detail-img

नेकपा एसका सुदूरपश्चिमका प्रभावशाली  नेताहरूलाई अध्यक्षद्वारा एमालेमा स्वागत 

‘एमालेलाई जनताले १५० सिटमा विजयी बनाउनेछन् ’

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिमका प्रभावशाली नेताहरू नेकपा (एमाले) मा फर्कनुभएको छ । 
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री तारा लामा, प्रदेश कमिटीका पूर्व अध्यक्ष विक्रम शाही र वेदकोटगढी नगरपालिकाका पूर्व नगरप्रमुख अशोक चन्द सयौं कार्यकर्तासहित एमालेमा फर्कनु भएको हो । त्यस्तै माओवादी नेता मोहन गिरी र राष्ट्रिय जनमोर्चाका अभिमानसिंह थापा पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज कञ्चनपुरमा आयोजित भव्य कार्यक्रममा उहाँहरूलाई स्वागत गर्नुभयो । 
अध्यक्ष ओलीले उहाँहरूसँगै कञ्चनपुर र कैलालीबाट नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, राप्रपाबाट एमालेमा प्रवेश गर्नुभएका नेता कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गर्नुभयो ।


सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जनताले एमालेलाई बहुमतका साथ विजयी बनाउने विश्वास व्यक्त गर्नुभयो । 
अध्यक्ष ओलीले एमालेले देशको विकास र समृद्धिको स्पष्ट गन्तव्य तय गरेको र त्यो गन्तव्यमा पुग्न सरकार सञ्चालन गर्नुपर्ने हुँदा एमालेलाई विजयी बनाउन यहाँका जनतालाई आग्रह गर्नुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्ने अवसर दिन जनतासँग आग्रह गर्नुभयो ।

 

‘गठबन्धनले जिते देश हार्छ, विकास र समृद्धि हार्छ, त्यसैले एमालेले जित्नुपर्छ ’

देश विकास गर्न एमाले चाहिन्छ भन्ने कुरा जनताले बुझिसकेको बताउँदै उहाँले अब जनताले एमालेलाई रोज्ने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘गठबन्धन ठगबन्धन भइसकेको जनताले बुझिसके, सत्ता गठबन्धनमा रहेकाहरूलाई आफुमात्रै बन्नुछ देशको चिन्ता छैन, देश र जनताको चिन्ता एमाले बाहेक कुनै पार्टीले गर्दैन । त्यसैले हामीलाई जनताले १५० सिटमा विजयी बनाउनेछन् ।’
अध्यक्ष ओलीले एमालेलाई मत दिएर विजयी बनाउँदा देशको विकास, राष्ट्रियताको रक्षा तथा लिम्पियाधुरा लिपुलेक फिर्ता आउँछ भन्ने जनतालाई थाहा छ भन्नुभयो । 
एमाले सत्ता बाहिर हुँदा समेत पार्टीमा प्रवेश गर्नेको लहर चलेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले जिते मात्र देशले जित्ने वताउनुभयो । 
उहाँले भन्नुभयो– ‘गठबन्धनले जिते देश हार्छ, विकास र समृद्धि हार्छ, त्यसैले एमालेले जित्नुपर्छ ।’
गठबन्धन सरकार राष्ट्रियताको रक्षा, विकास र समृद्धिका पक्षमा काम गर्न नसकेर शक्ति राष्ट्रसामु निरीह बनेको अध्यक्ष ओलीको भनाई थियो । 
सो अवसरमा पार्टीका सचिव लेखराज भट्टले वर्तमान गठबन्धन सरकारले देशको अर्थतन्त्र धराशायी बनाएको र यही सरकार रही रहे देश बर्बाद हुने भन्दै आगामी निर्वाचनमा एमालेलाई विजयी बनाउन आग्रह गर्नुभयो ।  

माधव नेपालले पार्टीलाई मागी खाने भाँडो मात्र बनाए

कार्यक्रममा एमालेमा समाहित हुनुभएका सुदूरपश्चिम प्रदेशका सांसद तारा लामाले आफूले भइरहेको पद त्याग गरेर एमालेमै फर्किएको र कञ्चनपुरमा एमालेको संगठनलाई पुरानै अवस्थामा पुर्याउने प्रयासमा लाग्ने वताउनुभयो । 
पार्टीमा केही असन्तुष्टिका कारण एकीकृत समाजवादीमा लागेको र त्यहाँ रहँदा माधव नेपालले पार्टीलाई मागी खाने भाँडो मात्र बनाएकाले वाक्क–दिक्क भएर एमालेमै फर्किएको लामाले वताउनुभयो ।


त्यसैगरी एमालेका पुराना कार्यकर्ता विक्रम शाही माधव नेपालको प्रवृत्तिबाट दिक्क भएर ३० बर्षदेखि काम गरेको पार्टी एमालेमा फर्किएको वताउनुभयो । 
नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी स्थायी कमिटीका सदस्य कर्ण थापा, पोलिटव्यूरो सदस्य निरु पाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।