detail-img

महालक्ष्मीमा उत्साही एमाले, टोलटोलमा स्वागत

ललितपुर– महालक्ष्मी नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवारहरुले निरन्तर घरदैलो गरिरहेका छन् ।

नगर प्रमुख पदका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुख पदका उम्मेदवार विना केसी सुवेदी उम्मेदवारी मनोनयनपछि निरन्तर घरदैलोमा व्यस्त हुनुहुन्छ ।

सोमबार वर्तमान नगर प्रमुख रामेश्वर श्रेष्ठ, एमाले जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य, एमाले निकट राष्ट्रिय उद्योग व्यवसाय महासंघका उपमहासचिव सुवर्ण श्रेष्ठ लगायतका नेताहरुको उपस्थितिमा सोमबार महालक्ष्मी नगरपालिका वडा नम्बर २ र ३ मा घरदैलो सम्पन्न भएको छ ।

करिव चार घण्टा चलेको घरदैलोमा उपस्थिति सयौं एमाले नेता कार्यकर्ताहरु नारा, गीतसहित टोल टोल पुगेका थिए ।

एमालेको घर दैलोलाई टोल टोलमा स्थानीयले स्वतस्फुर्त स्वागत गरेका थिए । ठाउँ ठाउँमा घडा राखिएको थियो ।

समाजका अगुवा, विभिन्न पेसा व्यवसायकर्मीहरुले नगर प्रमुख पदका उम्मेदवार श्रेष्ठसहितलाई स्वागत र आशिर्वाद दिएका थिए ।

पूर्वडिआइजी गणेश केसीले आफ्नो निवास अगाडि घरदैलोमा आएका एमाले नेता कार्यकर्तालाई चियापान र स्वागत गर्नुभयो । उहाँले टिका र खादा लगाएर अग्रीम विजयको शुभकामना दिनुभएको थियो ।

महालक्ष्मीमा नेपाली कांग्रेसले माओवादीसँग गरेको गठबन्धनसँग असन्तुष्ट रहनुभएका केसीले एक साताअघि मात्रै पार्टी परित्याग गर्नुभएको थियो ।

नगर प्रमुख पदका उम्मेदवार हरिगोविन्द श्रेष्ठले महालक्ष्मीमा जनताले गरेको स्वागतले आफूलाई उत्साही बनाएको बताउनुभयो । ‘हामी विजय नजिक छौं, एमालेको विजयलाई महालक्ष्मीमा कसैले छेक्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘शान्त, व्यवस्थित र अनुशासित भएर हामीले घरदैलो गरिरहेका छौं ।’

श्रेष्ठले एमालेले रामेश्वर श्रेष्ठ नेतृत्वमा अघिल्लो पटक निकालेको सानदार विजयलाई कायमै राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अघिल्लो चुनावको भन्दा राम्रो नतिजा निस्किनेमा म ढुक्क छु ।’

महालक्ष्मीमा कांग्रेसले आफ्नो जनमत हुँदाहुँदै माओवादी केन्द्रलाई मेयर दिएर आफू उपमेयरमा सीमित भएको छ । माओवादीलाई मेयर दिएको भन्दै कांग्रेसको ठूलो समूहले विद्रोहको चेतावनी दिएको छ । सत्ता गठबन्धनमा रहेका दलले नेकपा (एकीकृत समाजवादी)लाई महालक्ष्मीमा एक्लो बनाइदिएका छन् । एकीकृत समाजवादी एक्लै चुनावी मैदानमा छ ।