detail-img

चुनावपछि एमाले  फेरि सत्तामा फर्कन्छ : अध्यक्ष ओली

लमजुङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई जालझेल गरेर प्रतिपक्षमा पुरयाइएको बताउनु भएको छ । लमजुङको घलेगाउँमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले एकछिनका लागि प्रतिपक्षमा भए पनि चुनावपछि फेरि सत्तामा फर्कने बताउनु भयो ।

‘अहिले एमाले एकछिनका लागि प्रतिपक्षमा छ, अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन । एक छिनका लागि जालझेल गरेर प्रतिपक्षमा पुगेको छ । चुनावपछि फेरी सत्तामा आउँछ,’ पूर्वप्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले भन्नुभयो । उहाँले एमालेले जनताको आकांक्षा बुझेको प्रष्ट पार्दै समृद्धिका लागि एमाले अग्रसर रहेको धारणासमेत राख्नुभयो ।

‘एमालेले जनताको चाहना बुझेको छ । जनताको समृद्धिको चाहना बुझेको छ । त्यसैले समृद्धिका लागि एमाले अग्रसर छ,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा के गर्नुपर्छ भनेर जनता जानकार रहेको तथ्य पनि सुनाउनुभयो । सूर्यतिर औला देखाउँदै अध्यक्ष ओलीले भन्नुभयो ,‘अहिले के गर्नुपर्छ जनतालाई थाहै छ, आजकल भोट के मा ? भनेर जनतालाई सोधेर यसो औला लाउँछन् ।’