detail-img

सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज र भोलि 

२० जेठ (२०८३), काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय संगठन विभागको आयोजनामा आज र भोलि (जेठ २०–२१) ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशाला आयोजना हुँदै छ ।
काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा सञ्चालन हुने कार्यशाला आज बिहान ११ बजेबाट सुरु हुने कार्यतालिका रहेको छ । कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिनुभयो । कार्यशालाको समापन महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम रहेको छ ।
पार्टीको सांगठनिक सुदृढीकरण तथा गतिशीलतालाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू (भारत प्रवाससमेत), प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागिता रहने छ । 
दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा पार्टी सदस्यता विस्तार, नवीकरण प्रक्रिया, संगठन सुदृढीकरणका रणनीति तथा भावी योजनाबारे सघन छलफल र उत्प्रेरणामूलक अभिमुखीकरण गरिने छ । 
कार्यशालामा  एमालेको संगठनको समग्र वस्तुस्थितिबारे संगठन विभागका प्रमुख  भानुभक्त ढकालले र सदस्यता नवीकरणको प्राविधिक पक्षका बारेमा केन्द्रीय सदस्य तथा संगठन विभाागका सदस्य माधव ढुंगेलले कार्यपत्र प्रस्तुत गर्ने तयारी छ । सहभागीहरुलाई विभिन्न समुहमा विभाजन गरेर छलफल र प्रस्तुतीकरण समेत गर्ने कार्यसुची रहेको छ ।