detail-img

‘फ्रि–भिसा र टिकटको आश्वासन बाँड्नेलाई कारवाही हुनुपर्छ’ 

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा फ्रि–भिसा र फ्रि–टिकटको आश्वासन बाँड्नेहरूलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
आज झापाको धुलाबारीमा नेकपा (एमाले) र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा सम्वोधन गर्दै अध्यक्ष ओलीले रौतहटमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका माधव नेपालले फ्रि–भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरेकोप्रति आपत्ति जनाउनुभयो ।

   
यसैगरी बारा–४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले पनि  युवालाई फ्रि–भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्ने उहाँले वताउनुभयोे ।
अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालले १५० सिटमा विजय प्राप्त गर्ने वताउनुभएको छ ।  उहाँले मंसिर ४ गते हुने निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ एक सय सिटमाथि ल्याउँछ भने समानुपातिकतर्फ ५० सिट जित्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले गठबन्धन कुनै लक्ष नभएको गन्तव्यहीनहरूको जत्था भएको बताउनुभयो । 
उहाँले भन्नुभयो–‘गठबन्धन चारतिर मुख फर्काएर बसेको चतर्भुज जस्तै छ । जुन कतै चल्न हिड्न सक्दैन तर मुख भने चारैतिर चलाईरहन्छ, खाइरहन्छ । गठबन्धनको देशमा मिलेर खाने ठग्ने बाहेक अर्को कुनै उदेश्य छैन ।’ 
उहाँले गठबन्धनका जालझेल, मतपत्र च्यात्ने, ठग्ने, छलछाम गर्ने जस्ता अवान्छित क्रियाकलाप रोकेर जनमतको कडा रक्षा गर्न एमालेका कार्यकर्ता सचेत र सतर्क हुनुपर्ने वताउनुभयो ।
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारका तीन बर्षमा यो देशको विकासले काँचुली फेरेको स्मरण गर्दै विकास र समृद्धि चाहने सम्पूर्ण नेपालीले आगामी मंसिर ४ मा एमालेलाई बहुमतसहितको सरकार निर्माण गर्ने गरी विजयी बनाउन आग्रह गर्नुभयो । 
उहाँले झापा क्षेत्र नम्बर ३ मा एमालेले राप्रपाका उम्मेदवारलाई समर्थन गरेकाले इमान्दारीपूर्वक मतदान गरेर विजयी गराउन निर्देशन गर्नुभयो । 
सोही कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले कार्यकर्तालाई सूर्यमा भोट नहाले मंसिर ४ पछि पार्टीमा भेट नहुने बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘क्षेत्र नं १ मा सूर्यमा हालेको मत क्षेत्र नं.३ मा हलोमा परिणत हुन्छ । अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ ।’
देश जोगाउनका लागि एमालेसँग तालमेल गरेको अध्यक्ष लिङदेनले बताउनुभयो ।
उक्त कार्यक्रममा विभिन्न पार्टीका कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।