‘काँग्रेसविरुद्ध भोट मागेर देउवालाई नै प्रधानमन्त्री बनाउनु जनताको अपमान हो’
मरिण (सिन्धुली) । सिन्धुलीमा माओवादीको आधार इलाकाको रुपमा चिनिएको मरिण गाउँपालिकासहित जिल्लाका विभिन्न पालिकाका माओवादी केन्द्रका सयौं नेताकार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका केद्रीय सदस्य मिथिला फुयाँल, सिन्धुली जिल्ला संयोजक रामकुमार पौडेल, मरिण गाउँपालिका कमिटीका अध्यक्ष गोपाल बुढाथोकीसहित सयौं नेताकार्यकर्ता आज मरिणमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले प्रवेश गरेका हुन् । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नवप्रवेशीहरूलाई पुष्प गुच्छासहित पार्टीमा स्वागत गर्नुभयो ।
अध्यक्षमाथि लगाइएको १९ बुँदे आरोप नै नेकपा विभाजनको कारक
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासविच पोखरेलले तत्कालीन नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीलाई लगाएको १९ बुँदे आरोप नै नेकपा विभाजनको कारक भएको बताउनुभयो ।
संसद विघटन गर्नु अघि पुस ५ गते विहान आफू उक्त १९ बुँदे आरोप फिर्ता लिएर नेकपाको भविष्य सुनिश्चित गराउन प्रचण्ड निवास खुमलटार पुगे पनि प्रचण्डले पार्टी एकता जोगाउन कुनै पनि भूमिका निर्वाह गर्ने सङ्केत नगरेपछि निरास भएको र परिणाम नेकपा विभाजन हुन पुगेको बताउनुभयो ।
उहाँले प्रचण्डलाई आफ्नो हैसियतका नेतालाई आरोप लगाउने तर आरोप पुष्टि गर्न नसक्ने नेताको रुपमा चित्रण गर्नुभयो । महासचिव पोखरेलले प्रचण्डमा राजनीतिक स्थिरता नभएकाले उनको बुताबाट कम्युनिष्ट आन्दोलन अगाडि बढ्न सक्दैन भन्नुहुँदै माओवादी केन्द्र र एकीकृत समाजवादीमा रहेका कम्युनिष्ट आन्दोलनलाई माया गर्ने सम्पूर्ण नेताकार्यकर्तालाई एमालेमा समाहित हुन आह्वान गर्नुभयो ।
नाकाबन्दीको डटेर सामना गर्ने, संविधान सभाबाट संविधान जारि गर्न हिम्मत गर्ने, मिचिएको भूमि फिर्ता ल्याउने, देश र जनताको हितका लागि कसैसँग नझुक्ने प्रधानमन्त्री देशलाई आवश्यक भएकाले पुनः अध्यक्ष केपी शर्मा ओलीलाई देशको भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेर एमाले चुनावी मैदानमा होमिएको महासचिवको भनाई थियो ।
आफूहरू पार्टीलाई मुलुकको बलियो शक्तिका रुपमा स्थापित गर्ने अभियानमा लागेको वताउँदै कम्युनिष्ट आन्दोलनमा लामो समय क्रियाशील रहनुभएका नेता कार्यकर्ताको पार्टी प्रवेशबाट त्यस दिशामा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
महासचिव पोखरेलले माधव–प्रचण्ड नेपाली कम्युनिष्ट आन्दोलन कमजोर बनाउने दिशामा लागेको वताउनुभयो ।
महासचिव पोखरेलले यथास्थितिवाद र पुँजीवादको पक्षपोषक नेपाली काँग्रेसलाई नेता मानेर सत्ता स्वार्थमा लाग्ने प्रचण्ड माधवले समाजवादी यात्रा छोडेको वताउनुभयो ।
उहाँले भन्नुभयो– नेपाली जनतासँग काँग्रेसका विरुद्धमा मत मागेर विजयी हुने अनि काँग्रेसलाई नेता मानेर हिड्नु भनेको जनतालाई अपमानित गर्नु हो, देउवालाई नै प्रधानमन्त्री बनाउनु जनताको अपमान हो’ माधव–प्रचण्डले गरेको त्यही हो ।
‘नेपाली जनताले राष्ट्रिय राजनीतिको पृष्ठ भागमा पुराइदिएको काँग्रेसलाई पुनर्स्थापित गर्ने काम कम्युनिष्ट आन्दोलनमा गद्दारी हो जुन काम माधव–प्रचण्डले गरे ।’
महासचिवले भन्नुभयो–संसदीय राजनीतिमा विकृति भित्र्याउने, लोकतन्त्र राजालाई लगेर बुझाउने देउवाको नेतृत्वमा समाजवाद सम्भव छ ? माधव–प्रचण्डलाई लाज सङ्कोच लाग्दैन, यही उद्देश्यका लागि मागिएको थियो जनतासँग मत ? यो जनादेश, जनमत प्रतिको गद्दारी हो ।
‘माओवादी राजनीतिक रुपमा विघटनतर्फ सांगठानिक रुपमा अराजकतातर्फ’
नेकपा (एमाले) मा समाहित हुनुभएका माओवादीका जिल्ला संयोजक रामकुमार पौडेलले माओवादी राजनीतिक रुपमा विघटनतर्फ र सांगठनिक रुपमा अराजकतातर्फ गएको बताउँदै माओवादी केन्द्रबाट नेपाली कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने निष्कर्षसहित नेपाल कम्युनिष्ट पार्टीको मुल प्रवाह नेकपा एमालेमा समाहित भएको वताउनुभयो ।
‘माओवादी सीमित व्यक्तिको स्वार्थ झुण्ड’
माओवादी केन्द्रबाट केन्द्रीय सदस्यको जिम्मेवारी त्यागेर एमालेमा आउनुभएकी महिला नेतृ मिथिला फुयाँलले माओवादी केन्द्र व्यक्तिवादी राजनीतिमा केन्द्रित भएको र सीमित व्यक्तिको स्वार्थ झुण्डले सिङ्गो पार्टीलाई गाईड गर्ने प्रयास गरेकामा त्यसलाई तोड्न पटक पटक प्रयास गरे पनि नसकेकाले माओवादी केन्द्र परित्याग गरी एमालेमा समाहित भएको बताउनुभयो ।
माओवादीको मरिण गाउँपालिका अध्यक्षको जिम्मेवारी त्यागेर एमाले प्रवेश गर्नुभएका गोपाल बुढाथोकीले पालिकाका विभिन्न वडाबाट माओवादी केन्द्र परित्याग गर्ने तीन सय पचास भन्दा बढीको नाम लिष्ट एमाले सिन्धुलीका सचिव नारायण बराललाई उपलब्ध गराउनुभएको थियो । नेकपा (एमाले) सिन्धुलीका अध्यक्ष कुमारबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गणेश पहाडि, सुवास देवकोटा लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।