detail-img

भोलिको ‘मर्निङ–वाक’ अध्यक्ष ओलीसँगै 

काठमाडौं । नेकपा (एमाले) ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन भोलि असोज १ गते उपत्यकामा वाकथन (पदयात्रा) कार्यक्रम आयोजना गरेको छ । 
पदयात्राको नेतृत्व पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ । 
उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट विहान ७ बजे हजारौं मानिसहरूको सहभागितामा पदयात्रा शुरू हुने छ । सबैतिरका पदयात्रा शहीदगेटमा मिसिई वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरिएको छ । 

अध्यक्ष ओलीले नयाँ बानेश्वरबाट शुरू हुने पदयात्राको नेतृत्व गर्नुहुने छ । महासचिव शंकर पोखरेल बानेश्वरबाट शुरू हुने पदयात्रामा सहभागी हुनुहुने छ । पाँचै ठाउँका पदयात्रामा  पार्टीका पदाधिकारी तथा केन्द्रीय नेताहरूले नेतृत्व गर्नुहुने छ । 
लैनचौरबाट शुरू हुने पदयात्राको नेतृत्व बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नुहुने छ भने मैतीदेवीमा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र सुवास नेम्वाङ,  कुपन्डोलबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कालिमाटीबाट शुरू हुने पदयात्राको नेतृत्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गर्नुहुने छ । अन्य नेताहरू, सांसदहरू पाँचवटा प्वाइन्टमध्ये आफूलाई पायक पर्ने ठाउँमा सहभागी हुनुहुने छ ।


सबै टोली शहीद गेट पुगेपछि अध्यक्ष ओलीको नेतृत्वमा पदयात्रा बसन्तपुरतर्फ प्रस्थान गर्ने गरी कार्यक्रम तय गरिएको नेकपा (एमाले) स्थायी कमिटीका सदस्य जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले वताउनुभयो ।  
पदयात्रा टोली वसन्तपुरमा पुगेपछि अध्यक्ष ओलीले संक्षिप्त सम्बोधन गर्नुभएपछि  कार्यक्रम समापन गरिने छ । संविधान दिवस साझा राष्ट्रिय दिवस भएकाले यस कार्यक्रममा पार्टीको झण्डा, व्यानर बोकिने छैन । पदयात्रामा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरू, पेशा, व्यवसायमा संलग्न  आम जनसमुदायको सहभागिताको अपेक्षा गरिएको छ ।


संविधान निर्माण, यसको कार्यान्वयन, संरक्षण र सम्वर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एमालेले संविधान जारी गर्दा र कार्यान्वयनका चरणमा भोग्नुपरेका कठिनाईलाई समेत स्मरण गर्दै संविधानप्रति आम नागरिककोे अपनत्व बढाउने र संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने परम्परालाई विशेष महत्व दिन चाहेको छ । त्यसैले राष्ट्रिय दिवसको यस कार्यक्रमलाई एमालेले पार्टीपङ्तिमा सीमित नराखी यसको दायरा फराकिलो बनाएको हो ।  
‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको  संश्लेषण– संविधान र लोकतान्त्रिक गणतन्त्र’ यही नाराका साथ फरक शैलीमा मनाउन लागिएको संविधान दिवस– ‘वाकथन’ कार्यक्रममा   सहभागी भई राष्ट्रिय दिवस संगसँगै मनाउन एमालेले सबैलाई आह्वान गरेको छ । 
निर्वाचन आयोगले संविधान जारी भएको दिन असोज ३ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने मिति तोकेकाले एमालेले यो कार्यक्रम असोज १ गतेलाई तय गरेको हो । 
पदयात्राको अन्तिम तयारीका लागि जनसंगठन समन्वय संयन्त्रको संयोजनमा आज तुल्सीलाल स्मृति सभा भवन, च्यासलमा बैठक बस्यो । बैठकमा संयन्त्रका संयोजक ढकालले पदयात्रा व्यवस्थित बनाउन जनसंगठन, सम्पर्क कमिटीका नेता तथा पदाधिकारीहरूलाई निर्देशन दिनुभयो । 
२०७२ साल असोज ३ गते संविधान सभाबाट ‘नेपालको संविधान–२०७२’ जारी भएको हो । संविधान जारी भएको सातबर्ष पूरा भएको र यसबर्ष आठौं संविधान दिवस मनाइँदै छ ।