६ वर्षमा ? अर्को वर्ष भन्नेछन् के गरे ३७ वर्षमा ?

हिजो उपाध्यक्ष कमरेडले बहुत राम्ररी राख्नुभयो । हामीले कस्तो अवस्थामा सरकार चलाएका छौं । पार्टी एकीकरण भएर झन्डै दुईतिहाइको सरकार रहँदा पनि एउटा पार्टीको जस्तो भन्दा संयुक्त मोर्चा जस्तो गरेर चलाउनु पर्यो । क्याबिनेटमा कुनै प्रस्ताव राखेपछि अर्को मन्त्रीले सोध्छ, अर्को अध्यक्षसँग परामर्श गर्नुभएको छ तपाईंले ? भनेर । मैले जवाफ दिनुपर्थ्यो यो मेरो कुरा हो, अर्को अध्यक्षसँग परामर्श भयो भएन यो तपाईंले रुचि राख्ने कुरा होइन भनेर । क्याबिनेटको बैठकमा अर्को अध्यक्षको सहमति छ कि छैन यसमा, छ भने मेरो छ नत्र भने छैन भने जस्तो कुरा गर्छ मन्त्रीले ।

अनेक व्यवधानका बीचमा, दृश्य कस्तो थियो पार्टीभित्र तपाईंहरूले देख्नुभएको छ । म जाँदै थिएँ, यस्तो मञ्चमा कुर्सीहरू थिए । मञ्चका कुर्सी बोकेर तल कुद्दैछन् मान्छे । के गरेको भन्ठानें । संसारभरि मञ्च हुन्छ, किनभने मञ्च नभएदेखि म त्यहाँ बसेर यतातिर फर्केर बोल्दाखेरि को बोल्यो, कहाँबाट आवाज आयो, तपाईंहरूले रेडियो बोलेको हो कि मान्छे कसरी थाहा पाउनु ? माइक र पोडियमबाट बोल्नुपर्‍यो, जहाँ पनि हुन्छ । त्यसो भएर अर्को पल्ट म भर्खर अप्रेसन गरेर आएको हुनाले अलि कडा कुर्सीभन्दा नरम राखेको रहेछ मेरो लागि । फेरि अर्को अध्यक्षलाई पनि मानसम्मान घटाउनु नहुने भएर उस्तै कुर्सी ल्याएर राखेको रहेछ । यी कसैका लागि बेग्लै खालका कुर्सी राख्न पाइँदैन भनेर केही क्रान्तिकारीहरू गएर कुर्सी तान्दै रहेछन्, तल लगेर घिसार्दै रहेछन्, फ्याँक्दै रहेछन् । अचम्म लाग्यो । मैले भनें- ए बाबा  म त गुन्द्रीमा, गजेरामा सुतेर, भुइँमा बसेर, गाईभैंसी चराएर आएको मान्छे । मलाई कुर्सीको कुनै मोह होइन । त्यसकारण जहाँ पनि म बसेर काम गर्न सक्छु । तर यो तरिका चाहिँ भएन तपाईंहरूको । नेकपा एमालेको स्थायी कमिटीका लिडरसिपमा भएका मान्छेहरू यस्ता नहुनुपर्थ्यो । तर थियो, त्यस्तो अवस्थामा काम गर्नुपरेको थियो । त्यतापट्टि म अहिले जान चाहन्नँ । कति मात्रै भनेको भने काम गर्न सजिलो थिएन ।

गत वर्ष हाम्रो एकल सरकार थिएन । कांग्रेस जस्तो प्रमुख प्रतिद्वन्द्वी र कांग्रेसका केही वर्गीय आचरण, चरित्र, स्वभाव र वर्गीय चिन्तन छन् । त्योसँग मिलेर, सहेर काम गर्नुपर्थ्यो, त्यो अवस्था पनि हो । त्यसो भएर हामी निर्बाध आफ्नो ढंगले अगाडि बढ्न सक्ने अवस्था थिएन, हाम्रा लिमिटेसन थिए । तसर्थ त्यो लिमिटेसनका बीचमा हामीले काम गर्नुपरेको छ ।

तर पनि हामीले असाधारण काम गर्‍यौं, विष्णु कमरेडले हिजो स्पष्ट गरिसक्नुभएको छ, म त्यसमा धेरै गइरहन चाहन्नँ । ती लिमिटेसनका बीचमा पनि हामीले के के काम गर्‍यौं, हिजो प्रस्तुत भइसकेको छ । पुस्तिका छ, कमरेडहरूले त्यसलाई राम्रो अध्ययन गरेर यो कुरा जनताका बीचमा लिएर जानुहोला । हामीले के काम गरेको छ ३५ वर्षमा भन्दा यसमा सबै कुरा परेको छैन । सयौं कुरा परेका होलान् । हामीले कति हजार, कति महत्त्वपूर्ण काम गरेका छौं । त्यसकारण यसमा थोरै परेको छ । अरू स्थानीय कुराहरू कमरेडहरूलाई थाहा छ स्थानीय तवरमा के भए । मैले भन्ने गरेको छु- एमालेले गरेको विकास हेर्न कहाँ जाऔं भनेर भनिरहनुपर्दैन । जहाँ उभिएका छौ त्यहाँबाट वरिपरि फर्केर हेर्दा एमालेले गरेको विकास बाटामा, खानेपानीको ट्याङ्कीमा, विद्यालय भवनमा, अस्पतालमा देखिन्छ, अर्को ठाउँमा देखिन्छ । जेष्ठ नागरिक छौ भने आफैंले बुझेको भत्ता सम्झिँदाखेरि पुग्छ । प्रहरी सेनाका जवान छौ भने आफूलाई बढाइदिएको श्रेणी सम्झिए पुग्छ । नेकपा एमालेले तलब वृद्धि, पोसाक, बुटमा के गर्‍यो ती कुराहरू सम्झिए पुग्छ । कर्मचारी छौ भने के गरेको थियो, त्यो सम्झिए पुग्छ ।

हामी पञ्चायत काल हुँदा बहुदल व्यवस्था आउँदासम्म अधिकांश नेपाली जनता खाली खुट्टा हुन्थे, चप्पल लगाउने स्थिति थिएन । अहिले चप्पल नलगाएको एकजना मान्छे नेपालमा भेटिँदैन । यो कत्रो ठूलो परिवर्तन हो । अहिले चप्पल र जुत्ता लगाएकै मान्छे हुन्छ कमसेकम । जाडो मौसममा न्यानो कपडा ज्याकेट लगाएर हिँड्नु भनेको साधारण कुरा थिएन । ज्याकेट पनि त्यति पाइँदैनथ्यो । अहिले त ज्याकेटका पसल मात्रै हेर्नुपर्दछ, दुई चारवटा दुई चारवटा पसल पछाडि फेरि आउँछ । न्यानो कपडा, स्विटर, भित्र लाउने थर्मोकोटको पसल आउँछ । नेपाली जनताले किनेका छन्, लगाएका छन् । नत्र भने जाडोमा बस्नुपर्थ्यो । अहिले त्यो अवस्था छैन ।

चरम गरिबी इन्टरनेसनल मूल्यांकनले निकालेको नेपालमा छैन । ०.०३ प्रतिशत मात्रै छ भनेको चरम गरिबी मानिँदैन । नेपालमा चरम गरिबी सिद्धिएको छ र त्यो सिध्याएको नेकपा एमालेले हो ।

अहिले रोजगारीका कुरा चल्छ नि । यदि सुनकोशी मरिण डाइभर्सनका कामहरू अगाडि बढाएको भए पावरहाउसको काम हुन्थ्यो, ट्रान्समिसन लाइनको काम हुन्थ्यो, विद्युत वितरण, अनि विभिन्न ठाउँमा त्यो विद्युत पुर्‍याएपछि त्यसका लागि गर्नुपर्ने काम हुन्थ्यो । बागमतीको पुल र बाँधको इम्प्रुभमेन्ट गर्नुपर्दछ, त्यो काम हुन्थ्यो । रिभर ट्रेनिङ, तटबन्ध हुन्थ्यो, त्यसमा काम हुन्थ्यो । १ लाख ८६ हजार बिघा मधेसको जमिन एक बाली लागेका ठाउँमा तीन बाली लाग्थ्यो । अहिले जति उत्पादन हुन्छ, एक बालीमा त्यो भन्दा तीन गुणा बढी उत्पादन तीन पल्ट बाली लाग्थ्यो । के हुन्थ्यो? त्यसबाट अनेक सहायक उद्योग व्यवसायहरू सिर्जना हुन्थे । त्यसले पशुपालन, मत्स्यपालन, फलफूल र सब्जी खेती बढाउँथ्यो । अनेक चिज त्यसले गर्थ्यो नि त । त्यसो भएर रोजगारी पाउने ठाउँ जति बन्द गर्दै गएपछि, उद्योगधन्दा बन्द गर्दै गएपछि, उद्यमीहरूलाई भागाभाग बनाएपछि, नयाँ उद्योग नखोलेपछि, निर्माण कार्य ठप्प भएपछि रोजगारीका अवसर कहाँबाट हुन्छ ? सरकारी जागिरमा कहिले खाली हुन्छ अनि त्यो खाली भएका ठाउँ मात्रैले पुग्छ ? त्यसो भएर सरकारी जागिरको भर पर्नु हुँदैन । यसैले अहिले रोजगारीका अवसरहरू घटेका छन् ।

युवाहरूको विदेश पलायनको सम्बन्धमा अहिले सरकारमा हुने नेता र पार्टीहरू चिच्याएको चिच्याई गर्थे पोहोर सालसम्म । यता झन् वृद्धि भएको छ झन् ठूलो संख्या । एयरपोर्टको लाइन देखाएको देखाई गर्थे टेलिभिजनहरूले, कहाँ गए अहिले ती टेलिभिजन? एयरपोर्टमा भरिभराउ मान्छे देखाएर रुवाबासी मच्चाउँथे, कहाँ गए ती रुवाबासी कमला मनहरू? हाम्रा छोराछोरी यसरी विदेशिए भनेर कोकोहोलो हुन्थ्यो । अहिले विदेशिएकोमा पिरचिन्ता हरायो? सिद्धियो? किन आउँदैन दिनेपिच्छे एयरपोर्टको लाइन? पासपोर्टको खुब देखाउँथे, अहिले कहाँ गयो? त्यसो भएर हामीले जे सिस्टम डेभलप गरेका थियौं ती सिस्टमहरू समेत अहिले भत्किएका छन् । अब म पहिलो कुरा मै जाँदै थिएँ कि हाम्रा दुइटा अभिभारा मध्ये लोकतन्त्र पुनर्स्थापना र हामीले बिर्सन नहुने अभिभारा हो, नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति किन बनाउनु परेको छ । हाम्रो संकल्प हो नेकपा एमालेलाई नेपालको निर्णायक राष्ट्रिय शक्तिको रूपमा हामी विकास गर्छौं । किनभन्दा लोकतन्त्र र देशको रक्षा गर्न, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, हाम्रो सीमा र भूमिको रक्षा गर्नका लागि नेकपा एमाले निर्णायक शक्ति हुनुपर्‍यो । यो निर्णायक शक्ति हुनैपर्‍यो किनभने यसले बहुआयामिक ढंगले देशको विकास गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउन, नयाँ सोच, विकासका मोडल र कृषिको आधुनिकीकरणका काम तथा योजनाहरू हामीले जुन अगाडि सारेका छौं, हामीले इच्छा मात्रै गरेका र कामना गरेर मात्रै बस्दैनौं । हामीले नीति र योजना बनाएर त्यस अनुसार अगाडि सारेका छौं । धौबादी फलाम खानी छ कि छैन खोज्नुपर्दछ भन्ने अवस्था रहेन अब । त्यसको निकाल्नु र प्रशोधन गर्नुपर्ने छ, काममा गति छैन । गत वैशाखबाट व्यवसायिक प्रयोजनका लागि उत्पादन सुरु गर्नुपर्ने थियो दैलेखको ग्यास खानीबाट । १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास जो प्रदूषण र कार्बन कम उत्सर्जन गर्छ । अत्यन्तै राम्रो ग्यास छ । त्यसको व्यवसायिक उत्पादन अस्तिबाट सुरु हुन्थ्यो । हामीले प्रशोधनका लागि त्यहाँ फ्याक्ट्री स्थापना गर्ने र अरू काम गर्नुपर्थ्यो ।

‘समृद्ध नेपाल सुखी नेपाली’ त्यही हो समाजवाद भनेको । नेपाली जनता समृद्ध हुनुपर्‍यो हरेक हिसाबले, नेपाल आधुनिक हुनुपर्‍यो र नेपाली जनता बहुआयामिक सुखमा हुनुपर्‍यो । सुखी भनेकै बहुआयामिक सुख हुन्छ । खुसी क्षणिक र विषयगत हुन्छ । तर सुख भनेको बहुआयामिक र सम्पूर्ण हुन्छ । हामीले सुखी नेपाली भनेका छौं, खुसी नेपाली होइन । खुसी त एकछिन्का लागि, एउटा विषयका लागि, क्षणिक कुरामा हुन सक्छ । सुख प्राप्ति भनेको बहुआयामिक सम्पूर्ण पक्षको कुरा हो ।

त्यसो भएर हामी यस उद्देश्यका लागि, त्यसका लागि नेपाल बलियो, स्वाधीन, गौरवपूर्ण ढंगले उभिएको हुनुपर्‍यो । नेपालले पर्याप्त विकास गरेको र नेपालको अर्थतन्त्र आत्मनिर्भर हुनुपर्‍यो । त्यही विषयमा हामीले कामना गरेर बसेका छैनौं, नीति, योजना र कार्यक्रमका साथ अगाडि बढेका छौं ।

आन्दोलनको सन्दर्भमाः झापा आन्दोलनले एक प्रकारको आन्दोलनको सिर्जना गरेको थियो । त्यसपछि वर्गहरूको अवस्थिति र हैसियतमा परिवर्तन, शासकको हैसियत, जनताको अवस्था, चेतना र संगठनमा परिवर्तनलाई मूल्यांकन गरेर हामीले अब ०३६ सालको आन्दोलन भन्दापछि स्पष्ट रूपमा जनता बलियो भएको देखियो । जनतामा चेतना र त्यसमा आधारित परिवर्तनकारी संगठन मजबुत भएको देखियो, र शासकहरूको शक्ति र मनोबल कमजोर भएको देखियो । त्यसकारण ०३७ सालबाट हामीले संघर्षका तरिका र स्वरूपहरू बदल्यौं ।

प्रचण्डजीले ०५२ सालबाट अर्को गलत नीति लिनुभयो, जसले सफलता प्राप्त गर्न सम्भव थिएन । हामीले ०३७ सालमा नै त्यसलाई बुझ्यौं र परिवर्तन गर्‍यौं । त्यसपछि ०४६ सालको हाम्रो चौथो महाधिवेशनले अझ राम्ररी स्पष्ट गर्‍यो र जनताको बहुदलीय जनवाद वास्तवमा ०४६ सालको चौथो महाधिवेशनमै प्रतिपादित भयो, नामाकरण हामीले पछि राख्यौं ।

जननेता मदन भण्डारीलाई हामीले महासचिव छान्ने सन्दर्भमै आधारभूत रूपमा जनताको बहुदलीय जनवाद त्यतिबेर नै प्रणालीगत रूपमा, प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली आदि कुराहरू त्यसैबेला राख्यौं । र त्यसलाई बढी स्पष्ट ढंगले नामाकरणसहित दस्तावेजीकरण पाँचौं महाधिवेशनले गर्‍यो । आजको परिस्थितिमा हामी जनताको बहुदलीय जनवादबाट निर्देशित भएर अगाडि बढिरहेका छौं । त्यो निर्देशन समाजवाद भन्ने हो । त्यो समाजवाद के हो भनेर हामीले आज मूर्त रूपमा समृद्ध नेपाल सुखी नेपाली हो भनेर अमूर्त कुरा गर्न भन्दा मूर्त ढंगले समाजवादको परिभाषा अगाडि सारेका छौं । यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्दछ । बिना आन्दोलन र जनताको शक्ति... त्यो त आन्दोलनले कतिबेला कुन मात्रामा कसरी अगाडि बढ्नुपर्दछ जनताले भन्ने कुरा आन्दोलनले तय गर्छ । त्यसकारण हामी तयार मानसिकतामा बस्नैपर्दछ आन्दोलनका लागि । हामी आन्दोलनकारी शक्ति हौं । त्यो एउटा कलिलो छोरीले भने जस्तो फेसबुकमा चलाउने हो भने त्यतिसम्मको ठीकै छ, सडकमा जाने हो भने त गइँदैन भन्ने । त्यो त आफ्नो खुसी हो । त्यो बच्चीको कुराका पछाडि लाग्ने कुरा होइन । हामी आन्दोलनकारी शक्ति हौं, आन्दोलनका लागि हरदम र बलिदानको लागि हरदम तयारी हुनुपर्दछ ।

एउटा चकलेट किन्दाखेरि पनि मूल्य पर्छ हो त्यसको । अलिकति कहीँ ठोकियो भने पैसा लाग्छ, खर्च हुन्छ, मूल्य तिर्नुपर्छ । संविधान मिचिएको छ, लोकतन्त्र अपहरित भएको छ । त्यसलाई फेरि ठीक ठाउँमा ल्याएर अगाडि बढ्नका लागि कुनै मूल्य लाग्दैन होला? एक ठाउँबाट अलिक पर पुग्न पठाओ, इनड्राइभ, राइड सेयरिङमा जाँदा मूल्य लाग्छ । अनि यत्रो डेमोक्रेसीका लागि हामी लडिराखेका छौं भने त्यहाँ अलिकति पनि मूल्य चाहिँदैन होला? अझ यस्तो ब्रुट, फासीवादतर्फ उन्मुख, नाजीवादतर्फ उन्मुख, निर्मम ! आफ्नो नेता गिरफ्तार गर्दा शान्तिपूर्ण ढंगले विरोधमा सडकमा उत्रिँदा पुलिसको हाकिम भन्छ, ठोक, झोलेलाई ठोक, यो पनि झोले, त्यो पनि झोले ! पुलिसको भाषा ! आज एकदम आनन्द आयो ! भन्छ त्यहाँको अफिसर । त्यतिबेला काठमाडौंको एसपीको उन्माद ! मलाई हस्पिटलमा भेट्न गएको थियो । भेट्न जाँदा मैले भनें, यस्तो निर्मम ढंगले किन कुटेको ? ‘मैले लगाएको हजुर, मज्जाले कुटेन अनि मैले दुइटा सिपाहीलाई ड्याङ्की ड्याङ यसरी पो पिट्नुपर्छ भनेर डण्डाले बेसरी दिएपछि हजुरले पनि हेर्नुभयो होला टेलिभिजनमा,  मैले त्यसरी दिएपछि बल्ल मज्जाले ठटायो । मैले हानेको हुँ हजुर ।’ कत्रो ठूलो एसपी, मसँग हस्पिटलको बेडमा मैले पुलिसलाई चुटेर यसरी चुट्नुपर्दछ भनेर लगाएको, त्यसो भन्ने आँट गर्नेगरीको उद्दण्ड! नेकपा एमालेका कार्यकर्ता झोले हुन् भने पनि कुट्न पाइन्छ? झोले भए अरे कुट्न पाइन्छ? झोले हो भन्दै कुट्दै गर्छ उत्ताउलिएर । सरकार के एउटा नयाँ बनेको थियो, भुइँमा खुट्टा छैन, अचम्म !

हस्पिटलमा गएर बिमारीको बेडमा म सुतेको ठाउँमा काठमाडौं जिल्लाको एसपीले मलाई भनेको, ‘मज्जाले डण्डा नहानेको हुनाले मैले पुलिसलाई चाहिँ ड्याम ड्याम यसरी डण्डा हानेर यसरी हान्नुपर्छ भनेर उसैलाई घाइते बनाएपछि अनि अरूले चाहिँ ड्याङ्का ड्याङ हाने, मैले हानाएको ।’ कानमा अहिले पनि मेरो गुन्जिराखेको छ । मैले यसो त्यो एसपीको अनुहारमा हेरें । बाबु, समय गतिशील छ ।

त्यसो भएर यस्तो सरकार भएका देशमा हामी ढुक्कले केही पनि हुँदैन र गर्दैन भनेर होइन, गर्न सक्छ । परेको बेहोरौला, सहौंला, बुझाउँला । अरिंगाल खायौं, बच्छी खायौं भने जस्तो । राणाशाहीसँग लडेर आएका पार्टी हौं, राणाशाही भएका बेला र राणा शासनमा गठन भएको पार्टी हौं हामी ।

हामीले आन्दोलन पुनर्गठन गरेर अगाडि बढाउँदा निरंकुश राजतन्त्र र निर्दलीय दमनकारी र तानाशाही पञ्चायती परिपाटी थियो । त्यस्तोमा लडेर आएका हौं हामी । तर्सिने कुरा छोड्दिऊँ । हामी अनेक यातना, जेल, नेल, भूमिगत अत्यन्तै कठिन परिस्थिति झेलेर आएका हौं । अहिलेको पुस्तालाई दन्त्यकथा जस्तो लाग्छ । तर यथार्थ हो । यस ठाउँमा हामीले ल्याईपुर्‍याएका छौं । हामीले धक्का खाएका छौं । तर लडेका हौंला, मरेका होइनौं, हामीले धेरै पल्ट भनेका छौं । हामी फेरि उठ्छौं । हामी हार्न जन्मिएको पार्टी होइन, जित्न जन्मिएको हो । सबैले थाहा पाउनुपर्छ ।

अब दोस्रो कार्यभार हाम्रो निर्वाचनको छ । हिजो निर्वाचनको सन्दर्भमा महासचिव कमरेड शंकर पोखरेलले सविस्तारै राख्नुभएको छ । मैले थप धेरै भनिरहनुपर्दैन । निर्वाचन जित्नका लागि हामीले अहिलेका हाम्रा १५ काम भनेका छौं, दोस्रो कार्यभारको कुरासँग । पहिलो कार्यभार पनि त्यसमा जोडिन्छ १५ कामसँग । यो सिङ्गै पार्टीको जीवनसँग, वर्तमानसँग, अहिलेका तात्कालिक काम र भविष्यसँग पनि जोडिएको छ । दुई कार्यभार र १५ वटा काम ।

त्यो १५ वटा काम योजना बनाएर कमरेडहरूले यहाँबाट फर्किएपछि गर्नुपर्छ । दुइटा कार्यभार त बुझ्ने कुरा हो, हाम्रा कार्यभार यी रहेछन् र पूरा गर्नुपर्ने रहेछ । गर्नुपर्ने त्यसका लागि चाहिँ १५ वटा काम हो । १५ वटा काम गर्न योजना बनाउनुस् स्थानीय तवरमा, आ-आफ्नो ठाउँमा । डुप्लिकेसन भएर केही पनि छैन । जिल्लाले, पालिकाले, वडाले आफ्नो योजना बनाउनुस् । योजना बिना काम गर्‍यो भने सफलतामा पुगिँदैन । योजनाबद्ध ढंगले काम गर्नुपर्ने हुन्छ । त्यसकारण पहिले कमरेडहरूले योजना बनाउनुस् । चुनाव जित्ने र विजय हासिल गर्ने, पार्टीलाई सफल बनाउने, जे भन्नुस्, योजना बनाएर काममा अगाडि बढ्नुस् । १५ वटा कामको योजना बनाएर अगाडि बढेपछि त्यहाँ हामीले सबै कुरा राखेकै छौं । हामी सबैभन्दा पहिले कोसँग एकता, तालमेल वा के होला, यसको यति जोड्न पाए यसो हुन्थ्यो । त्यो तपाईंको हेक्का राख्नुस् तर आफैंले जित्ने योजना बनाउनुस् । गर्न चाह्यो भने असम्भव भन्ने कुरा केही पनि छैन ।

यहाँ अहिले जति साथीहरू उपस्थित छौं, हामी यो भन्दा बढी संख्यामा सहभागी हुन पाइनँ भेलामा भन्ने साथीहरूको असन्तुष्टि छ । अर्थात् राष्ट्रिय भेलामा म पनि जान पाउनुपर्थ्यो भन्ने साथीहरू यहाँ उपस्थित भएका भन्दा बढी हुनुहुन्छ । यो त सानो कुरा होइन नि त । पार्टीमा उत्साह छैन भन्ने? आफैंमा उत्साह छैन भने बेग्लै कुरा । अब म त पार्टीमा उत्साह देख्छु । हुन त अत्यन्त अप्ठ्यारो परिस्थितिमा नेल हत्कडी लगाएर, फाँसीको सजाय माग गरेर, फाँसी पर्खिएर गोलघरमा बस्दाखेरि पनि आत्मविश्वास नमर्ने मान्छे हुँ म । यो पञ्चायत ढालिन्छ, राजतन्त्र फालिन्छ, हामी सरकार बनाउँछौं, हाम्रो सरकार हुन्छ भनेर मृत्युदण्ड पर्खिएर नेल हत्कडी लगाएर गोलघरमा बस्दा त्यतिबेला पनि त्यो आत्मविश्वास राखेर बाँचें, नत्र म बाँच्दैनथें । त्यत्तिकै रोग पनि थियो ।

मेरो त्यो आत्मविश्वास भएको हुनाले म के ठान्छु भने- यो आत्मविश्वास यो पार्टी पुनर्गठन गर्न थाल्दादेखि, कमसेकम ५७ वर्षदेखि यता त्यो आत्मविश्वास कहिल्यै अलिकति पनि डगमगाएको छैन । त्यही आत्मविश्वासले घबडाउँदा पनि घबडाउँदिनँ, हडबडाउँदा पनि हडबडाउँदिनँ । प्रधानमन्त्री हुँदा पनि बुरुकबुरुक खुसी भएर नाच्ने होइन । प्रधानमन्त्रीबाट हट्दा पनि केके न गयो जस्तो होइन । कोही पनि सधैंका लागि बन्दैन । अघि वरिष्ठ नेताले भन्नुभयो, कुनै जिम्मेवारी प्राप्त गर्नु भनेको सुखसयल मनाउने अवसर होइन, जनता र देशको सेवा गर्ने जिम्मेवारी हो । हो त्यही कुरा बुझेर नै म सदैव चलेको हुँ ।

सत्य संवाद र झुट चिर्न सक्दैनौं, अनि के चाहिँ गर्छौं त हामी ?

मैले के विश्वास लिएको छु भने- हाम्रो कार्यकर्ता पंक्ति निराश हुँदैन । केही नहुँदाखेरि हामीले पुनर्गठन गरेर अगाडि बढेका थियौं, केही नहुँदा । आज यत्रो पार्टी र अनुभवी कार्यकर्ता छन् । केही नजानेका हिँड्दा हिँड्दैका मान्छे आएर कोही सांसद, कोही मन्त्री भएका छन् । बोलाई सुन्नुस् त कस्तो छ, ओहो ! बोलाई सुन्दा कहिले आफैं घण्टाकर्ण बनुँ जस्तो लाग्छ । कानमा घण्टी बाँधेर मुन्टो हल्लाउँदै घन्ट्याङ घन्ट्या पार्दै नसुनियोस् भनेर हिँडुँ जस्तो । अब चिन्ह उनीहरूले लिएको छ फेरि घण्टी । त्यो घण्टी चाहिँ अरूका कुरा नसुन्ने हो फेरि । हामी अरूका नसुन्ने होइन । गाली गलौज असभ्य शब्द जो उनीहरू भनिराखेका छन्, त्यो मात्रै सुन्न नसक्ने हो हामीले । सुनिसक्नु शब्दहरू छैनन् । हामी त्यस्तो सभ्यता र संस्कृतिमा जाँदैनौं । हामीले सत्य कुरा बोल्दा उनीहरूलाई अपच हुन्छ, यस्तो पनि बोल्न पाइन्छ भनेर । कस्तो परिभाषा आएको साँचो बोल्न नपाइने, झुटैझुट बोल्नुपर्ने के हो त्यो ? ‘झुट बोलिन्नँ, सत्य छोडिन्नँ’ सत्य बोलिन्छ, सत्य बोल्नुपर्छ ।

तपाईंहरूलाई अब आउँदो चुनाव हामी जित्छौं भन्ने आत्मविश्वास छैन ? जित्छौं नि हामी । हामीले अवश्य जित्नुपर्दछ । यत्रो संगठन छ, अनि यो संगठनबाट चुनाव पनि नजित्ने हो भने के चाहिँ गर्छौं त हामी चुनाव आइसक्यो अगाडि । चुनाव पनि जित्न सक्दैनौं भने के गर्ने यो संगठन ? आन्दोलन पनि गर्न सक्दैनौं, चुनाव पनि जित्न सक्दैनौं, जनताका बीचमा पनि जान सक्दैनौं, प्रचार, सत्य संवाद र झुट चिर्न सक्दैनौं, अनि के चाहिँ गर्छौं त हामी ? भात खान्छौं, बस्छौं ? के गर्छौं त ? हिप्पोपोटामसको जस्तो विशाल ज्यान बोक्छौं ? हाम्रो पार्टी महान् छ भनेको क्रियाशील, गतिशील, सक्षम छ । समाज परिवर्तनका लागि बनेको हो, समाज परिवर्तनका लागि सक्षम छ, त्यो न कुरा हो । समाज परिवर्तनका लागि अहिले दुइटा कार्यभार छन् । एउटा लोकतन्त्रको पुनर्स्थापना र संविधानको रक्षा, त्यस मार्फत् अगाडि बढ्ने । दोस्रो, चुनाव अगाडि आउँदैछ, चुनाव असाधारण ढंगले हामीले जित्नुपर्दछ, जित्छौं ।

त्यो तयारी र आत्मविश्वासका साथ एकताबद्ध हुन्छौं हामी । पार्टीमा अनेकता जस्ता कुराहरू, कुनै मतभेद पार्टीभित्र वैचारिक रूपमा छैन । कुनै मतभेद छैन । अनि आफ्ना स्वार्थ अगाडि सारेर कसैले मतभेद र अनेकताको सिर्जना गर्न हुन्छ ? राष्ट्रिय स्वार्थमा हामी चलौं । देश र जनताको स्वार्थ, पार्टीको हितमा अगाडि सरौं हामी । हाम्रो पार्टीको हित भनेको देश र जनताको हितभन्दा फरक छैन । त्यसकारण हाम्रो पार्टीको हितमा अगाडि सरौं । हामी अगाडि बढ्ने त्यसरी हो ।

एउटा कुरा म स्ट्रिक्ट्ली भन्न चाहन्छु, हामीले भनेका पनि छौं- वरीयतामा जेष्ठताको पनि अर्थ हुन्छ, नहुने होइन । तर त्यही सबकुछ होइन । यति सालमा सदस्यता लिएको थिएँ भनेर हुँदैन । अहिले काममा जुटेको र डटेको हुनुपर्दछ । कामको आधारमा मूल्यांकन हुन्छ । जेष्ठताको आधारमा सदस्यता कहिलेको थियो, कुन कमिटीमा बसेको भनेर मात्रै  पनि हुँदैन ।

हाम्रा साथीहरू अप्ठ्यारो नमानीकन भन्नुहुन्छ । दुइटा कुरा एकैचोटि गर्नुहुन्छ । हिजो महासचिव कमरेडले पनि राख्नुभएको छ । ‘हस्तान्तरण र पुस्तान्तरण’ चाहिँ भन्यौं हामीले तर हुनै सकेन । कोही पनि एउटा पोस्ट पाएपछि त्यो भन्दा तल्लो पोस्टमा बस्नै तयार हुँदैन । अनि कसरी हस्तान्तरण पुस्तान्तरण? भगवानसँग छिटो खाली गर्देऊ भन्ने? नत्र त खाली नै नहुने भयो त । कहाँबाट नयाँ कार्यकर्ता भर्ती गर्नु त? काम गर्न सकिँदैन भने छोडिदिनुपर्छ, नयाँलाई ठाउँ दिनुपर्दछ । कामको मूल्यांकनका आधारमा हुनुपर्दछ । नत्र त पर्खेर बस्नुपर्‍यो । दौडन सकिँदैन भने छोड्नुपर्दछ, त्यो मेरो लागि पनि हो, अर्काका लागि पनि हो । काम गर्न नसक्ने अवस्था आयो भने ठाउँ ओगटेर बस्नु हुँदैन ।

हामीले विभिन्न अभ्यास गरेका थियौं । विधानमा विभिन्न पल्ट विभिन्न व्यवस्थाहरू गरेका छौं र आवश्यकता अनुसार संशोधन पनि गरेका छौं । केही केही संशोधित व्यवस्थाहरूका ठाउँमा केही  केही साथीहरूलाई पटक-पटक त्यही गुनासो आइरहन्छ, यो चाहिँ कार्यान्वयन भएन, संशोधन भयो । कार्यान्वयन गर्न उपयुक्त नदेखिएर त संशोधन गर्‍यो होला नि त महाधिवेशनले । महाधिवेशनले संशोधन गरेको होइन र विधान? महाधिवेशनमा हामी थियौं होइन र? केही केही साथीले चित्त नबुझेर विपक्षमा भोट हालेको होइन र? विपक्षमा भोट हालियो । अत्यधिक संख्याले मानेन, अत्यधिक संख्याले अर्को पास भयो । भनेपछि तपाईंको डेमोक्रेटिक राइट एक्सरसाइज गरेर त्यो राइटले काम नगरेपछि अनि महाधिवेशनको निर्णय सरक्क मानेर अर्को महाधिवेशनसम्म जानुपरेन ? अनि जहिले पनि त्यही एकतारे बजाएर र्‍याइँर्‍याइँ गरिराख्ने ?  महाधिवेशनले टुंग्याएपछि एउटा विषय अर्को महाधिवेशनसम्म टुङ्गियो । केन्द्रीय कमिटीले टुंग्याएपछि अर्को कमिटीसम्म टुङ्गियो । अर्को केन्द्रीय कमिटीमा उठाउन पाइन्छ । आन्तरिक केही चित्त नबुझेको छ भने कमिटीमा राख्न पाइयो । कमिटीमा राख्नै पाइएन भन्ने नक्कली गुनासो नगरौं । कमिटीमा राख्दा कसैले मुख थुनेको पनि छैन, कसैले आक्रमण वा केही गरेको पनि छैन । तर पार्टीभित्र छलफलको विषय नबनाउने, पार्टीभन्दा बाहिर गएर फेसबुकबाट विरोधीलाई मौका, अवसर र विषय दिने, अनि विरोधीको प्रशंसा पाएर गमक्क परेर हो न हो म पो रहेछु भनेर उफ्रिने! त्यो खालको तरिका अनुशासनभित्र पर्दैन र मान्य हुन सक्दैन । त्यस कुरालाई रोक्नुपर्छ । हामीले अस्तिको केन्द्रीय कमिटीलाई कट-अफ बैठक भनेका छौं । त्यसभन्दा अगाडि जसले अनुशासनहीन काम गरेको, सामाजिक सञ्जालमा गएको, फेसबुक रंगाएको, अनुशासन तोडेको भए तापनि अस्तिको केन्द्रीय कमिटी बैठकको मितिभन्दा अगाडिका कुराहरूलाई क्षमा गरिएको छ । अस्तिको बैठकले अब उप्रान्त यस्ता कुरा रोक्ने भन्ने सर्वसम्मत संकल्प गरेको छ, त्यो सर्वसम्मत संकल्प कार्यान्वयन हुन्छ । यदि अब पनि अनुशासनको पालना हुँदैन भने त्यो कारबाहीको विषय हुन्छ । र विरोधीलाई खुसी पार्ने काम हामी कसैले पनि गर्नु हुँदैन ।

अचम्म लाग्यो, मेरो गिरफ्तारीभन्दा दुई तीन दिन जति अगाडि एकजना आफूलाई मूर्धन्य नै ठान्ने व्यक्तिको एउटा इन्टरभ्यु आयो टेलिभिजनमा-

‘केपी ओलीलाई गिरफ्तार गर्दाखेरि कार्यकर्ता सडकमा उत्रिन्छन्, विरोध हुन्छ भन्ने हल्ला चलाएका छन्, यो केही पनि होइन । एकजना मान्छे पनि सडकमा उत्रिँदैन । केपी ओलीलाई समात्यो भने सब खुसी हुन्छन्, कोही उत्रिनेवाला छैन, यो भ्रम फिँजाएका मात्रै हुन् ।’

के भनेको होला त्यो  नेकपा एमाले हुँ भन्ने मान्छेले ? आफू नउत्रिनु नि, उत्रिँदैनन् त्यो ठीकै छ । कार्यकर्ता नै उत्रिँदैनन् भनेर, देशभरि उत्रिए त सबै कार्यकर्ता । यसको मतलब ती व्यक्तिलाई केपी ओलीलाई गिरफ्तार गर्दैछ भन्ने थाहा छ, सरकार हच्किराखेको छ, नेकपा एमाले ह्वार्रै सडकमा जाला र थामि नसक्नु होला कि भनेर आत्तिराखेको छ । सरकारलाई ढाडस दिन, केही पनि हुँदैन, एकजना मान्छे पनि सडकमा उत्रिँदैन, केही हुनेवाला छैन, भनेको समात्दा हुन्छ समात भनेको त हो नि । यति त देखिएको बुझिएको कुरा छ नि । यस खालको प्रवृत्ति यो पार्टी प्रवृत्ति होइन । केपी ओलीसँग वा जोसँग होस् मतभेद छ भने पार्टीमा छलफल र कुरा गर्न सकिन्छ । तर गिरफ्तार गरे हुन्छ, कसैले विरोध गर्दैन, समर्थन हामी सबै गर्छौं, के भनेको त्यो ? फेरि एमाले भएर बस्ने ?

अब हामीले आफ्नो तयारी गरौं । १५ वटा काम यो पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ संकल्प भन्ने केन्द्रीय कमिटीले सर्वसम्मत पारित गरेको राजनीतिक प्रतिवेदन छ । यस प्रतिवेदनलाई राम्ररी अध्ययन गरौं र कार्यान्वयन गरौं । अहिले तपाईंहरूले कार्यान्वयन गर्ने आधिकारिक दस्तावेज यही हो । केन्द्रीय कमिटीले पारित गरेको प्रतिवेदन यही हो तपाईंहरूले कार्यान्वयन गर्ने दस्तावेज ।

म स्पष्ट पार्न चाहन्छु, अलमलिनुपर्ने कुनै आवश्यकता छैन । फेरि कसले के वक्तव्य दिन्छ, कता वक्तव्य दिन्छ, त्यस्ता कुराहरूमा अलमलिने होइन, केन्द्रीय कमिटीबाट पारित दस्तावेज यही हो । यो दस्तावेज भन्दा अर्को दस्तावेज पारित नगरेसम्म, नउल्टाएसम्म, अर्को नीति पास नगरेसम्म यही नीति अगाडि जाने हो ।

यसमाथि केन्द्रीय कमिटीमा छलफल गर्न सकिन्छ वा आफ्नो विचार पठाउन सकिन्छ केन्द्रीय कमिटीमा लिखित रूपमा असहमति भएमा पनि । बाहिर असहमति पोख्न मिल्दैन, त्यो अनुशासनको विषय हुन्छ ।

म कमरेडहरूलाई के आग्रह गर्न चाहन्छु भने- मैले अघिदेखि जोड दिएर बोलेको कुरा के हो भने हामी एक्लै तयारी गर्छौं जित्ने । किमती सामान, कमसल सामानको मूल्य बढी हुँदैन । हामी कमसल सामानको रूपमा चुनावमा प्रस्तुत भयौं भने त हाम्रो मूल्य हुँदैन नि अरूसँग मिल्दा पनि । त्यसकारण बलियो भयौं र कमसल सामानको होइन, असल सामान, दरो सामग्रीको रूपमा प्रस्तुत भयौं भने अरूसँग मिल्दा पनि हाम्रो अर्थ हुन्छ ।

हामी अरूसँग मिल्दैनौं होइन । अहिले प्रमुख प्रतिद्वन्द्वी छुट्याउन को हो, के हो गाह्रो भयो भन्ने पनि साथीहरूको कुरा छ । आगजनी, तोडफोड, हिंसा, आतंक, लुटपाट विभिन्न शक्तिहरूको ब्याकिङमा जुन कामहरू भए, गरिए/गराइए, त्यो गर्ने शक्तिहरू हाम्रा प्रतिद्वन्द्वी हुन् । अरू कसैसँग पनि मिलेर त्यो शक्तिलाई हटाउन सकिन्छ ।

अहिलेको स्थानीय तहको निर्वाचनको अर्थ हामीले बुझ्नुपर्दछ । अहिलेको स्थानीय तहको निर्वाचन प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्यहरू छान्ने मात्रै होइन । यो अध्यक्ष उपाध्यक्ष कति हुन्छन्, त्यसको आधारमा राष्ट्रियसभामा सदस्य हुन्छ । भोलि गएर त्यसरी राष्ट्रियसभाको निर्वाचनको पनि यो अंग हो, यसमा भोटर छानिन्छन् राष्ट्रियसभाका निम्ति । राष्ट्रियसभाका सदस्यका भोटर अहिले छानेका अध्यक्ष र उपाध्यक्ष हुने गर्छन् ।

त्यसकारण यसको निर्वाचन यहाँ मात्रै होइन, स्थानीय तहको सरकार संचालन गर्ने कुरामा मात्रै होइन, भोलि प्रदेशसभा गठन गर्ने कुरामा पनि यसको अर्थ छ । त्यसकारण हामीले त्यो गम्भीरतासाथ लिनुपर्दछ ।

प्रदेश सभाको गठन र निर्वाचनको अर्थ प्रदेश सभाले राष्ट्रियसभा पनि बनाउँछ, राष्ट्रपति पनि छान्छ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सभाका सदस्यहरू राष्ट्रपति निर्वाचनका भोटर हुन्छन् । प्रदेश सभाले प्रदेश सरकार बनाउँछ नै । त्यस बाहेक राष्ट्रियस्तरमा महत्त्व राख्ने सर्वोच्च नेता, राष्ट्रको अभिभावक पनि छान्छ ।

त्यसकारण अहिलेदेखि हामीले त्यसलाई बुझेर पछिसम्मको तयारी गर्नुपर्छ । अब हाम्रा चारवटा निर्वाचन लगातार आउँदैछन् । स्थानीय तहको, त्यसपछि प्रदेश सभा र त्यसपछि राष्ट्रियसभाको निर्वाचन । यो स्थानीय तह र प्रदेश सभाको निर्वाचनमै भर पर्छ राष्ट्रियसभाको निर्वाचन । अनि राष्ट्रियसभाको पछि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सभाका सदस्यहरू, त्यो चाहिँ इलेक्टोरल कलेज र निर्वाचक मण्डल हुन्छ । त्यसकारण त्यसको अर्थ त्यसमा छ र अहिलेदेखि हामीले त्यस कुरामा केन्द्रित भएर ध्यान दिन जरुरी छ । यो कुरा हाम्रो कमरेडहरूले बुझ्नुपर्दछ । स्थानीय तहमा अहिले पनि केही समय छ, म कमरेडहरूलाई भन्न चाहन्छु, कतिपय ठाउँमा जनसम्पर्क, जनप्रतिनिधि र जनताको सम्बन्ध टुटेको स्थिति छ । फेरि पनि गएर सम्बन्धलाई निकट बनाउनुस्, फेरि पनि टुटेको सम्बन्धलाई जोड्नुस् । सेवा भाव कमजोर भएको छ, जनतासँगको व्यवहार रुखो भएको छ, जनगुनासो छ । त्यसलाई सच्याउने अहिले पनि केही महिना त समय छ नि तपाईंसँग ।

अर्को, एउटा ढुक्कले काममा लाग्नुस्, जतिबेला चुनाव हुन्छ त्यतिबेलाका लागि हामी तयार हुनुपर्दछ । हामीले देख्यौं नि त ०८४ मा संसदीय निर्वाचन हुन्थ्यो, ०८२ मै भयो त । जे पनि आइलाग्न सक्ने रहेछ नि त । त्यसो भएर जहिले पनि जस्तो लडाइँका लागि पनि तयार हुनुपर्दछ ।

विश्वको इतिहास हामीले पढेका छौं । अप्रत्याशित बीपी कोइराला ०१५ सालमा प्रधानमन्त्री भएकै बेला तरुण दलको सभामा बोल्दै गर्दा गिरफ्तार गरिएका थिए । सेनाको दुरुपयोग भएको थियो, सेना लगाएर गिरफ्तार गरिएको थियो । निर्वाचित प्रधानमन्त्रीलाई त्यसरी गिरफ्तार गर्नु असंवैधानिक मात्रै होइन, लोकतन्त्रको घोर उपहास र राजा महेन्द्रको तानाशाही आकांक्षाको पराकाष्ठा थियो । त्यो एउटा राजनीतिक उद्दण्डता थियो ।

त्यसको प्रतिकार नेपाली कांग्रेसले गर्न सकेन । नेकपा एमाले पनि गत वर्ष त्यस्तो अवस्थामा प्रतिकार गर्न सक्ने अवस्थामा रहेन । किनभने हाम्रो लोकप्रियता विभिन्न ढंगका अफवाहहरूले, झुट फैलाएर, अनेक ढंगले घटाई सकेका थिए । र हाम्रै पार्टीभित्र विभिन्न प्रकारका आपराधिक खेलहरू चलिराखेका थिए । दाउ र अवसर पर्खेर बस्ने खालका कामहरू भइराखेका थिए । के त्यो मौका मिलेको थियो त्यसपछि त ओहो -  मानिलिऊँ एउटा अध्यक्षले नै सम्पूर्ण ध्वस्त पार्यो । आन्दोलन कहाँबाट कहाँसम्म डोर्‍याएर ल्यायो, अप्ठ्यारो परिस्थितिको सामना गर्‍यो भन्ने त छैन । अहिले पनि कतिपय मान्छेहरूमा के पर्छ भने एमालेले गरेका राम्रा कामको चर्चा गरौं न भन्दा तपाईंलाई प्रशंसा चाहिएको छ भन्ने पर्छ । यसले प्रशंसा खोज्यो । एमालेका कामको चर्चा गर्दा त प्रशंसा हुने, नाम र सन्दर्भ आउने भयो भन्ने पर्छ भन्ने मान्छेलाई । यहाँ प्रश्न प्रशंसाको होइन, पार्टीको प्रशंसाको हो । नेतृत्व खुइल्याएर, विस्थापित गरेर कुनै पार्टी सफल हुँदैन । कमरेडहरूलाई म बताऊँ, नेतृत्व खुइल्याउने र झुटो ढंगले खुइल्याउने काम विरोधीहरूले धेरै वर्ष अगाडिदेखि भनेका छन् । त्यही कुरालाई जोड दिएर फेरि अगाडि बढ्ने काम त्यो पार्टीको हितको पक्षमा हुनै सक्दैन, हुँदै होइन ।

वास्तवमा दशौं महाधिवेशनमा पनि आम कार्यकर्ताको धारणा केही मान्छेको बाहेक यो लोकतन्त्र लोकतन्त्र भनेर धेरै बहकिनुपर्ने आवश्यकता छैन । आपसमा र पार्टीमा एकता, विरोधीसँग प्रतिस्पर्धा र विरोधीसँग लडाइँ । अनि पार्टीभित्रै लड्यो, पार्टीभित्रै डेमोक्रेटिक एक्सरसाइज भनेर अनेक बनायो, अनि शत्रुसँग लड्ने बेलामा विभाजित मनस्थिति, विभाजित र कमजोर शक्ति, कमजोर पार्टी, अनेक प्रकारका कुराले थिलथिलिएको, जनताको मनोबल गिरेको, विश्वास घटेको स्थितिमा विरोधीसँग मुकाबला गर्न जाँदा कमजोर पर्ने हो । त्यसकारण हामी कमजोर पर्नेगरी होइन, एकढिक्का भएर माथिदेखि तलसम्म सम्पूर्ण शक्ति एकढिक्का भएर र फोकस गरेर काममा लाग्नुपर्छ ।

म यसो सम्झिन्छु, हाम्रा पुर्खाहरूले उहिले नै सियो कसरी आविष्कार गरे होलान् ? पावर कन्सनट्रेसन गर्दाखेरि त्यसमा शक्ति बढ्छ भन्ने कुरा कसरी पत्ता लगाए विज्ञानको कुरा ? नाथ्री पनि बनाएका छन् धागो, र सियोको टुप्पो तिखो बनाएका छन् किनभने तिखो बनायो भने छेड्छ । कपडा छेड्नलाई किन तिखो पारेभन्दा त्यो सियोबाट धकेलिने जुन पावर हो, टुप्पोमा साँघुरो ठाउँमा कन्सनट्रेसन भएपछि त्यसले छेड्छ । नाथ्रीतिरबाट छेड्दैन त्यो कपडा । तर टुप्पोतिरबाट छेड्छ किनभने तिखो हुन्छ, सानो ठाउँमा पावर कन्सनट्रेसन हुन्छ । हामीले कुनै चिज गर्दा पनि सियोको टुप्पो जस्तै आफूलाई तिखारेर त्यो पावर कन्सनट्रेट गरेर एकताबद्ध भएर कन्सनट्रेटमा लाग्नुपर्छ । अनि मात्रै हामी बाधा पार गर्न सक्छौं कन्सनट्रेसनबाट । गतिबाट इनर्जी मल्टिपल हुन्छ । बिस्तारै मुक्का हान्नु र मुड्की लगेर राख्नु र ड्याम्म दिनुमा उही मुड्की र हात हो । बिस्तारै र साह्रो भनेको गति हो । बिस्तारै गतिमा लग्यो भने पावर केही हुँदैन । त्यसको सम्पूर्ण वेट हुँदैन । वेट जब गति हुन्छ, वेट प्लस स्पिड, त्यो भएपछि त्यसले शक्ति मल्टिपल गर्छ । यो विज्ञानका थ्योरीहरूलाई, साधारण थ्योरी जो हाम्रा पुर्खाले उहिलेदेखि हजारौं वर्षदेखि प्रयोग गरेर आएका छन्, यी थ्योरीहरूलाई हामीले काममा लगायौं भने हामी जित्न सक्छौं ।

त्यसकारण मैले कमरेडहरूलाई आग्रह गर्न खोजेको, हामी अब पूरा उच्च मनोबल र आत्मविश्वासका साथ, एकताबद्ध भएर, गतिका साथ, काममा कन्सनट्रेसन भएर यत्रो शक्ति गाउँ गाउँमा आ-आफ्नो ठाउँमा कन्सनट्रेट भएर प्रहार गर्छौं भने त्यो गतिले हामीलाई सफलतामा पुर्‍याउँछ । कसैले रोक्न सक्दैन । यी कुरामा हामी चुक्यौं र यी काम गर्न सकेनौं भने पराजय भोग्न विवश हुन्छौं । त्यसकारण आत्मभर्त्सना गरेर बसिरहने होइन । अब गाउँमा गएर सधैं समीक्षा गरौं होइन, केन्द्रीय कमिटीको बैठकले समीक्षा गरेर यो निष्कर्ष निकालेको छ ।

अहिलेको अवस्था के हो, कसरी सिर्जना भयो, धक्का किन खाइयो, अब कसरी अगाडि बढ्नुपर्छ भन्ने सबै चिजका कुरा यसले समीक्षा गरेर निष्कर्ष निकालिएको दस्तावेज यो हो । यो भन्दा अरू पूर्ववर्ती दस्तावेज आदि बोकेर गन्जागोलमा परेर हुँदैन । केन्द्रीय कमिटीमा हामीले छलफल गरेर निष्कर्ष निकालेर यो दस्तावेज पारित गरेका हौं । सबै हाम्रा अहिलेसम्मका अनुभव, विचार, सिद्धान्त, नीति, कार्यक्रमहरूलाई अहिलेको अवस्थामा निष्कर्ष निकालेर यसमा राखेर, अब यस अनुसार अगाडि बढ्नुपर्दछ भनेर केन्द्रीय कमिटीले निर्णय गरेर हामी अगाडि बढेका छौं । यही कुरा कमरेडहरूले लिएर अगाडि जाने हो ।

तसर्थ एक धारमा, एउटा सोचका साथ, एउटा कन्सनट्रेसनका साथ, एक ठाउँमा कन्सनट्रेसन विचार छरेर होइन, एकीकृत विचारका साथ एकढिक्का भएर अगाडि बढ्न म सबै कमरेडहरूलाई आग्रह गर्न चाहन्छु ।

धेरै कुराहरू मैले पुस्तिकाबाट बोलिनँ किनभने पुस्तिकामा लेखेको कमरेडहरू गएर पढे भइहाल्यो नि । यो त छँदैछ । इतिहास, पृष्ठभूमि, सन्दर्भ, विषय प्रवेश त्यहाँदेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थिति कस्तो छ, कसरी आयो, कहाँ पुगेका छौं हामी, किन यस्तो भयो, यसले सही विश्लेषण गरेको छ । अब कसरी अगाडि बढ्ने, दुई कार्यभार र ती पूरा गर्न १५ काम के हुन्, यी सबै कुराहरू पनि हामीले यसमा बताएका छौं । त्यसकारण यसलाई लिएर एकताबद्ध भएर, गतिका साथ योजनाबद्ध ढंगले अगाडि बढ्न सबै कमरेडहरूलाई आग्रह गर्छु । निराशाका कुरा तल नछर्नुस्, मेरो आग्रह । निराशा होइन, आशावादिता जगाउनुस् । जसले विश्वास गर्छ, त्यत्रो कौरवसँग राज्य जोसँग छ, पाँचवटा पाण्डवले यिनीहरूसँग लडेर जित्छौं भन्ने विश्वास गरेर तयारी गरे, पाण्डवले जिते । पाँचजना न थिए, सेना थिएन उनीहरूसँग, केही पनि थिएन । पाँचजना दाजुभाइले हस्तिनापुरको राज्य, जहाँ सबै खरखजाना, सेना र सबै चिज छ । त्यो फौज, राज्य र सत्तासँग लडेर जित्छु भन्ने, जितेपछि जित्छु भन्या हो र ? पहिले नै जित्छु भन्ने मनोबलका साथ तयारी गरेर जितेको हो । कौरवको सेनाले ढुकुटीमा थियो निकाल्यो होला, पकायो, आमन्त्रित सेनाहरूलाई पनि खुवायो होला । पाण्डवहरूतर्फ लागेका सेना के गरे होला ? बडो दुःखले लडाइँ गरे होलान् नि त । त्यसो भएर राज्य र ढुकुटी कौरवसँग होस् । हामी पाण्डवै सही ।

एक ठाउँमा एउटा भनिएको छ, कस्तो थियो युद्धको मैदानमा उनीहरूको हाल भन्दा, ‘सञ्जयले धृतराष्ट्रलाई सुनाउँछन्, भीष्मले हाँकिएको यो हाम्रो सेना अथाह छ, थोरै छ पाण्डवी सेना जसको नायक भीम छ, भीमले नेतृत्व गरेको पाण्डवको सेना थोरै छ । हाम्रो चाहिँ भीष्मले हाँकेको अथाह सेना छ । त्यो युद्धका लागि मैदानमा कुरुक्षेत्रमा भिड्दैछ’ भन्छ ।

त्यो सत्य हो । तर हामी त थोरै छैनौं यहाँ । हामी मात्रै बलियो संगठन भएका छौं । अरू हाम्रो लागि केही होइन । त्यो बलियो सेना, विचार र सत्य हामीसँग छ । धेरै वटा चुनाव लडेको इतिहास हामीसँग छ ।

यस पल्ट धाँधलीका सबै रूपहरू रोकिने छ । रोक्नै पर्छ । धाँधली हुन खोज्यो भने म कमरेडहरूलाई यहीँबाट भन्न चाहन्छु, पार्टीको पछि दोस्रो निर्देशन चाहिने छैन । धाँधलीका रूपहरू रोक्नका लागि जे गर्नुपर्दछ स्थलगत रूपमा गर्नुहोला । धाँधली एमालेलाई कुनै हालतमा स्वीकार्य छैन । जनताले दिएको मत र त्यो मतको परिणाम मात्रै एमालेलाइ स्वीकार्य छ । त्यसकारण धाँधली हुँदैन ।

निर्वाचन आयोगले भोलि उच्चस्तरीय छलफलका लागि आमन्त्रण गरेको छ, निर्वाचन आयोगमा छलफल हुनेछ र केही कुराहरू म तपाईंहरूलाई भनिराख्न चाहन्छु -

यो फागुनमा निर्वाचन हुन्छ भन्ने कुरा होइन । फागुनमा निर्वाचन दुई तीन महिना, वैशाखको ३१ गते हुनलाई फागुन चैत वैशाख तीन महिना छानिएका प्रतिनिधिहरूको कार्यकाल पाँच वर्ष हुन्छ । पाँच वर्षमा तीन महिना कमी हुने हो र? असंवैधानिक कुरा गर्न पाइन्छ? त्यसकारण तीन महिना कम होइन, एक हप्तासम्म अगाडि होला । दुई महिना अगाडि सार्न सकिन्छ भनेको उपयुक्त कारण चाहियो नि । किन दुई महिना अगाडि सार्ने? त्यसकारण दुई महिना अगाडि सार्न पाइँदैन, हामीले राख्ने अडान त्यही हो । हाम्रो जनप्रतिनिधिहरूका कमी कमजोरी छन् भने पनि सच्याइहाल्नुस् है भनेर मैले अघि नै भनें । यो छोटो भए पनि अवसर र मौका हो, त्यो कार्यकालमा सच्याइहाल्नुपर्छ आफूलाई । तर कार्यकाल पूरा नहुँदै कार्यकालको कटौती गरेर निर्वाचन गराउन पाइँदैन । सधैं दुई वर्ष अगाडि निर्वाचन भयो संसदको । त्यसै गरेर बिथोलेर आगो लगाएर गर्ने त होइन होला नि । त्यसै गरेर प्रतिनिधि बिनाका बाकस बोकेर कुद्ने त होइन होला नि, त्यो कुरा यस पटक रोकिन्छ । त्यसकारण हामी आफ्ना विचारहरू स्पष्ट ढंगले राख्छौं र अब त्यस अनुसार वातावरण बनाउँछौं ।

दलहरूलाई अस्वीकार र निषेध गरेर चुनाव गर्छु भन्ने कुरा अब नसोचे पनि हुन्छ । अब पोहोरको समय होइन, अबको समय बदलिएको छ । त्यस अनुसार आत्मविश्वास र तयारीका साथ, उच्च मनोबलका साथ साथीहरू निर्वाचन र आफ्नो कार्यक्षेत्रमा फर्किनुहोला, म सबै कमरेडहरूलाई त्यही आग्रह गर्न चाहन्छु ।

जहाँसम्म एउटा कुरा छ कि स्थानीय पार्टी कमिटीले छान्नुस्, ती निर्णय गर्नुस् । कहिले त्यो कुरामा फरक गर्नुपर्ने हुन्छ पार्टी केन्द्रले । म अहिले नै तपाईंहरूलाई भन्न चाहन्छु, कुनै भ्रममा राख्न चाहन्नँ । मलाई कुनै पपुलिस्ट कुरा गरेर समर्थन लिनु पनि छैन ।

यदि हामीले बाँकेको क्षेत्र नम्बर २ मा अर्को पार्टीबाट इस्तियाक राईजीलाई ल्याएर नउठाएको भए मेचीदेखि महाकालीसम्ममा हाम्रो एक सिट पनि हुँदैनथ्यो । त्यहाँको पार्टीले त सिफारिस गर्न सक्दैनथ्यो नि उहाँलाई । केन्द्रले उहाँसँग कुरा गर्नुपर्थ्यो, ल्याउनुपर्थ्यो, उम्मेदवार उठाउनुपर्थ्यो र तलको साथीहरूलाई सम्झाउनुपर्थ्यो । त्यसकारण यस्ता कुराहरू पर्छन् । एकदम लकीरका फकीर तपाईंहरू जसलाई उठाउनुहुन्छ जे हुनुहुन्छ, स्वस्थताका साथ उठाइएको छ कि छैन पनि केन्द्रले हेर्छ । फेयरनेस छ कि छैन पनि हेर्छ । अब जहाँ जसको हात उसकै जगन्नाथ नहोस्, त्यो पनि हेर्छ । हेर्न परेन? त्यसकारण पहिलो प्राथमिकता र अत्यधिक धेरै महत्त्वका साथ स्थानीय तहको सिफारिसको कुरा हो, त्यसैलाई ध्यान दिएर निर्णय हुन्छ । अपवादको रूपमा कहिले त्यस अनुसार नहुन पनि सक्छ ।

पार्टी देखेका छौं नि हामीले । ५५ हजार नक्कली सदस्यता बनाइन्छ । भरै भेला गर्दा सदस्य छैन । किनभने सक्कली सदस्य नै होइन, कहाँबाट आउँछ? त्यो पनि देखेका छौं नि हामीले । किनभन्दा जिल्ला अधिवेशनमा प्रतिनिधि ह्वारह्वार्ती आ-आफ्ना हाल्दिएपछि त जित्न त आफूले जितिने भयो । यस्ता खेल हाम्रो पार्टीले खेल्न हुँदैन । एकदम फेयरली जानुपर्दछ । त्यसकारण हामीले भनेका छौं प्रत्यक्ष आफैं उपस्थित भएर, आफैंले पैसा तिरेर मात्रै सदस्यता नवीकरण गर्नुस् । त्यो भनेको अर्थ के हो? अनफेयरनेस पनि छ । त्यो अनफेयरनेसलाई कन्ट्रोल गर्ने । मैले खाली गुलिया र चिप्ला मात्रै कुरा गरेर हुँदैन । मैले सही कुरा बताउनुपर्दछ कमरेडहरूलाई, यो पार्टी चलाउने कुरा हो । त्यसकारण छुटेको कुरा मैले राख्दिनुपर्दछ यहाँ । कमरेडहरूले राख्दाखेरि केही पक्ष छुटेका छन् भने राख्ने काम पनि हो मेरो । त्यसकारण त्यो सबै जस्ताको तस्तै भन्ने कुरा होइन, कतिपय ठाउँमा अपवादको रूपमा माथिबाट यसो होइन, यसो गर्नुपर्छ यस कारणले भनेर स्थानीय कमिटी र पार्टीलाई सम्झाउनुपर्ने हुन्छ । त्यो कुरा म साथीहरूलाई स्पष्ट राख्न चाहन्छु अहिलेदेखि ।

अब मैले विश्वास लिएको छु, तपाईंहरूले गरेका सिफारिस अत्यन्तै पवित्र ढंगले तथ्यमा आधारित, वस्तुनिष्ठ हुनेछन् र तिनै कार्यान्वयन हुनेछ । मेरो त्यो विश्वास छ ।

कहिले कहिले के हुन्छ भने परिस्थितिले अर्को चिज गर्नुपर्ने, त्यहाँ अर्कै मान्छे जसले जित्छ त्यस्तो मान्छे पनि खोज्नुपर्ने र जित्नुपर्ने हुन्छ । त्यो अरू ठाउँमा पनि भएको छ कतिपय ठाउँमा । अनि पार्टीले नै गरेको सिफारिस किन गरियो नै अहिलेसम्म म कन्भिन्स छैन कतिपय ठाउँको । त्यो फेयर थियो भनेर मेरो मनले अहिले पनि मान्दैन, कतिपय ठाउँको सिफारिस । कतिपय ठाउँमा सिफारिस नहुँदा के के भयो, सिफारिस हुनै पर्ने किन, त्यो पनि मैले देखेको छु । पार्टीको जिल्ला कमिटीको बहुसंख्या हिँडेको छ । किनभने त्यो बहुसंख्या नै कृत्रिम ढंगले बनाइएको  थियो । व्यक्ति केन्द्रित, अस्वस्थ अवाञ्छित ढंगले निर्मित बहुसंख्या थियो । अनि आचरणको, अनेक हिसाबको गलत । जिल्ला कमिटी उसकै कन्ट्रोलमा छ, उसैले सिफारिस गर्छ र गराउँछ । अरू मान्छेलाई टिक्नै दिँदैन कुटेर, चुटेर, बजारमा हिँड्न पाइँदैन । पार्टीभित्र यस्तो खालको स्थिति हुँदैन । उम्मेदवारी नपाउने भनेपछि पार्टी छोडेर हिँड्यो । योगदान के छ भन्दा केही पनि छैन । यस्ता मान्छेहरू पनि हुन्छन्, जसको सम्बन्धमा त्यहाँको सिफारिस बनावटी र अनफेयर, अवाञ्छित थियो, त्यसलाई अस्वीकार गर्नुपर्थ्यो । अस्वीकार भयो । मान्छे कस्तो रहेछभन्दा एमाले सिध्याउन तत्क्षणबाट लाग्यो । जिल्ला कमिटीको बहुसंख्या लिएर अर्कातिर कुद्यो । अनि त्यस्तो मान्छेलाई कहिलेसम्म तपाईं चाकाँधमा बोकेर खुसी पारेर हिँडाउनुहुन्छ?

तसर्थ यी कुराहरूलाई ध्यानमा राखेर हामी विजयको तयारी गरौं । हाम्रो अगाडि उज्ज्वल भविष्य, विजयको सम्भावना नै सम्भावना छ, त्यसलाई साकार पारौं, हामीले साकार पार्ने हो । ठीक छ होइन कमरेडहरू, त्यो उत्साहका साथ हामी लाग्छौं नि...?  (गडगडाहट ताली) । धेरैधेरै धन्यवाद, सबैलाई धेरै शुभकामना । धन्यवाद ।

 

हामीसँग जोडिनुहोस्