detail-img

बृहत् र सुन्दर बुटवल बनाउने कार्यक्रम एमालेसंँग मात्रै छ’

बाबुराम भट्टराई
नगर प्रमुख उम्मेदवार, बुटवल उपमहानगरपालिका

बुटवल मुलुकको आर्थिक र पर्यटनको केन्द्र सहर हो । ऐतिहासिक तथा सांस्कृतिक सहर बुटवल रामापिथेकशको सभ्यताको स्थल, बुद्धावलीको प्राचीन सहर र कर्णेल उजिरसिंहको वीरताको गाथा बोकेको जितगढी सम्पदास्थलको सहरका रूपमा रहेको बुटवल नेकपा एमालेको आधार इलाका पनि हो । रूपन्देहीलाई विकासको रोलमोडल बनाउने सफल अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्वाचन क्षेत्र पनि हो बुटवल । पर्यटन सर्किटको केन्द्रका रूपमा र लुम्बिनी–मुस्ताङलाई जोड्ने सहरका रूपमा पनि बुटवल उदाएको छ । बृहत बुटवल, सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट ‘समृद्ध बुटवल ः खुशी बुटवलबासी’ को लक्ष्य बनाउँदै अगाडि बढेका नेकपा एमलेका प्रतिनिधिका रूपमा मेयरमा उम्मेदवार बनेका विकासप्रेमी नेता बाबुराम भट्टराईसँग नवयुगका लागि अमृत गिरीले गरेको कुराकानीको सम्पादित अंश ः

बुटवलको मेयरमा चुनाव लड्दै हुनुहुन्छ, के छन् एजेण्डा ?
–बुटवलको जुन ऐतिहासिकता, जुन सांस्कृतिक महत्व र आर्थिक केन्द्र विस्तारको विराट सम्भावना छन् तिनलाई संरक्षण गर्ने, संवद्र्धन गर्ने, विस्तार गर्ने, समस्याको पहिचान गरेर समाधानका उपाय अबलम्बन गरिहाल्ने र दिगो विकास लक्ष्यमा बुटवलका योजना केन्द्रित गरेर अगाडि बढ्ने नै हाम्रो पार्टीको मूल एजेण्डा हो । केन्द्रदेखि पालिकासम्म एमालेले के के गर्ने, एमालेको नेतृत्वमा सरकार रहँदा तीनै तहमा के कसरी काम गरियो भन्ने सबै फेहरिस्तसहित हामी चुनावी मैदानमा छौं ।
बुटवल यसक्षेत्रको आमा सहर हो र विराट सम्भावना रहेको उज्यालो सहर हो । विकासको रोलमोडलका रूपमा सिङ्गो जिल्लाको नेतृत्व सहर हो बुटवल । यो हामी अर्थात् नेकपा एमालेका प्रतिनिधिहरूले गरेको सुझबुझपूर्ण र दिगो विकासको खाकाको नतिजा हो । कस्तो थियो बुटवल र कसरी गरिँदैछ दिगो तथा व्यवस्थित विकास भन्ने प्रष्ट भिजनका साथ काम गर्ने दृढ इच्छाशक्ति लिएका जनप्रतिनिधिको निरन्तरताका रूपमा हामी अगाडि सरेका छौं । मतदातामा हाम्रा हालसम्मका योजनाबद्ध काम र अबको बुटवल कस्तो बनाउने भन्ने प्रष्ट भिजन छ । यी तमाम आधार र एजेण्डा लिएर मतदातामा जाँदैछौं । चुनाब जितेको पहिलो छ महिनामा के काम गर्ने, एक वर्षमा के काम गर्ने र क्रमशः के कस्ता कार्यक्रममार्फत समृद्ध बुटवल, बृहत् बुटवल, समुन्नत बुटवल बनाउने भन्ने विषयगत र बुँदागत प्रतिवद्धता सार्वजनिक गर्छौं ।

बुटवललाई कस्तो बनाउने साेंच छ ?
–बुटवललाई कस्तो बनाउने भन्दा पनि बुटवलको पहिचान विस्तार गर्ने, तयार भएका समृद्धिका आधारलाई पनि विस्तार गर्ने, एउटा व्यवस्थित, सभ्यतायुक्त, सुन्दर सहरका रूपमा बुटवललाई विकास गर्न सकिन्छ भन्ने प्रष्ट भिजनका साथ हामी जुटेका छौं । बुटवलमा अहिले जति पनि विकास निर्माणका कार्यहरू भएका छन्, केही पूरा हुने क्रममै छन् । आवधिक योजना पूरा हुने र दीर्घकालीन योजना निरन्तर चलिरहेका छन् । सबैभन्दा पहिले बुटवलमा निर्माणाधीन आयोजनालाई अझ व्यवस्थित गर्दै पूर्णता दिने नै हाम्रो पहिलो काम हुनेछ । योजनाहरूको कार्यान्वयन के कसरी भइरहेको छ, नीतिगत समस्या के कस्ता छन् तिनको पहिचान गर्दै समाधानको उपाय निकाल्दै संविधानले स्थानीय तहलाई दिएको अधिकारमा रहेर निरन्तर खट्ने नै हाम्रो ध्येय हुनेछ ।

अरू प्राथमिकताका क्षेत्रहरू के–के होलान् ?
–स्थानीय सरकारका रूपमा बुटवल उपमहानगरपालिकालाई नागरिकको सेवाकेन्द्रका रूपमा र हामी जनप्रतिनिधि भएपछि निरन्तर सेवकका रूपमा खट्ने प्रतिवद्धता गरेका छौं । सोही आधारमा बुटवलका १९ वटै वडाको प्राथमिकता निर्धारण गरेर योजना बनाउने छौं । योजना कार्यान्वयन गर्ने उपयुक्त कार्यक्रम बनाउनेछौं । बुटवलका सबै वडाको पाश्र्वचित्र र यसअघि गरिएका कामहरूको सूचि समेत हामीले बनाएका छौं र त्यसमा चुनौती, पहलकदमी र अबको सम्भावनाका विषयलाई पनि हामीले अलग अलग कोलममा समेटेर पार्टीमा रहेका विषय विज्ञहरूको परामर्शमा नयाँ कार्यक्रम पनि बनाएका छौं । समग्रमा संवैधानिक अधिकारको प्रयोग र कार्यान्वयन गर्दै जनताको अवस्था बदल्नेतर्फ नै हाम्रो पहिलो प्राथमिकता रहनेछ ।
खासमा बुटवलको शिक्षा, स्वास्थ्य, पर्यटन र वातावरणमैत्री दिगो विकासमा केन्द्रित भौतिक संरचना निर्माणमा ध्यान दिएर योजना तय गर्नेछौं । बुटवलका समृद्धिका आधारलाई कार्यान्वयन गर्ने र अरू नयाँ नयाँ आधारको खोजी गर्ने विषयलाई प्राथमिकतामा राख्नेछौं । बुटवलको विकासका लागि बुटवलमा रहनुभएका र बुटवललाई माया गर्ने सबैलाई समेटेर खुला हृदयका साथ काममा खट्नेछौं ।

तपाइँ स्वास्थ्य क्षेत्रको विज्ञ पनि हो, केही खास योजना पनि बनाउनुभएको छ ?
–स्वास्थ्य क्षेत्रमा हामीले पालिकास्तरबाट गर्न सक्ने काम त गर्छौं नै । त्यसका अतिरिक्त प्रदेश, संघीय तह र आवश्यकताअनुसार दातृ निकायको समेत सहकार्य, सहयोगमा स्वास्थ्यका सेवा प्रवाहलाई प्रभावकारी बनाउन लाग्नेछौं । सामुदायिक स्वास्थ्य संस्थाहरूको सुधार गर्ने, स्तरोन्नति गर्ने, दक्ष जनशक्तिको प्रबन्ध मिलाउने, उपकरणहरूको जोहो गर्ने, सुलभ, सहज र प्रभावकारी सेवा प्रवाहमा सबै सरोकारवालालाई जिम्मेवार बनाउनेतर्फ हामीले योजनाबद्ध काम गर्ने छौं ।
लुम्बिनी प्रादेशिक अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल र बुटवल उपमहानगर मातहतमा रहेका अरू १२ वटा स्वास्थ्य संस्थामा सेवा लिन आउने सेवाग्राहीले कुनै न कुनै रूपान्तरण भएको अनुभूति गर्नेगरी हामीले सुधारका काम थाल्नेछौं । काम गर्नेलाई पुरस्कृत गरेर हौसला गर्दै अझ राम्रो गर्न प्रेरित गर्ने र कामभन्दा गफ गर्न चाहनेलाई अझै केही सिकेर काममा खटिनुस् भनेर सुधारका निम्ति अवसर दिनेछौं । हामीले कानुनी रूपमा जेजे गर्न सक्छौं र पाउँछौं ती काममा कत्ति पनि धक मानेर खुम्चिने छैनौं । हामीकहाँ रहेका स्वास्थ्य संस्थालाई सौभाग्य र अवसरका रूपमा लिएर विशिष्टिकृत गर्नेतर्फ विशेष ध्यान दिनेछौं ।

केही लोकप्रिय नयाँ कार्यक्रम पनि बनाउनुभएको छ ?
–हाम्रो नेतृत्वका भएगरेका कामको फेहरिस्त सबै मिडियाहरूमै आइरहेकै छन् । हामीले जे बोल्छौं त्यहीँ काम गर्छौं र जे काम गरेका छौं त्यो नै बोल्छौं । काम गर्ने दौरानका कतिपय विषय सिक्दै, सुधार्दै र अझ प्रभावकारी बनाउँदै जाने पनि हुन्छ त्यसबेलामा हामीले सिक्ने कुरामा कत्ति कञ्जुस्याइँ गर्नेछैनौं । बुटवलको समृद्धिका लागि, बुटवलबासीको बृहत्तर हितका लागि नै सोंचेर हामीले योजना बनाउँछौं र बनाएका छौं ।
बुटवलका आन्तरिक बाइपासका सडकहरूको विकास, फुटपाथसहितका सडकहरूको विकास हामीले नै गराएका हौं । चाहे श्रवणपथ होस्, चाहे कालिकापथ होस् वा चाहे अरू आन्तरिक वाइपासका सडकहरू होऊन्, तिनको विस्तार र विकास गर्ने कामको सुरुआत एमालेकै नेतृत्वमा भएको हो । हामीले यो नयाँ कार्यकालमा अवसर पाउँदा ती कामलाई अझ व्यवस्थित गर्दै पूर्णता दिनेछौं । कालिकापथलाई डिजिटल र आधुनिक सुरक्षा एवम् सुविधासहितको बुटवलको सुन्दर रात्रिकालीन बजारको रूपमा विकास गर्नेछौं । पुरानो बटौलीलाई पौराणिक खालको बजारको रूपमा संरक्षण र विस्तार गरेर सांस्कृतिक सहर बनाउने अधुरो कामलाई पूरा गर्नेछौं । त्यहाँ पुराना कस्ता खालका घरहरू थिए, त्यहीअनुसारको नक्सांकन गरेर नगरपालिकाले नक्सा पास गर्दा पैसा नलिने व्यवस्था मिलाउनेछौं र समुदायकै सहकार्यमा सुन्दर सांस्कृतिक सहरको विकास गर्नेछौं ।
चौराहा–गोलपार्क सडक खण्डलाई के गर्नुहुन्छ ?
–हाम्रो मुलुकको सार्वजनिक खरिद ऐनका कतिपय प्रावधानलाई दुरूपयोग गर्दै कतिपयले गलत फाइदा लिने गरेका तथ्य जनतासमक्ष आमसञ्चारका माध्यमले पनि लैजानुपर्छ । कुन काम कुन सरकार अर्थात् पालिकाले गर्ने भन्ने विषयमा संविधानमै किटान गरिएको छ । तर, अहिले जनताले संविधानले अधिकार दिएन भनेर कुर्नेवाला छैनन्, व्यवहारिक पाटोलाई पहिलो प्राथमिकतामा राख्नै जनताको पहिलो सरोकारलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्ने हुन्छ । हामीले यो कामका लागि प्राथमिकतामा राख्नेछौं ।
पालिकाले आफ्नो कानुन संशोधन गर्ने, नयाँ बनाउने, स्वेतपत्र जारी गर्ने, खबरदारी गर्नेदेखि प्रदेश र संघमा आग्रह गर्ने होस् वा अरू कुनै पनि उपायले होस् उक्त सडकखण्डलाई हामीले विस्तारसहितको कालोपत्रे गर्नेतर्फ ध्यान दिनेछौं । व्यवस्थित नाली र फुटपाथ बनाउनेछौं । साइकलको अलग्गै लेन बनाउने काममा समेत हामी लाग्नेछौं । राजमार्ग क्षेत्र नगरपालिकाको क्षेत्राधिकार होइन तर पनि खबरदारी गर्दै काम सम्पन्न गराउने हाम्रो पनि दायित्व हो भन्ने हामीले बुझेका छौं ।
बुटवलको मेयर बन्ने मान्छे बाबुराम भट्टराई भनेको को हो र कसरी चिनाउनुहुन्छ ?
–समाज रूपान्तरणका लागि समर्पित रहेको एउटा कार्यकर्ताका रूपमा मैले आफूलाई प्रस्तुत गर्छु । राजनीतिक रूपमा पार्टीमा लागेर पार्टीले जिम्मा दिएको सम्पूर्ण काम मेरो कुशलताले भ्याएसम्म सबै सम्पन्न गरेको छु । सामाजिक क्षेत्रमा रहेर काम गर्ने, समाजसेवा गर्ने त मेरो बानी नै बनेको छ ।
विभिन्न क्लबहरूमार्फत पनि मैले पहिलो ध्यान समाज सुधार र विकासमै दिएको छु । सामाजिक संघसंस्थामार्फत समाजमा शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक उपार्जनका कामलाई मैले नेतृत्व गरेर अगाडि बढाएको छु । बुटवलमा सञ्चालनमा रहेको मुटु अस्पतालको विशिष्टिकृत सेवा प्रवाह एउटा उदाहरण हो ।
बुटवललाई कसरी अगाडि बढाउनुहुन्छ ?
–बुद्धावलीको बुटवललाई बृहत र महानगरीय अवधारणाका साथ हामीले अगाडि बढाउनेछौं । बुटवल भनेको यसक्षेत्रको आमा सहर पनि हो । बुटवलले छिमेकमा तिलोत्तमा, सैनामैना, देवदह, फर्साटिकर जस्ता उपसहरहरू पनि जन्मायो र हुर्कायो । अब बुटवल पूर्वमा दाउन्ने र पश्चिममा धानखोलाको पहाड बीचमा रहेको तीन जिल्लाको प्रमुख केन्द्रका रूपमा विकास गर्नुपर्छ । जहाँ शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यम विकास, पर्यटन र हरेक दृष्टिले मुलुकको अब्बल सहर बनोस् भन्ने बृहत् उद्देश्यमा रहेर बुटवललाई विस्तार र विकास गर्नेछौं । मुलुकका सफल अर्थमन्त्री तथा हाम्रो पार्टीका आदरणीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलको निर्वाचन क्षेत्र यही हो । उहाँसहित बुटवलका पूर्वप्रमुखहरू, विभिन्न जिम्मेवारी र तहमा रहनुभएका जनप्रतिनिधिहरू, राजनीतिक अगुवाहरू सबैसँग समन्वय र सहकार्य गरेर योजनालाई प्रभावकारी कार्यान्वयन गर्ने पहल गर्नेछु ।

बुटवलको मुख्य समस्या सुकुम्बासी समस्या हो, यसलाई कसरी समाधान गर्ने ?
–नेपालमा सुकुम्बासीका नाममा धेरै नै खेतीपाती भएजस्तो लाग्छ । तर, नेकपा एमालले केन्द्रमा ऋषिराम लुम्सालीदेखि यसअघि देवी ज्ञवालीको नेतृत्वमा आइपुग्दा सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्ने कामको योजना बनाएर अगाडि बढ्यो । तर, विडम्बना अहिलेको यो गठबन्धनको सरकार बनेपछि पहिलो कामस्वरूप भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरिदियो । आयोग नै खारेज गरिदिएपछि बुटवलमा अगाडि बढेका २० औं हजारको संख्यामा रहेका फाइलहरू पनि स्वतः प्रभावित भए । लालपुर्जा दिन ठिक्क पारिएका र अनलाइनमा समेत भरिएका करीब २० हजार फाइलहरू त्यसै रोकिए ।
बुटवलले अगाडि बढाएको योजनाबद्ध काममा अवरोध सिर्जना गरियो । तर, अब हामीले यस्तो हुन दिनेछैनौं । बुटवलमा अब हामी निर्वाचित भएपछि संकलित लगतको आवश्यकताका आधारमा अध्ययन गर्नेछौँ । जग्गा नापजाँचका काम अगाडि बढाउने छौं । समस्या बाँकी रहेका ठाउँमा तत्कालै विज्ञहरूलाई खटाएर समाधानको प्रभावकारी पहलकदमी लिनेछौं ।
सुकुम्बासीको हितमा काम गर्ने कुनै पनि स्वतन्त्र आयोगमा राजनीतिक गन्ध झल्कने काम हुन दिनेछैनौँ । भागबण्डा खोज्ने, सिट खोज्ने, नातावादमा रमाउने काममा हामी लाग्नेछैनौँ र हुन दिनेपछि छैनौँ । बुटवलमा जग्गा नापेर तपाईं बसेको क्षेत्र तपाईंको अधिकार हो भनेर निस्सा उपलब्ध भएको छ । निस्साअनुसारको लालपूर्जा दिन हामीहरू कटिबद्ध भएर लाग्नेछौं ।
गठबन्धनले तपार्इँलाई कत्तिको असर पार्ला ?
–सचेत मतदाता, सक्षम मतदाता र विकासप्रेमी सभ्य मतदाताले बनावटी कुरा, झुट कुरा र लुट्ने ध्येयले बनाइने गठजोडका कुरामा कत्ति विश्वास गर्नुहुन्न मैले विश्वास गरेको छु । गठबन्धनले बुटवलसहित यसक्षेत्रका कुनै पनि पालिकालाई कुनै पनि असर पार्दैन । तत्कालीन नेकपा भइसकेपछि नेकपा एमाले र माओवादी एक बन्यो । नेकपा विभाजन भएर एमाले र माओवादी भएपछि जति माओवादी साथीहरू हुनुहुन्थ्यो, त्यसको ८० प्रतिशत साथीहरू एमालेमा नै हुनुहुन्छ । पहिले बस्दा ६० प्रतिशत बस्नुभएको थियो । अरू २० प्रतिशत अहिलेसम्म प्रवेश गरी थपिनुभएको छ । यसबीचमा कैयौं टोलटोलमा नयाँनयाँ मानिसहरू एमालेमा समाहित भएर लाग्नुभएको छ ।
पार्टी फुट्यो नेकपा एकीकृत समाजवादी भयो भन्नुहोला । एसमा जति जानुभएको छ, त्यसको दोब्बर तेब्बर माओवादीका साथीहरू हामीसँग हुनुहुन्छ । त्यसैले हामीलाई मतको हिसाबले फरक पर्दैन । अर्को कुरा के छ भने माओवादी मजबुत हुँदा खेरी २०७४ मा राष्ट्रिय जनमुक्ति, कांग्रेस र माओवादीको गठबन्धन थियो । त्यो गठबन्धनलाई पनि हामीले एक्लै जितेको हो । अहिले के छ भन्दाखेरी जनमुक्तिका साथीहरूलाई केही सदस्य दिएर हामीले पनि गठबन्धनको रूपमा अगाडि बढेका छौं । उहाँहरूको भोट पनि थपिँदा हाम्रो अझै राम्रो हुन्छ । हामी त्यसै मजबुत छौं, त्यसमा जनमुक्ति थपिँदा हामीलाई सुनमा सुगन्ध हुन्छ । त्यसैले यहाँ हामी डराउनुपर्ने कुरा केही पनि छैन । बुटवलबासी सम्पूर्ण आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूसमक्ष मतका लागि सादर अपिल गर्दछु ।