एमाले आज

एमाले सशक्त संगठन लिएर विजयको आत्मविश्वासका साथ निर्वाचनमा जाने छः अध्यक्ष ओली

सेयर गर्नुहोस्

राष्ट्रिय भेला शुरु, अध्यक्ष ओलीद्वारा विरुवामा पानी सिञ्चन गरी उद्घाटन

२ मङ्सिर (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनहरूमा पार्टीले सशक्त संगठन लिएर विजयको आत्मविश्वासका साथ जाने  बताउनुभएको छ । 
अध्यक्ष ओलीले आज काठमाडौंमा पार्टीको राष्ट्रिय भेला समुद्घाटन गर्दै भेलाको मूल सन्देश एकता र विजयको आत्मविश्वासका साथ कार्यक्षेत्रमा फर्कने रहेको बताउनुभयो । 
अध्यक्ष ओलीले भव्य समारोहबीच बिरुवामा जल सिञ्चन गरी भेलाको औपचारिक उद्घाटन गर्नुभएको थियो ।
राष्ट्रिय भेलामा उद्घाटन  सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो– यो भेलाको मूल सन्देश एकताको हो । हामी विजयको आत्मविश्वास लिएर जाँदैछौं । अब स्थानीय, प्रदेश, राष्ट्रिय सभाको चुनाव आउँदै छ । यी निर्वाचनहरूमा हामी सशक्त संगठन लिएर जाँदैछौं ।
केन्द्रीय कमिटीदेखि पालिका कमिटीसम्मका पार्टी नेतृत्व र संसददेखि पालिका अध्यक्षसम्मका जनप्रतिनिधिहरू सहभागी रहेको राष्ट्रिय भेलामा उहाँले अगुवा नेता तथा कार्यकर्ताहरूलाई चुनावमा आत्मविश्वासका साथ अघि बढ्न निर्देश दिनुभयो । 
पार्टीमा कसैलाई आराम गर्ने छुट नभएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– हाम्रो आरामको जिन्दगी होइन । चुनावको परिणामलाई भव्य सफलतामा पुर्याउनुपर्छ । त्यसका लागि एकताको सन्देशलाई सङ्कल्पको रूपमा लिनु पर्छ ।
उहाँले सरकार स्वेच्छाचारी फासीवादतर्फ अघि बढेकाले त्यसको प्रतिरोध गर्न एमाले तयार रहेको बताउनुभयो ।  मुलुक पछिल्लो समय आर्थिक, सामाजिक, साँस्कृतिक मूल्य–मान्यताका हिसाबले खस्किरहेको औल्याउँदै समाज अत्यन्तै उल्टो बाटोबाट अघि बढेको उहाँले बताउनुभयो ।
‘प्रतिनिधि सभाको विघटन सम्बन्धी सम्मानित अदालतबाट आफू अनुकूल फैसला भइरहेको देखेकै हो । हामीले स्वीकार्दै आएका हौं । अहिले सम्मानित प्रतिनिधि सभाको मुद्दा अदालतमा छ । कुनै फैसला गर्दैन !,’  अध्यक्षले भन्नुभयो ।
उद्घाटन समरोह लगत्तै सुरु भएको बन्द सत्रमा महासचिव शंकर पोखरेलले ‘पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको कार्ययोजना’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । 
महासचिव पोखरेलले कार्यपत्र पेश गर्दै पार्टीको सङ्गठनात्मक जीवनका प्रमुख १४ बुँदामा समस्या औल्याउँदै कसरी समाधान गर्नुपर्छ भन्ने धारणा पनि राख्नुभयो । 
‘पार्टीलाई बलियो, व्यवस्थित र जनमुखी शक्तिका रूपमा प्रस्तुत गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित सिङ्गो पार्टीपङ्क्ति स्थानीय निर्वाचनको तयारीको काममा केन्द्रित हुनु आवश्यक छ,’ महासचिव पोखरेलले भन्नुभयो– पार्टीले यसअघि नै निर्वाचनको तयारीको कामलाई समेत दृष्टिगत गरी हरेक पालिका तहमा पार्टी जागरण अभियनको संयोजन गर्नेगरी केन्द्रीय प्रतिनिधि खटाइएको छ ।
त्यसैगरी बन्दसत्रमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ‘एमालेले देश र जनताको पक्षमा गरेका महत्वपूर्ण कार्यहरू’ विषयक कार्यपत्र पेश गर्नुभयो । उहाँले एमाले विभिन्न समयमा सरकारको नेतृत्व र सहभागी हुँदा देशको विकास र जनताका पक्षमा गरेका कामहरूलाई प्रष्ट्याउनु भएको थियो ।
उपाध्यक्ष पौडेलले पार्टी सरकारको नेतृत्वमा रहँदा वा सरकारमा सहभागी हुँदा आर्थिक–सामाजिक रूपान्तरणका लागि पहलकदमी लिएका कारण  भौतिक पूर्वाधार, आर्थिक बृद्धि र मानवीय विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । 
उहाँले भन्नुभयो– संविधानमा अन्तर्निहित नागरिकका मौलिक हक र नागरिकप्रति राज्यको दायित्वबाट निर्देशित भएर समाजवादउन्मुख सामाजिक–आर्थिक विकासको पक्षमा नीति अवलम्बन गरिएको छ ।  
त्यसैगरी स्वागत मन्तव्य राख्नुहुँदै सचिव पद्मा अर्यालले आउने स्थानीय तहको निर्वाचन पार्टीका लागि राजनीतिक परीक्षा हुने बताउनुभयो ।
‘आउने स्थानीय तहको निर्वाचनको परीक्षा हामीले जित्नै पर्छ । गत निर्वाचनको क्षतिपूर्ति हामीले आउने निर्वाचनबाट लिनु पर्दछ । हामी जनतासँग बसेर उनीहरूका गुनासा सुन्ने र समाधानका लागि पहल गर्नुपर्छु,’ उहाँले भन्नुभयो ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नारासहित कार्की ब्याङ्क्वेट काठमाडौंमा सुरु भएको राष्ट्रिय भेला उद्घाटन समारोहको सञ्चालन सचिव भानुभक्त ढकालले गर्नुभएको थियो ।
अध्यक्ष ओलीको अध्यक्षतामा सुरु भएको उद्घाटन समारोह तथा बन्दसत्रमा पार्टीकी वरिष्ठ नेता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू लेखराज भट्ट, योगेश भट्टराई, रघुवीर महासेठ, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, शेरधन राई, डा. राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत उपस्थित हुनुहुन्थ्यो ।
त्यसैगरी स्थायी कमिटी सदस्यहरू प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापाले मञ्चमा आसनग्रहण गर्नु भएको थियो । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष प्रा.डा. भरतराज पहारी, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा पनि मञ्चमा आसन ग्रहण गर्नुभएको थियो । 
त्यसैगरी सम्मानित ज्येष्ठ कम्युनिष्ट व्यक्तित्वहरू मोहनचन्द्र अधिकारी, विजयलाल श्रेष्ठ, हरिचरण शिवाकोटी, वाचस्पति देवकोटा, विशेश्वरा दाहाल, शान्ता मानवी, गोमा देवकोटा, माया ज्ञवाली, गोविन्द कलौनी, प्रेमप्रकाश ओली,  बद्री ओली, लक्ष्मीदत्त जोशी र जीवन राई अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय गान, अन्तर्र्राष्ट्रिय गीत गाइएको थियो । कार्यक्रममा एक मिनेट मौनधारण गरी सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । भेलामा अर्केस्ट्रा तथा साँस्कृतिक समूहको प्रस्तुति रहेको थियो ।
भेला मङ्सिर २–३ गते दुई दिनसम्म चल्ने छ ।  काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा देशभरबाट ३४ सय १४ प्रतिनिधिहरू सहभागी रहेका छन् । 
भोलि मङ्सिर ३ गते अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’का सम्बन्धमा,  वरिष्ठ नेता विद्यादेवी भण्डारीले ‘पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौं’ विषयमा र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले ‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि सङ्कल्प गरौं’ विषयमा सम्बोधन गर्नुहुने पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जारी गर्नुभएको प्रेस नोटमा जनाइएको छ । कार्यक्रम मङ्सिर ३ गते बिहान ८ बजेदेखि सुरु हुने छ ।

 



                                                                       

हामीसँग जोडिनुहोस्