detail-img

उपमहासचिव ज्ञवालीसँग  अन्तर संसदीय छलफल 

काठमाडौं । नेपाल भ्रमणमा आएको १० औँ युरोपेली संसदका सांसदहरूको टोलीले नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गरेको छ । 
संसद भवन नयाँ बानेश्वरमा विहीबार भ्रमण टोलीका प्रमुख रिजनर एव्लीनसहित छजना सांसदहरूको टोलीले उपमहासचिव ज्ञवालीसँग अन्तर संसदीय छलफल गरेको छलफलमा सहभागी एमाले परराष्ट्र मामिला विभागका सचिव डाक्टर अञ्जान शाक्यले जानकारी दिनुभयो ।


भेटमा युरोपेली संघले नेपाललाई गर्दै आएको विकास साझेदारी, नेपालको वर्तमान अवस्था, आगामी मंसिर ४ मा हुने निर्वाचन, स्थानीय तहको निर्वाचन लगायतको विषयमा छलफल केन्द्रित भएको थियो ।
छलफलका क्रममा उपमहासचिव ज्ञवालीले एमाले समाजवादको यात्रामा अघि बढिरहेको भन्दै हुनेखाने र हुँदा खानेबीचको खाडललाई नमेटाउन्जेलसम्म स्थायित्व नहुनेमा जोड दिनुभयो । ‘एमाले एकात्मक प्रणालीमा विश्वास गर्दैन,’ उहाँले छलफलका क्रममा भन्नुभयो, ‘जनताको बहुदलीय जनवादमा विश्वास गर्ने भएकाले हाम्रो नीति प्रगतिशील छ ।’
उहाँले पिछडिएको वर्ग, सीमान्तकृत समुदाय प्राथमिकतामा राखेर एमाले अघि बढिरहेको पनि जानकारी गराउनुभयो । ‘निजी क्षेत्र र सहकारीलाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो नीति छ,’ उहाँले भन्नुभयो, ‘मुलुकलाई स्थायित्व दिने हो भने सबैभन्दा पहिला अर्थतन्त्र बलियो बनाउन जरूरी छ । हामी त्यो कुरालाई ध्यानमा राखेर अघि बढेका छौँ । अर्थतन्त्र उक्सियो भने मात्रै प्रजातन्त्र बलियो हुन्छ ।’ 
उपमहासचिव ज्ञवालीले एमाले सन्तुलित विदेश नीतिको पक्षमा रहेको वताउनुभयो ।
छलफलमा एव्लीनले नेपालसँगको सहयोग साझेदारीलाई अझ विस्तार गर्दै लैजाने कुरामा सकारात्मक रहेको बताउनुभयो । ‘नेपालको विकास र समृद्धिका लागि हामी निरन्तर सहयोग गर्न तयार छौँ,’ उहाँले भन्नुभयो, ‘प्रजातन्त्रको स्थायित्वका लागि पनि प्रभावकारी सहयोग गर्न तयार छौँ । हामी नेपाल दिगो विकासको लक्ष्यमा पुगेको देख्न चाहन्छौँ ।’