detail-img

नेकपा एसका जिल्ला अध्यक्षसहित अधिकांश नेताकार्यकर्ता एमालेमा समाहित 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अछाम जिल्ला कमिटीका अध्यक्ष हिरण्य भट्टराईसहित जिल्ला कमिटी र पालिका कमिटीका अधिकांश नेताकार्यकर्ता नेकपा (एमाले) मा फर्कनुभएको छ । 
नेकपा (एमाले) केन्द्रीय कार्यालय च्यासलमा आज महासचिव शंकर पोखरेल, सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापाले  उहाँहरूलाई स्वागत गर्नुभयो । 
सो अवसरमा महासचिव पोखरेलले नेपालमा धेरै दल हुँदा अस्थिरता हुने गरेको, विदेशी हस्तक्षेप हुने गरेको हुँदा त्यसको अन्त्यका लागि राजनीतिक ध्रूबीकरण आवश्यक रहेको वताउनुभयो । 
महासचिव पोखरेलले राजनीतिक ध्रूबीकरण एजेण्डाका आधारमा हुनुपर्नेमा जोड दिनुभयो । अहिले ध्रूबीकरणकै क्रमका रूपमा देशभर दिनहुँजसो एमालेमा प्रवेशको लहर चलिरहेको वताउनुभयो । महासचिव पोखरेलले नागरिकका एजेण्डा बोक्ने वास्तविक पार्टी एमाले मात्रै भएकाले सबै वामपन्थीहरूलाई एमालेमा समाहित हुन आह्वान गर्नुभयो । 
उहाँले नेकपा माओवादी प्रचण्डको स्वार्थको वरिपरिमात्रै घुमिरहेको र नेकपा समाजवादी माधव नेपालको कुण्ठामा केन्द्रित रहेको वताउनुभयो । 
एमालेमा फर्कनुभएका नेकपा एसका अछाम जिल्ला अध्यक्ष भट्टराईले नेकपा एससँग कुनै राजनीतिक एजेण्डा नभएको र एजेण्डाविहीन पार्टीमा बस्न उचित नदेखिएकाले एमालेमा फर्किएको बताउनुभयो । भट्टराईसँगै समाजवादी प्रदेश र जिल्ला तहका २४ जना नेताकार्यकर्ता एमालेमा फर्किएका छन् । 
आगामी चुनाव दूरगामी राजनीतिक परिघटना भएको र चुनावी गठजोड व्यक्तिगत स्वार्थका लागि हुन गइरहेको थाहा पाएपछि आफु निःशर्त एमालेमा फर्किएको उहाँको भनाई थियो ।  भट्टराईले नेकपा एसमा लागेर गम्भीर भूल भएको स्वीकार गर्दै उक्त पार्टी कम्युनिष्ट हुनै नसक्ने तथ्यहरू देखेर आफू र सहयोद्धा नेताकार्यकर्ता एमालेमा समाहित भएको स्पष्ट गर्नुभयो । 
‘अव समाजवादी केका लागि भन्ने प्रश्नको जवाफ पाउन सकिन्न, त्यहाँ रहेका सवै नेता–कार्यकर्ता एमालेमा फर्कनुपर्छ, एस सुध्रनेवाला छैन ।’