detail-img

‘दलीय व्यवस्थामा दल कमजोर बनाउने कुरा मान्य हुँदैन’ 

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्ने बताउनुभएको छ । 
काठमाडौं महानगरपालिका वडा नम्बर ३ लाजिम्पाटमा आज आयोजित बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ भन्नुभयो । 
पूर्वउपप्रधानमन्त्री पोखरेलले भन्नुभयो– ‘अहिले विभिन्न साथीहरू विभिन्न रूपले प्रकट हुनुभएको छ । तर, दलीय प्रणालीमा दललाई कमजोर बनाउने कुरा मान्य हुँदैन । एउटा दल खराब भए अर्को दल आउँछ ।’
एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा गरेको उहाँले बताउनुभयो । 
‘प्रधानमन्त्रीले निकालेको किताबमा चुच्चे नक्सा गायब भयो,’ उहाँले भन्नुभयो– ‘हामीसँग दुई वटा ठूला छिमेकी छन्, एउटा छिमेकीलाई नजिक र अर्कोलाई टाढा गर्न जरूरी छैन । तर, छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्ने सामर्थ्य हाम्रो हुनुपर्छ ।’
जनताको भावना अनुसार काम गर्न र जनतासँगको सम्बन्धलाई बलियो बनाउन उहाँले जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । 
वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी निर्वाचनमा एमालेले विजय हासिल गर्ने बताउनुभयो ।