detail-img

‘प्रचण्ड गुट बाहिरिएको हो, एमाले नेकपाको निरन्तरता हो’ 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेकपा एकीकरणको निरन्तरता भएको र नेकपाबाट प्रचण्डको गुट मात्रै बाहिरिएको  वताउनुभएको छ । 
उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव टोपबहादुर रायमाझी लगायत नेताहरूको उपस्थितिमा पार्टी कार्यालय, च्यासल, ललितपुरमा माओवादीका केन्द्रीय सदस्य यमबहादुर परियार लगायत करिव दुई दर्जन कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘माओवादी केन्द्र यहीँ छ, प्रचण्ड गुटमात्रै बाहिरिएको हो, एमाले पार्टी एकीकरणको निरन्तरता हो ।’ 
‘पार्टी एकीकरणको असल उद्देश्यका साथ मैले प्रचण्डलाई अध्यक्ष बनाई छेवैमा राखेँ तर प्रचण्डले मैले दिएको बहुमत संख्याबाट मलाई नै निकाल्ने कदम चाले, कस्तो एकता गरिएछ, कत्रो बेइमानी, कत्रो धोका !?’
‘बेइमानी, धोका, कपट, छलछाम गरेर आन्दोलन, रूपान्तरण अगाडि बढ्न सक्दैन, देश बनाउन सकिँदैन,’ अध्यक्ष ओलीले भन्नुभयो–‘अहिले एकातिर कपट र स्वार्थ छ, अर्कोतर्फ देश बनाउने हुटहुटी ।’
नेकपा (एमाले) विचारमा बाँधिएको, गन्तव्य तय गरेको पार्टी हो भन्नुहुँदै अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्य प्राप्त गर्न पार्टी एक ताल, एक सुर र एक लयमा हिड्न चाहन्छ भन्नुभयो । 
समृद्ध नेपालको नारा एमालेले अगाडि सारेको र एमालेको गन्तव्य हो भन्ने मान्यतामा गठबन्धनमा रहेका दलहरू देश बनाउने यस अभियानको शब्द समेत उच्चारण गर्ने आँट नगर्ने अध्यक्ष ओलीको भनाई थियो । 
‘गठबन्धन दलका नेताहरू एमालेसँग वैचारिक, राजनीतिक कुनै वहस गर्न सक्दैनन्, भाषण गर्दा त्यागका कुरा सिकाउँछन्, आफन्त पोस्ने काम गर्छन्, सम्पत्ति थुपारेको थुपारै गर्छन्, यो आडम्बर हो ।’
अध्यक्षले भन्नुभयो– ‘नेकपा (एमाले) का कार्यकर्ता यस्ता आडम्बरबाट मुक्त हुनुपर्छ, सही दृष्टिकोण, आचरण, व्यवहार देखाउनुपर्छ, जे भन्छौं त्यही गर्ने र जे गर्छौं त्यही भन्ने हुनुपर्छ । 
‘गठबन्धनलाई आम जनताले ठगबन्धन भन्न थालेका छन्, यिनीहरू जति दल गठबन्धन गरे पनि त्रसित हुनुपर्ने आवश्यक छैन’ भन्दै अध्यक्ष ओलीले ‘एमाले अहिले पनि देशको प्रमुख पार्टी छ, कम्युनिष्ट आन्दोलनको मूल प्रवाह त हुँदै हो, यसलाई देशकै मूल धार बनाउनुपर्छ’ भन्नुभयो । 
आगामी निर्वाचनमा प्रतिक्रियावादीहरू सम्पूर्ण शक्ति लाएर एमालेविरुद्ध आउनेछन् भन्नुहुँदै अध्यक्ष ओलीले पार्टीलाई बहुमतका साथ विजयी बनाउन आत्मविश्वासका साथ निर्वाचनमा जुट्न नेताकार्यकर्तालाई निर्देशन दिनुभयो । 
अध्यक्ष ओलीले उद्देश्यहीन, गन्तव्यहीन गठबन्धनले देशलाई अधोपतनतिर लगिरहेको र यसबाट देशलाई बचाउन एमालेले जित्नैपर्ने वताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– ‘महाभारतमा अभिमन्युुलाई  चक्रव्यूहमा पारेर घाइते भएपछि थुप्रै महारथि लागेर मारेका थिए, निर्वाचनमा एमालेलाई त्यसै गर्नुपर्छ भन्नेहरू छन् । एमाले, महाभारतका अभिमन्यु जस्तो भित्र पसेपछि बाहिर निस्कन नसक्ने होइन, चक्रव्यूहमा पस्न, त्यसलाई ध्वस्त पारी निस्कन सक्ने अहिलेको अभिमन्युु हो ।’
अध्यक्ष ओलीले विहानै बेलुकी आफ्नो स्वार्थ, परिवारवादी चिन्तनमा लागेका गठबन्धनका हस्ती हुँ भन्नेहरू कागजी बाघ हुन् भन्दै यिनीहरू एमालेसँग एक्लै लड्न मात्र होइन, एमालेलाई हेर्ने आँट पनि गर्न सक्दैनन् भन्नुभयो ।