-निर्वाचनको समीक्षा गर्दा आग्रहपूर्ण होइन, बस्तुगत हुनुपर्ने
-पपुलिजमको विकल्पका लागि पपुलिष्टहरू खोजेर नेता बनाउन खोज्यौं भने आन्दोलन अगाडि बढ्न सक्दैन
-विश्वास जित्दा जुनसुकै उमेर समूहबाट नेतृत्व सम्भव
-हामी नेताकार्यकर्ता जनतामुखी भएनौं, केन्द्रमुखी भयौं, नेता भेट्ने प्रवृत्ति पार्टीमा विकास भयो
-यतिबेला आन्दोलनले गम्भीर धक्का खाएको छ, विचारविहीन जत्थाले समाज कब्जा गरेको छ
३ जेठ (२०८३), काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र नेतृत्वमाथिको प्रश्न अपेक्षाको मात्र नभई विश्वासको विषय भएको बताउनुभएको छ ।
३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आज मदन– आश्रित प्रतिष्ठानद्वारा प्रतिष्ठानको कार्यालय, गोठाटारमा आयोजित ‘जनताको बहुदलीय जनवाद र युवा’ विषयक विमर्श कार्यक्रममा महासचिव पोखरेलले नेतृत्वका लागि वैचारिक, राजनीतिक र संगठनात्मक विश्वास मुख्य आधार हुने बताउनुभयो ।
विश्वास जित्दा जुनसुकै उमेर समूहबाट नेतृत्व सम्भव रहेको उहाँले स्पष्ट गर्नुभयो ।
युवापुस्ताले पार्टी नेतृत्वसँग जिम्मेवारी र अवसरको माग गर्नु स्वाभाविक र जायज भए पनि आन्दोलनको समग्र नेतृत्व गर्नसक्ने क्षमता, संगठनात्मक दक्षता र व्यापक विश्वास निर्माण गर्न सके मात्र नेतृत्व विकास हुने धारणा उहाँले राख्नुभयो ।
पछिल्लो समय समाजमा पुरानाले गरेनन् भन्ने भाष्य निर्माण गरिएको भन्दै त्यसबाट प्रभावित नहुन समेत पार्टी कार्यकर्ताहरूलाई आग्रह गर्दै महासचिव पोखरेलले भन्नुभयो– नेतृत्वको प्रश्न स्वाभाविक रूपमा अपेक्षाको कुरा मात्र होइन, नेतृत्व भनेको विश्वासको कुरा पनि हो । जबसम्म बहुसङ्ख्यक मान्छेको विश्वास जित्न सक्दैन तबसम्म नेतृत्व हुन सक्दैन । त्यसकारण नेतृत्वको प्रश्न के हो त ? भन्दा वैचारिक, राजनीतिक हिसाबले पार्टीका बहुसङ्ख्यक सदस्यहरूको विश्वास जित्ने कुरा हो । विश्वास जित्नसक्दाखेरी जुनसुकै उमेरको पनि नेता बन्न सक्छ । समयको परिस्थितिअनुसार युवाहरूले जुन हिसाबले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ भन्ने माग राख्नुभयो त्यो जायज छ । तर त्यसको एउटै अर्थ हो वैचारिक राजनीति र संगठनात्मक रूपमा आन्दोलनको समग्र नेतृत्व गर्ने क्षमता र विश्वास युवापंक्तिभित्र विश्वास गर्न सक्नुपर्दछ ।
अहिले पुरानाले गरेनन्, नयाँले गर्छ भन्ने भाष्य निर्माण गरिएको र त्यसबाट हामी प्रभावित भइरहेका छौँ भन्दै उहाँले वास्तवमा समाजको विकासको प्रश्न एउटा पुस्ताको प्रश्न मात्रै नभएकोमा जोड दिनुभयो ।
पपुलिजम यथास्थितिवादलाई कायम गर्दै पुँजीवादको रक्षा गर्ने माध्यम भएको र यसले समाजवाद निर्माण नगर्ने प्रष्ट पार्र्दै महासचिव पोखरेलले पपुलिजमको विकल्पका लागि पपुलिष्टहरू खोजेर नेता बनाउन खोज्यौं भने आन्दोलन अगाडि बढ्न सक्दैन भन्नुभयो । नेतृत्व विचारबाट निर्देशित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
यतिबेला सुशासनका नारा दिएर उदाएकाहरूको सम्पत्ति विवरण हेर्दा सुन जोड्ने कुरामा लगाव देखिएको, उत्पादन र उत्पादकत्व बृद्धिको कुरा समेत उठाउनेृ नगरेको, बैंकमा पैसा जम्मा हुँदै गएको तर लगानी बढ्न नसकेको, आयात बढ्दै गएको, निर्यात घट्न थालेको, युवा विदेशिने क्रम बढ्दै गएको, समाज असुरक्षित बन्दै गएको र विगतका नियुक्तिहरू खारेज गरेर सरकार अविछिन्न उत्तराधिकारको मान्यतालाई खण्डित गर्दै अगाडि बढिरहेको, राज्यका तीन प्रमुख अङ्गबीच सन्तुलन खल्बल्याएको चर्चा गर्दै महासचिव पोखरेलले पपुलिजमा आधारित अधिनायकवादका विरुद्ध संगठित हुन, आन्दोलित हुनु आवश्यक देखिँदै छ भन्नुभयो ।
उहाँले विगतमा हाम्रो कार्यशैली सत्तामुखी भएको पार्टी जनतामा भिजेको कार्यकर्ता पार्टी हुनुपर्नेमा जनतासँग सम्बन्ध टुटेको कार्यकर्ताको पार्टी भएको विश्लेषण सुनाउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– हामी नेताकार्यकर्ता जनतामुखी भएनौं, केन्द्रमुखी भयौं, नेता भेट्ने प्रवृत्ति पार्टीमा विकास भयो, यसले संगठन प्रणालीमा गम्भीर क्षति पुग्यो । यस प्रवृत्तिलाई बदल्ने सङ्कल्प गर्नुपर्छ । व्यवस्थित योजनाका साथ अगाडि नबढ्ने हो भने जनताले हामीलाई विश्वास गर्दैनन् ।
पार्टीले युवा सहभागिता लगायत युवासँग सम्बन्धित धेरै योजनाहरू अगाडि सारेको र ति कार्यान्वयन हुन नसकेको विगत स्मरण गर्दै उहाँले राजनीतिक रूपमा सचेत र परिपक्व युवाको फराकिलो सङ्ख्या निर्माण गरेर आफूलाई नेतृत्वमा स्थापित गर्न युवाहरूलाई सुझाउनुभयो ।
निर्वाचनको समीक्षा गर्दा आग्रहपूर्ण होइन, बस्तुगत हुनुपर्नेमा जोड दिँदै हरेक चुनौतीको सामना गरेर अहिलेको अवस्थामा आएको एमालेले चुनौतीहरूको सामना गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
आवश्यक परे नीति र कार्यशैली लगायत सुधारको वृहत्तर मार्गचित्रबाट पार्टी अगाडि बढ्नुपर्ने
कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रतिष्ठानका अध्यक्ष तथा पार्टीका नेता प्रदीप ज्ञवालीले यतिबेला आन्दोलनले इतिहासकै गम्भीर धक्का खाएको र विचारविहीन जत्थाले समाज कब्जा गरेको विचार व्यक्त गर्दै पार्टीले सङ्कटको गम्भीर बोध र समग्र समीक्षा गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले आवश्यक परे नीति र कार्यशैली लगायत सुधारको वृहत्तर मार्गचित्रबाट अगाडि बढ्नुपर्ने बताउनुभयो ।
वर्तमान सरकार लोकतान्त्रिक मूल्य, संवैधानिक संस्थाको गरिमा र सामाजिक न्यायमाथि प्रहार गर्दै अधिनायकवादी दिशातर्फ अघि बढ्न खोजेको र यसले बलियो प्रतिपक्षको माग गरिरहेको नेता ज्ञवालीले बताउनुभयो ।
सरकारका पछिल्ला गतिविधिले लोकतन्त्र कमजोर पार्ने सङ्केत देखिएको र संविधानको रक्षा र आन्दोलनका उपलब्धिलाई गुम्न नदिन परिस्थितिले हामीलाई कठिन अग्नि परीक्षामा उभ्याएको उहाँले बताउनुभयो ।
नेता ज्ञवालीले नयाँ सरकार गठन भएको ५० दिन नपुग्दै सरकारले गरेका निर्णय र प्रस्तुत शैलीले आगामी दिनको राजनीतिक दिशा स्पष्ट देखाइसकेको बताउँदै सरकार लोकतान्त्रिक अभ्यासभन्दा नियन्त्रणमुखी शैलीतर्फ उन्मुख भएको बताउनुभयो ।
ट्रेड युनियन तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने प्रयास भइरहेको, अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिएको, श्रमिक, विद्यार्थी र निम्न वर्गका नागरिकका अधिकार क्रमशः सङ्कुचित गरिँदै गएको उहाँले उल्लेख गर्नुभयो ।
नेता ज्ञवालीले संसद, राष्ट्रपति र न्यायालयजस्ता संवैधानिक तथा निर्वाचित संस्थाहरूको भूमिका कमजोर पार्ने प्रयास भइरहेको भन्दै लोकतन्त्र संस्थागत रूपमा कमजोर बनाइए मुलुक निर्वाचित अधिनायकवादतर्फ जान सक्ने खतरा औल्याउनुभयो ।
संसदभित्र सङ्ख्यात्मक रूपमा कमजोर भएपनि जनताको साथ र विभिन्न सामाजिक तथा राजनीतिक संस्थाहरूको सहयोगबाट लोकतान्त्रिक मूल्यको रक्षा गर्न सकिने उहाँले बताउनुभयो ।
उहाँले मदन आश्रित स्मृति प्रतिष्ठानको भूमिका केवल सहयोगी र सहकार्यकारी भएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलनलाई समाजका विभिन्न तहबाट सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो ।
नेता ज्ञवालीले युवालाई लोकतन्त्र, सामाजिक न्याय र जनताको अधिकारको पक्षमा सक्रिय हुन आग्रह गर्दै वर्तमान चुनौतीको सामना गर्न राजनीतिक चेतना र संगठित प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।
समाजको विकास केवल एउटा पुस्ताको प्रश्न नभई समग्र राजनीतिक दृष्टि र नेतृत्व क्षमतासँग सम्बन्धित विषय भएको उहाँको धारणा छ ।
प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका नेता ज्ञवालीले प्रतिष्ठानले विगत तीन दशकको समयमा सामाजिक तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको जानकारी गराउनुभएको थियो ।
‘जनताको बहुदलीय जनवाद र युवा’ विषयक प्यानल विमर्शमा नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक ऐन महर, राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष विनय शाह, नेपाल ल क्याम्पसका स्ववियु सभापति समीर रिजाल, अर्थशास्त्रकी विद्यार्थी कृति भट्टराई, सूचना प्रविधि विज्ञ ईन्जिनियर रमेश पौडेल सहभागी हुनुहुन्थ्यो भने प्यानल विमर्शको सहजीकरण विहानी पज्ञनीले गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानको मुखपत्र ‘ज्ञानवीथी’ को लोकार्पण गरिएको थियो ।
प्रतिष्ठानका सचिव मधु तिमिल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष रामेश्वर फुयालले स्वागत मन्तव्य राख्नुभएको थियो ।