detail-img

प्रदेशमा कार्यशाला–संगठनभित्रका समस्या र समाधानका उपायबारे छलफल

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागले प्रदेशस्तरीय प्रशिक्षण सञ्चालन गर्दै आएको छ । हालसम्म प्रदेश– १, मधेश प्रदेश, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेश र सम्पर्क समन्वय कमिटी गरी छवटा प्रदेशस्तरीय कार्यशाला सम्पन्न गरिएको संगठन विभागले जनाएको छ । 
सबै कार्यशालामा पार्टी संगठनमा देखिएका समस्या र समाधानको बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यशालामा पार्टी स्थायी कमिटीका सदस्य तथा संगठन विभाग प्रमुख क. खगराज अधिकारी र प्रदेश ईन्चार्ज कमरेडहरूले आ–आफ्ना प्रदेश र मातहतका पार्टी संगठनमा देखिएका समस्या र समाधानका उपायहरू सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
कार्यशालामा केन्द्रीय कमिटी सदस्य तथा जिल्ला ईन्चार्ज र सहईन्चार्जहरू, प्रदेश कमिटीका पदाधिकारीहरू, जिल्ला कमिटी अध्यक्ष र सचिव, प्रदेश र जिल्लाका संगठन विभाग हेर्ने कमरेडहरू, जनसंगठनका प्रदेशका प्रमुखहरूको सहभागिता गराइएको थियो ।

कार्यशालामा कार्यपत्र प्रस्तुत गरी सहभागीहरू मध्येबाट समूह विभाजन र कार्यपत्रमाथि छलफल गराइएको थियो । समूह छलफलको निष्कर्ष प्रस्तुतिपछि कार्यपत्र प्रस्तोताबाट जिज्ञासाहरूका बारेमा समाधानका उपायबारे छलफल गरिएको थियो ।  
कार्यशालामा संगठन विभाग प्रमुख क. खगराज अधिकारीले पार्टी संगठनका समस्या र समाधानका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । कार्यपत्रमा पार्टी निर्माणबारे जननेता मदन भण्डारीले मार्गनिर्देश गर्नुभएका दश बुँदा, पार्टी जीवनमा देखापरेका मुलभूत समस्याहरू, पार्टी प्रवेश, रिपोर्टिङ प्रणालीमा पुनर्जागरण, विधान नियमावली, निर्देशिका र आचारसंहिताको पालना,अन्तरघात र विपक्षीहरूसँग साँठगाँठ, पार्टी र कमिटीलाई बुझ्ने समस्या, पार्टी विधि, अन्तरविरोधको समाधान, अन्तरविरोधको सही पहिचान, अन्तरपार्टी जनवाद, गुटबन्दीको अन्त्य, असल कार्यशैली लगायतका विषयवस्तु समेटिएको थियो ।

 

प्रदेश–१ मा २०७९ साउन १७ र १८ गते धनकुटाको पाख्रीबासमा प्रदेश कमिटी अध्यक्ष  तुलसी प्रसाद न्यौपानेको अध्यक्षतामा पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश ईन्चार्ज क.देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 
कार्यशालामा प्रदेश ईन्चार्ज क. देवराज घिमिरेले प्रदेशको संगठनमा देखिएका समस्या र समाधानका उपायहरू विषयमा कार्यपत्र  प्रस्तुत गर्नुभएको थियो । 
मधेश  प्रदेश कमिटीको आयोजनामा भदौ १ र २  गते  प्रदेश कमिटी अध्यक्ष क. रामअवतार यादवको अध्यक्षतामा पार्टी महासचिव क.शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सिराहको लहानमा दुई दिने संगठन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भयो ।

कार्यशालामा महासचिव क. शंकर पोखरेलले समसामयिक राजनीति, स्थानीय निर्वाचनको समीक्षा, पार्टीभित्र देखिएका कमी कमजोरी र पार्टीको कार्यदिशा लगायतका विषयका साथै  आगामी निर्वाचनको तयारीमा एकताबद्ध भई जुट्न निर्देशनात्मक मन्तव्य राख्नुभएको । महासचिव पोखरेलले मधेशको विकासका लागि योजना बनाई बजेट विनियोजन गर्ने काम अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको वताउनुभयो । 
कार्यशालामा समस्या संगठनका समस्या र समाधानका सम्बन्धमा स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख क.खगराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 
बाग्मती प्रदेशमा प्रदेश कमिटीको आयोजनामा गत असार १८ र १९ गते प्रदेश कमिटी अध्यक्ष क. केशवराज पाण्डेको अध्यक्षता र  अध्यक्ष क.केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यशाला सम्पन्न भएको थियो । 
सो अवसरमा अध्यक्ष क.ओलीले समसामयिक राष्ट्रिय राजनीति, गठबन्धन सरकारका गलत क्रियाकलापबाट मुलुक अधोगतितर्फ लागिरहेको अवस्था, देश र जनताको हितका लागि पार्टीको जिम्मेवारी र पार्टी कार्यकर्तामा देखिएका कमी कमजोरीमा सुधार लगायतका विषयमा सम्बोधन गर्नुभएको थियो । 
कार्यशालामा स्थायी कमिटी सदस्य काशिनाथ अधिकारीले वाग्मती प्रदेशमा देखिएका संगठनात्मक समस्या र समाधान केन्द्रित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
त्यसैगरी गण्डकी  प्रदेशमा गत साउन २९ र ३०  गते  प्रदेश कमिटी अध्यक्ष क. नवराज शर्माको अध्यक्षतामा उपमहासचिव क पृथ्वीसुब्वा गुरुङको प्रमुख आतिथ्यमा तनहुँको बन्दीपुरमा कार्यशाला सम्पन्न भयो ।  
कार्यशालामा पार्टीका सचिव क.पदमा अर्यालले गण्डकी  प्रदेशको संगठनात्मक अवस्था, समस्या र समाधान सम्बन्धी केही प्रस्तावहरू विषयमा कार्यपत्र  प्रस्तुत गर्नुभएको थियो ।

लुम्बिनी प्रदेशमा साउन १३ र १४ गते  प्रदेश कमिटी अध्यक्ष क. राधाकृष्ण कँडेलको अध्यक्षतामा बुटवलमा कार्यशाला  सम्पन्न भयो । पहिलो दिन पार्टी सचिव क.छविलाल विश्वकर्माको प्रमुख आतिथ्य र दोस्रो दिनको कार्यक्रम उपाध्यक्ष क.विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो । 
कार्यशालामा पार्टी सचिव तथा लुम्बनी  प्रदेश ईन्चार्ज  क. छविलाल विश्वकर्माले लुम्बीनी प्रदेशको संगठनात्मक अवस्था, समस्या र समाधान सम्बन्धी केही प्रस्तावहरू विषयमा कार्यपत्र  
प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीको आयोजनामा  असार २८ गते संगठन सम्बन्धी कार्यशाला  काठमाडौंमा सम्पन्न भयो । 
सम्पर्क समन्वय कमिटीका अध्यक्ष श्यामकुमार वस्नेतको अध्यक्षता र स्थायी कमिटी सदस्य तथा सम्पर्क कमिटीका ईन्चार्ज क. लालबाबु पण्डितको प्रमुख आतिथ्यमा भएको कार्यशालामा स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख क. खगराज अधिकारीले पार्टी संगठनका समस्या र समाधानका सम्बन्धमा कार्यपत्र  प्रस्तुत गर्नुभएको थियो । 
अब कर्णाली, सुदूरपश्चिम र उपत्यका विशेष प्रदेश कमिटीका कार्यशाला बाँकी रहेका छन् । उपत्यका विशेष प्रदेश कमिटीको कार्यशाला यही भदौ २५ गतेका लागि तय भएको संगठन विभाग सचिव सम्झना देवकोटाले बताउनुभयो ।